|

मूकं करोति वाचालं पंगु लंघयते गिरिम् ।

यत्कृपा तमहं वन्दे परमानन्दमाधवम् ।।

जसको कृपाले लाटो पनि बोल्न सक्छ अनि लंगडो पहाड चढ्न सक्छ। तिनै परम आनन्दस्वरूप माधव अर्थात् अस्तित्त्वको शक्तिप्रति म बारबार प्रार्थना गर्दछु।

बाल्यकालमा कण्ठस्थ पारेको यो श्लोकको अर्थ त्यतिबेला कति बुझियो बुझिएन थाहा भएन। तर, आज यो कोरोना महामारीको समयमा, विज्ञान, चिकित्सा शास्त्र, आविष्कार र अनुसन्धान सबै भौतिक रहस्य ठप्प भएर नयाँ उपाय सोचिरहेको अवस्थामा अस्तित्वको कृपाको पनि कति ठूलो महत्व र रहस्य रहेछ अनुभूति गर्न सकिँदो रहेछ।

जीवनमा कहिल्यै प्रतिकूलताको परिस्थिति झेल्नु नपरोस् भन्ने मानिसको स्वाभाविक चाहना हुन्छ। तर, अस्तित्वको आफ्नै नियम छ। मानिसकै धैर्यता र साहसको परीक्षा लिनको लागि अनि सही मार्गदर्शनको बोधको लागि प्रतिकूल परिस्थितिको पनि सृजना हुन्छ। यस्तो अवस्थामा आन्तरिक र बाह्य प्रेरणाले धेरै ऊर्जा शक्ति प्रदान गरेको हुन्छ।

गहिरिएर हेर्ने हो भने सबै दु:ख र अपेक्षाको कारण आफैंसँग छिपेको अपेक्षा र ‘म’सँग जोडिएर आएको हुन्छ। म, मेरो लागि, मैले भनेअनुसार, चाहेअनुसार, चाहे बेगर, मेरो मनपर्ने, मलाई घृणा लाग्ने, मेरो नाम, रूप, पद, सम्मान, मेरो इच्छा, मेरो भौतिक प्रगति आदि आदि जे पनि जीवनमा जोडिएर आएका हुन्छन् मसँग जोडिएर आउँछन्।

 सामाजिक सञ्‍जालका भित्ताहरू शुभकामनाले भरिएको हामी देख्छौं। यस्ता शुभकामनाका शब्दमा औपचारिकता मात्र नभएर वास्तवमै प्रेरणाको रहस्य पनि अन्तरनिहित हुन्छ। अब त हामी विश्वास गर्न सक्छौं कि हाम्रो पुरुषार्थको पछि अस्तित्व या कसैको रहस्यात्मक शक्ति छ। उसको अदृश्य कृपाले हाम्रो जीवनमा रहस्यमय तरिकाले काम भइरहेछ। त्यो अस्तित्वगत अनुभूति आफ्ना मातापिता, परिवारजन, शुभेच्छुक, आफ्ना गुरूहरू, चिकित्सक, नर्सहरू, सुरक्षाकर्मी या जो कोहीबाट प्राप्त गर्न सकिन्छ।

बुबाको कथा र उत्प्रेरणाको महत्व

अविनेश १३ वर्षका थिए, उनलाई फुटबल खेलप्रति ज्यादै रुचि थियो। आफ्ना छोराको इच्छा पूर्तिको लागि उनका बुबाले संगै खेल मैदानमा लिएर जाने गर्दथे। अविनेश फुटबलको अभ्यास गरुन्जेल उनका बुबा खेल मैदानको कुनामा एउटा कुर्चीमा बसेर हेरिरहेका हुन्थे।

बुबाको उपस्थितिले अविनेशलाई धेरै साहस मिलेको कुरा व्यक्त गर्दथे। प्रशिक्षक आश्चर्य मान्दथे अविनेशको बा छोराको प्रेम र समर्पण देखेर। खेलको अन्तिम प्रशिक्षणको समय आइसकेको थियो, बिचमा ६ दिनसम्म अविनेश प्रशिक्षणमा सामेल भएनन्।

प्रशिक्षकले अविनेशको ठाउँमा अर्कै विद्यार्थीलाई भर्ना गरे। खेल प्रतिष्पर्धाको दिन अविनेश असिनपसिन हुँदै दौडदै खेलको मैदान पुगे। उनले प्रशिक्षकलाई दुइ हात जोडेर बिन्ति गरे। सर, मलाई खेलमा सहभागि हुने मौका दिनुहोस्। म हजुरलाई निराश हुन दिने छैन। हाम्रो टिमलाई विजयी नै बनाउने छु।

प्रशिक्षकले भने–तिमी ६ दिन सम्म गायब भयौ। प्रशिक्षण छुटिरहेको छ, तिमीलाई गार्हो हुन्छ, जिद्घी नगर अविनेश। आँखामा आँसु लिँदै अविनेशले भने–सर, यो मेरो होइन, मेरो बुबाको सपना हो। त्यसैले मैले खेल्नुपर्छ र जित्नु पनि पर्छ। प्रशिक्षकले भने–तिम्रो बुबा त आउनुभएको छैन त आज! अविनेशले भने–बुबा उपस्थित नभए पनि उहाँले मलाई हेरिरहनुभएको छ। मलाई अवसर दिनुस् सर!

