खाद्य पदार्थको उपभोगबाट तत्कालीन वा दीर्घकालीन रूपमा उपभोक्ताको स्वास्थ्यमा कुनै हानि/नोक्सानी हुँदैन भने सो अवस्थालाई खाद्य स्वच्छताको अवस्था भनेर बुझिन्छ। खाद्य पदार्थ उत्पादन, प्रशोधन, भण्डारण, परिचालन र वितरण गर्दा खाद्य जनित रोगहरूको जोखिमलाई न्यूनीकरण गरी पर्याप्त पोषक तत्त्व सुरक्षित भएको अवस्था हो।
उत्पादनदेखि उपभोग चरणसम्मको श्रृंखलामा खाद्य पदार्थमा बाह्य तथा अन्तर विकसित हानिकारक तत्वहरू खाद्य पदार्थमा प्रवेश गर्न सक्छन्। अवाञ्छित भौतिक, रासायनिक र जैविक तत्त्वको प्रवेशले खानेकुराको स्वच्छता बिगार्न सक्दछन्। तसर्थ, खाद्य श्रृंखलाको प्रत्येक चरणमा यस्ता हानिकारक तत्त्वको प्रवेशलाई रोक्नु वा न्यूनीकरण गर्नु नै स्वच्छता कायम राख्ने मुख्य उपाय हो।
खाद्य स्वच्छता एक बहु आयामिक र बहुपक्षीय कार्य हो। खाद्य पदार्थ उत्पादन, प्रशोधन, संचय, बिक्री/वितरण र परिचालन हुँदै उपभोग गर्ने चरणसम्म उचित ध्यान पुर्याउनुपर्दछ। खाद्य श्रृंखलाको प्रत्येक चरणमा कार्य गर्ने सबै पक्षले जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य पूरा गरेमात्र स्वच्छता कायम रहन्छ। त्यसैले, यसका लागि खाद्य श्रृंखलामा क्रियाशील सबै पात्रले खाद्य स्वच्छताको पक्षमा प्रतिवद्ध भई सोही अनुरूप क्रियाशील हुन आवश्यक छ
दूषित खानाको प्रभाव
स्वच्छ र गुणस्तरीय खाना स्वस्थ जीवनका लागि अनिवार्य आवश्यकता हो। विश्व स्वास्थ्य संगठनले दूषित खानाको कारण जनस्वास्थ्यमा के कस्तो असर गर्छ भन्ने सम्बन्धमा केही आंकडा सार्वजनिक गरेको छ। दूषित खानाको उपभोगले मानिसमा २०० भन्दा बढी रोग लाग्छन्। दूषित खानाका कारणले विश्वमा प्रतिवर्ष ६० करोड मानिस बिरामी पर्ने र ती मध्ये ४ लाख २० हजारको मृत्यु हुने गर्छ।
यसबाट ५ वर्ष मुनिका बालबालिका झनै असुरक्षित हुने गरेका छन्। नेपालको सन्दर्भमा दूषित खानाको असर सम्बन्धी यस्ता तथ्यांक यकिनका साथ सार्वजनिक नभए पनि करिव ४०/४५ प्रतिशत आमनागरिक कुनै न कुनै खाद्य तथा पोषणजन्य समस्यामा रहेका छन्।
बिरामी भएपछि व्यक्तिको कार्यसम्पादन घट्ने र जीवनयापनका लागि अवलम्वन गरिएको पेशा पनि धरासायी हुनसक्छ। दीर्घकालसम्म यस्तै दूषित खानाको श्रृङ्खला चलेमा हाम्रो समाज र राष्ट्र नै कुपोषणको दुष्चक्रमा परी यसले भविष्यका निकै पुस्तासम्म नकारात्मक प्रभाव पर्नेछ।
नेपालमा खाद्य स्वच्छता नियमन
नेपालमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई नेपाल सरकारले खाद्य स्वच्छता तथा गुणस्तर नियमन गर्ने जिम्मेवारी तोकेको छ। खाद्य ऐन २०२३ लागू गरी खाद्य पदार्थमा स्वच्छता र गुणस्तर नियमन गर्न यो विभाग र मातहतका निकाय क्रियाशील रहेका छन्। विभाग मातहत हाल ६ वटा संघीय कार्यालय, २४ वटा डिभिजन कार्यालय र १२ वटा आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू रहेका छन्।
