इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ एकाडेमीको लागि छनोट गरेको यू–१३ खेलाडीको सम्बन्धमा छनोट समितिका संयोजक कृष्ण थापाले गम्भीर आपत्ति जनाएका छन्। एन्फा उपाध्यक्षसमेत रहेका थापाले एकलौटी ढंगबाट परार्मश नगरी ४२ जना खेलाडी छनोट गरेको आरोप लगाएका हुन्।
पहिलो चरणको छनोटमा आफू संलग्न रहे पनि अन्तिम छनोटका विषयमा भने आफूसँग कुनै परामर्श नगरी खेलाडीको नाम सार्वजनिक गरेको भन्दै थापाले एन्फाको कदमको विरोध गरेका छन्।
शनिबार बिहान सामाजिक सञ्जालमा थापाले लेखेका छन् ‘यू १३ को अन्तिम छनोट शंकाको घेरामा संयोजकलाई नै थाहा छैन।’ यसअघि पहिलो चरणमा छानिएका ७१ जना खेलाडीको नामावली सार्वजनिक गरिएको पत्रमा थापाको हस्ताक्षर रहेको थियो।
एन्फाले छनोट गरेको खेलाडी ३ वटा विभागीय टोलीको एकाडेमीमा राखिनेछ।‘ तर, थापाले अनैतिक रुपमा छनोट गरिएको खेलाडीलाई विभागले राख्नेमा शंका व्यक्त गर्छन्।
‘प्रक्रिया नपुर्याई छनोट गरिएकोलाई कसरी वैधानिक भन्ने। म छनोट समितिको संयोजक हो। तर मलाई खबर नगरी मेरो हस्ताक्षरबिना सार्वजनिक भएको खेलाडीलाई विभागीय टोलीले राख्छन् त?’ थापाले प्रश्न गरे, ‘कोरोना कहरको अवस्थामा मेरो परामर्श बिना नाम सार्वजनिक भएको छ। पहिलो चरणमा जिल्ला र प्रदेशबाट झन्डै १६० आएकोमा ७२ छनोट गरिएकोमा मेरो हस्ताक्षर देख्न सक्नुहुन्छ अहिले छनोट भएको ४२ मा कसको हस्ताक्षर छ कर्मा कि इन्द्रमान?’
एन्फाको निर्णयमा असहमत
थापा जस्तै झापा फुटबल संघका अध्यक्ष एवं पूर्व-प्रशिक्षक भगिरथ आले ‘मामा’समेत एन्फाको निर्णयमा असहमत छन्। थापाका पोष्टमा कमेन्ट लेख्दै आलेले उदियमान खेलाडीको भ्रूण हत्या भएको आरोप लगाए। आले लेख्छन्, ‘कोरोना कहरको यस्तो परिस्थितिमा के को तमासा? गाउँमा रहेका खेलाडीले घरबाट ननिस्कने निषेधाज्ञा समयमा शहर गएर एक्सरे रिपोर्ट बनाएर पठाउन समय नपाई छनोट प्रकाशित गर्नु भनेको उदयीमान खेलाडीहरुको भ्रूण हत्या नै हो। यसको जिम्मा कसले लिने? मोजमस्ती, सुविधाभोगीहरूलाई मेरो प्रश्न।’
प्रक्रिया पुर्याएको दाबी
एन्फाका उपाध्यक्ष एवम युथ डेभ्लप्टमेन्ट संयोजक उपेन्द्रमान सिंह प्रक्रिया पुर्यायाएर छनोट गरिएको बताउँछन्। ‘हामीले सबैको परामर्श र मेडिकल रिर्पोटलाई हेरेर छनोट गरेका हौँ। अध्यक्षज्यूले कृष्ण (थापा) दाई लाई पनि खबर गरिएको थियो। उहाँ विद्युत् नभएकाले तत्काल उपलब्ध हुन नसक्ने जानकारी पाएका थियौं। अहिले उहाँले विरोध गरेको सुन्दा अचम्म लागेको छ।’
विभागीय स्कुलमा भर्ना गर्न ढिलो हुने भएकाले सबैको परामर्शमा छनोट गरिएको सिंहले बताए।
छनोटमा नातावाद–कृपावाद नरहेको युथ डेभ्लेप्टमेन्ट सह–संयोजक निरोज खड्गी बताउँछन् ‘यहाँ नातावाद–कृपावादको आधारमा छनोट गरिएको हैन्। त्यस्तो हुन्थ्यो भने म इलामको मान्छे मेरो जिल्लाबाट गएका तीन जना खेलाडी सबैलाई छनोट गर्थें होला नि। यसमा कसैले पूर्वाग्रही हुनुपर्ने आवश्यकता म देख्दिनँ। फुटबल संघ नै नरहेको जिल्लाबाट पनि खेलाडी छनोट गरेका छौँ उनीहरुको क्षमताको आधारमा। यो खासमा ३ विभागको छनोट हो। एन्फाले छनोटमा सहयोग गरेको हो। यसमा विरोध गर्नुपर्ने ठाउँ मैले देखेको छैन।’
कहाँबाट कति छानिए?
छनोटमा प्रदेश १ बाट २८, प्रदेश २ बाट २४, बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्बिनीबाट ३०, कर्णलीबाट ८ र सुदूरपश्चिबाट १२ गरी १ सय ६६ खेलाडी समावेश थिए। त्यसबाट वैशाखको सुरुमा ७१ खेलाडी अर्को चरणका लागि छनोट गरिएको थियो। त्यही खेलाडीबाट एन्फाले शुक्रबार ४२ खेलाडीको अन्तिम छनोट गरेको थियो।
छनोट भएका ४२ मध्ये आधा २१ खेलाडीले एन्फाबाट पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछन्। त्यस्तै, २१ खेलाडीले भने आफ्नो खर्चमा तीन विभाग त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबका स्कुलमा आबद्ध हुनुपर्नेछ। एन्फा र ३ विभागबीच गत वर्ष एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो।
जसमा एन्फाले ७ खेलाडीको छात्रवृत्ति दिने, ७ खेलाडीले आफ्नो खर्चमा बस्ने र ३ विभागले समान ७ खेलाडीलाई छात्रबृति दिने सहमति भएको थियो। गोलाप्रथाबाट ३ विभागका लागि खेलाडीहरु छनोट गरी पठाइने सिंहले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।