अविनेशको निर्दोषपनासँग प्रशिक्षकको केही लागेन। अविनेश मैदानमा उत्रिए। अरू खेलाडीको भन्दा उत्कृष्ट प्रस्तुति अविनेशले देखाए। उनीहरूको टिम विजयी भयो। प्रशिक्षकले अविनेशलाई धन्यवाद व्यक्त गरे र भने– यो कसरी सम्भव भयो? तिमी ६ दिनसम्म कहाँ गएका थियौ? अविनेश रुँदै प्रशिक्षकको अंगालोमा बाँधिए र भन्न थाले– सर, मैले खेलेको बुबाले देखिरहनुभएको थियो, त्यसैले त्यो प्रेरणा र ऊर्जाले मलाई हिम्मत दियो।

प्रशिक्षकले भनेआज तिम्रो बुबा आउनुभएको छैन ! कसरी देख्नु? अविनेश भन्दै गएसर मेरो बुबा दिन अगाडि स्वर्गे हुनुभयो। , बुबा मसँगै साथी आए पनि उहाँ आँखा देख्नुहुन्नथ्यो। आज बुबा भौतिक शरीरमा हुनुहुन्न तर माथिबाट मलाई हेरिरहनुभएको छ। प्रशिक्षकका समेत आँखा रसाए।

मैले मौका नदिएको भए मेरो जीवनभर पछुताउने रहेछु भन्ने महसुस गरे। यही अदृश्य ऊर्जा शक्ति नै रहस्यात्मक प्रेरणा भएर आएको हुन्छ जीवनमा। कसैलाई कुनै मौका दिनु अगाडि अंकगणितको हिसाब मात्र नगरौं।

चराले दिएको ज्ञान

जंगलको एउटा रूखको हाँगामा एकदमै राम्रो चरा अड्केको रहेछ। एकजना नजिकैबाट हिंड्दै थिए, चरा एक्कासी बोल्यो–हजुर मलाई यो हाँगाबाट बाहिर निकालीदिनुस् न! मलाई बाहिर निकाल्नु भयो भने म ३ वटा उपहार दिनेछु।

ती मानिसलाई चरा बोलेको अनि उपहार दिने सुनेर आश्चर्य लाग्यो। उनी चराको छेउमा गए। चराले भन्यो–हजुर म हजुरलाई उपहार भने ३ पटक गरेर दिन्छु हुन्छ? पहिलो पटक म यो हाँगाबाट उड्न सकेपछि, दोस्रो आकाशमा पुगेपछि अनि तेस्रो रूखको सबैभन्दा माथि टुप्पोमा पुगेपछि। ती मानिसले सहमति जनाए।

उनको सहायताले चरा उड्न सक्यो र उड्दै भन्यो–विगतका घटनालाई सम्झेर चिन्ता लिने गरेका छौ भने छोडिदेऊ। विगत बितिसक्यो तिम्रो चिन्ता र ग्लानीले केही हुँदैन बरू वर्तमानमा जे छ त्यसलाई स्वीकार गर। चरा उड्दै आकाशतिर लाग्यो र भन्यो–कसैले भनेको भरमा विश्वास नगर जबसम्म तिमी आफैं प्रमाणित गर्न या अनुभूति गर्न सक्दैनौ।

मानिस आश्चर्य मान्दै चरातिर हेरेर भने–तिमी त उपहार दिने कुरा गर्थ्यौ त के को उपदेश दिन थाल्यौ यस्तो? चरा उड्दै गएर रूखको हाँगामा बस्यो र हाँस्दै भन्यो–तिमी मूर्ख हौ। मेरो पेटमा २ वटा हिराका पत्थर थिए। तिमीले मलाई उडाउनुको सट्टा काटेर हेरेको भए तिमी तुरुन्तै धनी बन्ने थियौ।

मानिस टाउकोमा हात राख्दै धिक्कार्न थालेकस्तो मूर्ख वास्तवमै ! केही नसोची तिमीलाई उडाईदिएँ। हे चरातिमी मलाई केही सल्लाह दिन सक्छौ ता कि भविष्यमा यसरी मूर्ख नबनूँ! चराले हाँस्दै भन्योमैले तिम्रो परीक्षा लिएको थिएँ मानिस। तिमी मसँग अरू सल्लाह माग्दै छौ जब कि मेरा सल्लाह पहिले नै अस्विकार गरिसक्यौ! पहिलो सल्लाह थियो मेरोविगतको घटनाप्रति चिन्ता पश्चाताप महसुस नगर

तर, तिमी त मलाई उडाएकोमा पश्चाताप गरेका छौ। दोस्रो मैले भनेको थिएँ– आफ्नो अनुभूति र प्रमाण नभएसम्म दोस्रोले भनेको भरमा विश्वास नगर भनेर। मैले  मेरो पेटभित्र हिराको पत्थर थियो भनें, मैले भनेको भरमा विश्वास गर्यौ?

