|

काठमाडौं : साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को महत्वपूर्ण एजेण्डा थियो स्थिर सरकार। चर्को नारा भजाएर दुईतिहाइको बहुमतसहित प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व गरे।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपा एक रहन सकेन। तर, ओली नेतृत्वको सरकार भने रहिरह्यो। पाँच वर्षसम्म स्थिर सरकारको लक्ष्यका साथ एकजुट भएको कम्युनिष्ट पार्टीको विभाजनले थप राजनीतिक तरलता पैदा गरिदियो।

पार्टीभित्रको प्रेसर थेग्न नसकेपछि ओलीले पहिलो पटक पुष ५ गते संसद् नै भंग गरे। तर, सर्वोच्च अदालतले फागुन ११ मा संसद् पुनःस्थापनाको फैसला गर्‍याे। त्यसपछि पनि राजनीतिक दलको विवादको भुमरीमा अल्झिरहेको संसद् ओलीले जेठ ८ गते दोस्रो पटक विघटन गरिदिए।

ओली अहिले अल्पमतको काम चलाउ सरकारमा सीमित भए। पार्टीभित्रबाटै झलनाथ खनाल र माधवकुमार नेपाल समूहसमेत विपक्षी गठबन्धनसँग मिलेर ओली सरकारको बहिर्गमनको प्रयासरत छ।

ओलीलाई पार्टीभित्रबाटै हटाउने खेल भइरहेको बेलामा उनको नयाँ सारथी मधेश केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो बनेका छन्।

ओलीले सत्ता टिकाउन १० जना जसपाका नेताहरुलाई मन्त्री बनाएका छन्। जसपाको महन्थ–राजेन्द्र खेमा पार्टी विभाजन गरेर ओली नेतृत्वको सरकारमा गएको हो। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने ओली नेतृत्वको सरकार बहिर्गमनको पक्षमा लागिरहेका छन्। 

१७ पटक मन्त्रिपरिषद् हेरफेर 

दुईतिहाइ बहुमतसहित सत्ताको नेतृत्वमा पुगेका ओलीले तीन वर्षमा १७ पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन्। प्रधानमन्त्री ओली बाहेक सरकारमा रहेका सबै मन्त्रीहरु पटकपटक फेरबदल भइरहे। ओलले अस अवधिमा ५९ मन्त्रीहरु फेरिसकेका छन्। 

महतोको विवादास्पद अभिव्यक्ति

उपप्रधानमन्त्री महतो पदभार ग्रहण गरेलगत्तै विवादमा मुछिएका छन्। उनले देशलाई बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित गराउनु नै पार्टीको मुख्य जिम्मेवारी भएको अभिव्यक्ति दिएपछि विवादमा मुछिएका हुन्। 

नेपाल राज्य नभएकाले बहुल राज्यको स्थापना गर्ने उनको भनाई छ। बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने सरकारका जिम्मेवारी मन्त्रीले अभिव्यक्ति दिएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ। प्रधानमन्त्री ओली भारतसँग ढल्किएर देश विभाजनको बाटोमा लागेकोे आरोपसमेत लाग्न थालेको छ। 

माग नै सत्ता प्रवेशको भर्‍याङ !

जसपाको महन्थ–राजेन्द्र खेमाले आफ्ना मागहरुलाई प्रयोग गरेर सत्तामा प्रवेश गरेका छन्। अदालतले जन्मकैदको फैसला सुनाएका सांसद् रेशम चौधरी रिहा, संविधान संशोधन, नागरिकता विद्येयक, मधेश तथा थरुहट आन्दोलनको मुद्दा फिर्ता लगायतका माग राखेर उक्त पक्षले ओलीसँग निरन्तर बार्गेनिङ गरिरहे।

ओलीले जसपाको माग सम्बोधनका लागि तत्परता देखाएपछि आफूहरु सरकारमा गएको उपप्रधानमन्त्री महतो बताउँछन्। 

‘हामीहरु आफूहरुको माग मुद्दाको लागि सरकारमा गएका हौँ। त्यसमा प्रधानमन्त्री ओलीले सक्दो सहयोग गर्ने बताउनुभएको छ’ उनले शनिबार स्वागत कार्यक्रमा बोल्दै भने,‘थरुहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरीको मुद्दा टुंग्याएर राष्ट्रिपतिबाट कैद माफी गराउछौं।’ उनले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई समेत आफ्नो एजेण्डालाई प्राथमिकता राखेर काम गर्नका लागि निर्देशसमेत गरे। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.