डडेल्धुरा : शनिबार परेको ‘विश्व वातावरण दिवस’ डडेल्धुरामा क्यारी निर्माण गरी फूलका विरुवा रुपेर मनाइएको छ। सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मन्दिर परिसरमा क्यारी बनाएर दुई सय फूलका विरुवा रोपेर मनाइएको हो।
‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनः स्थापना’ भने नाराका साथ डिभिजन वन कार्यालय डडेल्धुराको आयोजनामा दिवस मनाएको हो।
संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन ५ मा वातावरण दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो। तर, कोरोना महामारीका कारण यस वर्ष ठूला सार्वजनिक कार्यक्रम भने राखिएको छैन।
मानव सिर्जित कारणबाट प्रकृति र प्राकृतिक प्रणालीमा परेको प्रतिकूल प्रभावलाई कम गरी वातावरण संरक्षण गर्ने उद्देश्यले दिवस बनाइने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका प्रमुख विष्णुप्रसा आर्चायले बताए।
दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला अदालत डडेल्धुराका न्यायाधीश, जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकार, अमरगढी नगरपालिका नगरप्रमुख, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायत वन तथा वातावरणका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको थियो।
संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आह्वान गरेअनुरुप यो नारा तय गरिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।