म यति सानो पन्छी कसरी मेरो पेटमा हिराको पत्थर होला विचार गर त? तैपनि, अन्तिम सल्लाह म तिमीलाई दिन चाहन्छु कि तिमी आफूमा भएको विवेक र करूणाको प्रयोग गर्न जान्दैनौ भने बाहिरबाट सिकेका र आर्जन गरेका ज्ञानले काम दिने छैनन्। तिम्रो स्व–अनुभव, स्व–सम्मान र स्व–बोधलाई प्रयोगमा ल्याउने गर। यो नै तिम्रो आत्मज्ञान हुनेछ।

आफैंसँग छिपेको अपेक्षा

गहिरिएर हेर्ने हो भने सबै दु:ख र अपेक्षाको कारण आफैंसँग छिपेको अपेक्षा र ‘म’सँग जोडिएर आएको हुन्छ। म, मेरो लागि, मैले भनेअनुसार, चाहेअनुसार, चाहे बेगर, मेरो मनपर्ने, मलाई घृणा लाग्ने, मेरो नाम, रूप, पद, सम्मान, मेरो इच्छा, मेरो भौतिक प्रगति आदि आदि जे पनि जीवनमा जोडिएर आएका हुन्छन् मसँग जोडिएर आउँछन्। 

हामी कति स्वार्थी र मूर्ख छौं! सबैबाट आफैंले पाउने चाहना हुन्छ, मेरो अपेक्षा अरूले पूरा गरिदिऊन् लाग्छ तर लाग्दैन अरूलाई मैले के गरेँ, के दिएँ? अब यी सबैको बोध कसले गर्ने? आफैंले, आफ्नो प्रेरणा र संस्कारको विकास आफैंले गर्नु जत्तिको विवेकपूर्ण अरू हुनेछैन।

अनि यिनैले दु:खको संघारमा पुर्‍याउँछन्। कोरोना महामारीले मलाई, मेरो परिवार, मेरो आफन्तलाई आक्रमण नगरोस्। व्यापार घाटा मलाई, मेरा आफन्तलाई नहोस्, जतिपनि असहज आउँछन् मेरोमा नआऊन्। बच्चादेखि सिकेको संस्कार म र मेरो सेरोफेरो मै वृद्द हुँदासम्म आइपुग्छ। बहुजन हिताय, बहुजन सुखायको संस्कार सिकेको खोइ?

१० वर्षको हुँदा –आमा म तपाईंलाई मायाँ गर्छु–आमाले बुझ्नुहुन्थ्यो र भन्नुहुन्थ्यो– कति पैसा चाहियो? २५ वर्षको हुँदा–आमा म तपाईंलाई माया गर्छु–आमाले सोध्नुहुन्छ–मन परेको कोही छ भने भन्नु।

४० वर्षको हुँदा–आमा म तपाईंलाई माया गर्छु– आमा भन्नुहुन्छ–बिहे गर्नुअघि सोचेर गर भनेको त थिएँ नि! साठी वर्ष पुगेपछि–आमा म तपाईंलाई माया गर्छु– अब आमा दह्रो मन गर्दै भन्नुहुन्छ– म कुनै कागजपत्रमा सहीछाप गर्नेछैन। आफ्नै इच्छा, अपेक्षा, सुरक्षा, सुविधामा जीवन केन्द्रित छ त दुःख आउँदा दोष कसलाई किन दिने?

खाऊँ मै लाऊँ सुख सयल वा मोज गरूँ

बाचूँ मै नाचूँ अरू सब मरून् दुर्बलहरू

भनी दाह्रा धस्दो अबुझ सठदेखि छक परी

चित्ता खित्का छोडी अभयसित हाँस्यो मरी मरी !

कवि शिरोमणिको सृजनाले गराउन खोजेको बोध–अब हामी आफैंसँग हाँस्नुपर्छ हामी कति स्वार्थी र मूर्ख छौं! सबैबाट आफैंले पाउने चाहना हुन्छ, मेरो अपेक्षा अरूले पूरा गरिदिऊन् लाग्छ तर लाग्दैन अरूलाई मैले के गरेँ, के दिएँ? अब यी सबैको बोध कसले गर्ने? आफैंले, आफ्नो प्रेरणा र संस्कारको विकास आफैंले गर्नु जत्तिको विवेकपूर्ण अरू हुनेछैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.