|

चितवन : चितवनको माडीमा पर्ने बाँदरमुढे खोलामा तत्कालीन विद्रोही माओवादीले बसमा गराएको विष्फोट घटनाको १६ वर्ष पुगेको छ।

विस. २०६२ साल जेठ २३ गते यात्रु बोकेर गुडिरहेको ना१ख ३२४५ नम्बरको बस विस्फोटमा परेर घटनास्थलमै ३८ जनाको ज्यान गएको थियो। ७५ जना घाइते भएका थिए। पछि थपिएर मृतक सख्ंया ४२ पुग्यो।

घटनामा घाइते भएका १५ जनाले अहिले पनि औषधि खाइरहेको र सात जना मानसिक समस्यामा रहेको बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बताए। मृतकको सम्झनामा खोलामा स्मारक निर्माण गरिएको छ। तर, यसवर्ष भने स्मारक नजिक दीप प्रज्ज्वलन गरी कालो दिवसको रुपमा मनाउने तयारी भएको उनको भनाइ छ।

घटनापश्चात् पीडितका परिवारलाई राहतका लागि विभिन्न समयमा बोलिएका आश्वासन पूरा नहुँदा घटनाका पीडितहरु थप पीडित बन्दै गएका छन्। घटनामा परी आफन्त गुमाएका  र अपाङ्गता भएकाहरु अझै पनि न्याय र राहतको आशामा बसिरहेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचनका क्रममा २०७४ मंसिर १७ गते माडीमै पुगेर पीडित पक्षसँग गरेका सहमति अझै लागू हुन सकेको छैन। उनले चुनावी सहकार्य गरेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तीन वर्षसम्म सरकारमा रह्यो। स्थानीय सरकारको नेतृत्व माओवादीले नै गरेको छ। आफैँले गरेको वाचा पनि प्रचण्डले पूरा नगरेको पीडितहरुको गुनासो छ।

पार्टीले मृतकका आश्रित परिवारलाई काम गर्न सक्नेलाई रोजगार, काम गर्न नसक्नेलाई जीवनवृत्ति र बालबालिकालाई पढाइदिने सहमति भएको थियो। ‘राजनीतिक र चुनावी मुद्दा बनाइयो, प्रधानमन्त्री समेत भइसकेको मान्छेले बोलेका कुरा त पूरा हुन्न भने अरुको कुरा के पत्याउनु’ समितिका अध्यक्ष न्यौपानेले भने।

यसैगरी, घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा बाँदरमुढेमा १० बिघा जमिनमा नमुना संग्रहालय बनाउने अर्को सहमति पनि भएको थियो। अहिले यी सहमति कुनै पनि पूरा नभएको अध्यक्ष न्यौपाने बताउँछन्।

आश्वासन दिने पूरा नगर्ने नेता

माडी नगरपालिकाले हालसम्म २५ जना पीडितलाई एक लाखका दरले राहत दिएको छ। बाँकी अन्यलाई नदिएको सम्बन्धमा मेयर ठाकुर ढकालसँग कुरा गरिने उनले बताए। घटनाका पीडित निर्मल शर्माले आश्वासन दिने तर, पूरा नगर्ने नेताको बानीबाट आफूहरु थप पीडित बनेको प्रतिक्रिया दिए।

बाँदरमुढे घटना पीडितको लगत संकलन भएको छ। लगत संकलन टोलीले घटनाका मृतक तथा घाइतेका परिवारलाई घरमै भेटघाट गरी लगत उठाएको थियो। माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भने मृतकका परिवार र घाइते गरी १३५ जनाबाट लगत संकलन गरिएको बताए।

नगर प्रमुख ढकालको संयोजकत्वमा गठित बाँदरमुढे घटना समाधान समितिले झापा, दमौली, पोखरा लगायत विभिन्न ठाउँमा गएर लगत संकलन कार्य गरेको हो। बाँदरमुढे घटनामा झापाका एकै घरका चार जनाको मृत्यु भएको थियो।

बाँदरमुढे घटना पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपानेले चुनावको समयमा आफूहरुसँग गरेको प्रतिबद्धता तत्काल पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेका छन्। घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बाँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनुपर्ने लगायतका माग उनले राखेका छन्।

यसरी भएको थियो घटना

सादा पोसाकमा सार्वजनिक बसमा चढेका १२ जना सैनिकप्रति लक्षित गरेर बसमा बम विस्फोट गराइको थियो।

विस्फोटमा महिला र अबोध बालबालिकासहितका निर्दोष नागरिक परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त घटनालाई ‘दसवर्षे जनयुद्धको सबैभन्दा ठूलो कलंक’ भन्दै गत प्रतिनिधिसभाको निर्वाचनमा बाँदरमुढेका जनतासँग माफी मागेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.