नेपाल सरकारबाट प्रस्तुत गरिएको आ. व २०७७/०७८ को बजेट तथा कार्यक्रममा पोखरा र सुर्खेतमा प्रयोगशाला सहितका कार्यालय स्थापना गर्न प्रस्ताव भएको थियो। सो स्वीकृतिको अन्तिम अवस्थामा पुगेको छ। त्यस्तै, हालै सार्वजनिक भएको आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रममा 'खाद्य बस्तुको स्वच्छता एवम् गुणस्तर कायम गर्न अनुगमन गर्ने निकायको क्षमता अभिवृद्धि गरिनेछ। राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई अन्तराष्ट्रिय मापदण्ड अनुरूप विकास गरी खाद्य स्वच्छता परीक्षणको क्षेत्र र दायरा विस्तार गरिनेछ,' उल्लेख छ।
यसबाट सरकारले खाद्य स्वच्छता नियमनलाई प्राथमिकता दिएको सहजै बुझ्न सकिन्छ। यससँगै निकट भविष्यमा विभाग मातहत ८ वटा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय संचालनमा आउने र खाद्य स्वच्छता नियमन कार्यमा थप प्रभावकारिता आउने अपेक्षा गर्न सकिन्छ।
तोकिएको मापदण्ड पूरा नगरेका, म्याद गुज्रेका, लेबल विवरण पूरा नभएका, जथाभावी रंग तथा रसायन प्रयोग गरेका र ढुसी परेका खाद्य पदार्थ सम्बन्धी समस्या पनि प्रशस्तै देखिन्छन्।
त्यसैगरी, खाजा घरहरूमा तेल घिउलाई पटक पटक प्रयोग गर्ने गरेको पनि देखिन्छ। त्यस्तै, जथाभावी जीवनाशक विषादीको प्रयोग भएका फलफूल र तरकारी सम्बन्धी समस्या पनि सुनिएका छन्। उपरोक्त समस्याहरू केही जानेरै त केही अन्जानमा वा हेलचेक्याइँका कारणले हुने गरेका छन्। परिस्थिति जस्तोसुकै भएपनि मानव स्वास्थ्यमा प्रतिकूल हुनेगरी कसैले खाद्य पदार्थको उत्पादन, संचय र बिक्री/वितरण गर्नु क्षम्य हुँदैन।उपरोक्त समस्या समाधानका लागि विभाग तथा मातहतका निकायले उपभोक्ता सचेतना कार्यक्रम जस्तै : उपभोक्ता भेला, सूचना सन्देश प्रचारप्रसार, अन्य सरोकारवालासँग अन्तरक्रिया छलफल कार्यक्रम संचालन गर्ने गर्दछन्। त्यसैगरी, खाद्य ऐन २०२३ र दाना पदार्थ ऐन २०३३ अन्तर्गत रहेर नियमित बजार अनुगमन, नमूना संकलन, विश्लेषण र मुद्दा दायर समेत गर्ने गरेका छन्।
आ व २०७६/०७७, २०७५/०७६, २०७४/०७५, २०७३/०७४, २०७२/०७३ र २०७१/०७२ मा क्रमश: ५५, १४९, २२४, २६३, २०६ र २१९ वटा मुद्दा सम्बन्धित निकायमा दायर गरिएका छन्। यसरी मुद्दा दायर गरिएका खाद्य पदार्थमा प्रशोधित पिउने पानी, दूध तथा दुग्धजन्य पदार्थ, घ्यू-तेल र अन्न तथा दलहनमा आधारित उत्पादनहरू प्रमुख रूपमा रहेका छन्।
चालु आर्थिक वर्ष २०७७/०७८ को साउनदेखि फागुन मसान्तसम्म खाद्य ऐन २०२३ तथा दाना पदार्थ ऐन २०३३ बमोजिम विभिन्न उद्योगी व्यवसायी उपर ७६ वटा मुद्दा दायर गरिएका छन्। यसमा प्रशोधित पिउने पानी ११, तयारी चाउचाउ ७, मसलाजन्य पदार्थ ६ र घ्यु ५ वटा रहेका छन्। त्यस्तै, तेल, बेकरी, तरकारी, मह, दालमोठ भुजिया, बिस्कुट र दाना पदार्थ प्रत्येक समूहमा ४ वटा गरी २८ वटा मुद्दा दायर गरिएका छन्।
त्यस्तै, अन्य खाद्य पदार्थ जस्तै मिठाई, दही, चामल, गेडागुडी र खुर्सानी धुलोमा जम्मा १९ मुद्दा दायर गरिएका छन्। आर्थिक वर्ष २०७७/०७८ को आठ महिनामा दायर गरिएका उपरोक्त ७६ मुद्दामा दूषित खाद्य पदार्थ १२, न्यून गुणस्तर ३५, लेबल विवरण नमिलेका २३ र ऐन नियम निर्देशिका उल्लंघन सम्बन्धी ६ वटा रहेका छन्।
