निषेधाज्ञा उल्लंघन गर्ने १६ सय बढी सवारी साधन नियन्त्रण

|

काठमाडाैं : नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ।

मुलुकमा कोभिड-१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डर अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि सिलिण्डर संकलन अभियान थालेको थियो।

आजसम्म १० हजार बढी सिलिण्डर संकलन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पछिल्लो समयमा भने कोराना सङ्क्रमित सङ्ख्या पनि घट्दो क्रममा रहेको र उत्पादनसमेत बढ्न थालेकाले अक्सिजनको अभाव हुन छाडेको छ। 

प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर संकलन गरिएको छ। संकलित सबै सिलिन्डर आजै कोभिड अस्पताललाई उपलब्ध गराइएको छ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ६३० सिलिन्डर संकलन गरी कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोधसमेत गरेको छ।

निषेधाज्ञा उल्लंघन गर्ने १६ सय बढी सवारी साधन नियन्त्रण

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघनन गर्ने एक हजार ६९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तीमध्ये ६९३ वटा गाडी र एक हजार २ मोटरसाइकल छन्। यस्तै नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोइ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८०१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ५१ हजारलाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८१ हजार १०० रुपैयाँ जरिवाना गरिएको छ।

सो क्रममा ४ हजार ८५० व्यक्तिलाई सचेत गराई छाडिएको छ। प्रहरीले देशभर सञ्चालित ९५ वटा माइकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहित सचेतनामूलक कार्यक्रमअन्तर्गत छ हजार ९३८ जनालाई सचेतना दिएको जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.