न्यून गुणस्तर वा दूषित खाद्य पदार्थको उत्पादन, संचय तथा बिक्री/वितरण गर्ने उद्योगी व्यवसायी उपर खाद्य ऐन २०२३ अनुसार बढीमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ। त्यस्तै, लेबल विवरण नमिलेका र ऐन-नियम, निर्देशिका उलंघन सम्बन्धी मुद्दामा बढीमा १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
खाद्य स्वच्छता दिवस र नारा
नेपालले खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा आर्थिक वर्ष २०६५/०६६ देखि खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ।
नेपालले शुरू गरेको उक्त अभियानलाई समर्थन हुने गरी कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठनले प्रस्ताव गरी संयुक्त राष्ट्र संघीय महासभाबाट डिसेम्बर २०, २०१८ मा स्वीकृत भएपछि प्रत्येक वर्षको जुन महिनाको ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसका रूपमा मनाउने गरिएको हो। यस वर्ष कोभिडको महामारीको विषम परिस्थितिमा स्वास्थ्य मापदण्ड पालना गर्दै विभिन्न संचार माध्यमबाट प्रचार प्रसार गरी यो दिवस मनाइँदैछ।
यस दिवसको सन्दर्भमा विश्व स्वास्थ्य संगठनको तर्फबाट डा. फ्रान्सेस्को ब्रान्काले एक श्रव्यदृश्य मन्तव्य राख्दै स्वच्छ, गुणस्तरीय र पोसिलो खाना सबैको अधिकार हो भन्ने बारेमा जनचेतना फैलाउन यो दिवस मनाउन लागिएको बताएका छन्। उनले अगाडि भनेका छन्, 'खाद्य जनित रोगले सबै उमेर समूहका मानिसलाई असर गर्दछ। यसले ५ वर्ष मुनिका बालबालिका अझै बढी प्रभावित पार्दछ।'
कमजोर आर्थिक र पोषणको अवस्था लामो समयसम्म रहँदा यसले आउने धेरै पुस्तासम्म नै नकारात्मक प्रभाव पार्दछ। त्यसैले, यस वर्षको विश्व खाद्य स्वच्छता दिवसको नारा 'आजको स्वच्छ भोजन, भोलिको स्वस्थ जीवन' रहेको छ।
निष्कर्ष
स्वच्छ खाना नै स्वस्थ जीवनको प्रमुख आधार हो। स्वच्छ खानाले तन रमन दुवैलाई स्वस्थ राख्दछ। बढ्दो उमेरका बालबालिकाको लागि स्वच्छ खाना अझै महत्वपूर्ण हुन्छ। तिनै बालबालिका भविष्यमा देश र समाजलाई सही दिशामा अगाडि बढाउने नागरिक हुनेछन्।
तसर्थ, आजको स्वच्छ भोजन भोलिको स्वस्थ नागरिक तथा समाजको निर्माणको लागि हो। स्वच्छ र पोसिलो खानाले हाम्रो शरीरमा आवश्यक पोषक तत्त्व प्रदान गरी आन्तरिक प्रतिरोधात्मक क्षमता समेत बढाउँछ, जसले कोभिड महामारी लगायतका विभिन्न रोगसँग लड्ने क्षमता सुदृढ पार्छ।
त्यसैले, आजको दिनमा यस विश्व खाद्य स्वच्छता दिवसको सान्दर्भिकता अझ बढेको छ। यस महत्वपूर्ण दिनमा 'आजको स्वच्छ भोजन भोलिको स्वस्थ जीवन' नारालाई आत्मसाथ गर्दै दैनिक जीवनमा लागू गरौँ। यस दिनलाई स्वच्छ खानाको महत्व बुझ्ने र बुझाउने दिनको रूपमा लिऔँ।
(दाहाल वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन्।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।