|

हेटौंडा : ठेकी उत्पादन गर्न कुनै बेला प्रख्याति कमाएको मकवानपुरको सो चिनारी अहिले क्रमश: मेटिँदैछ। त्यसैले, सो चिनारीलाई कायम राख्न भन्दै अहिले यहाँका विभिन्न स्थानमा ठेकी बनाइँदैछ।

काठबाट बन्‍ने ठेकी परम्परागत नेपाली भाँडा हो। मकवानपुरलाई चिनाउने काठको ठेकी पछिल्लो समय भने भेटिन मुस्किल छ। ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही र मोही बनाउन प्रयोग गर्ने गरेका परम्परागत ठेकी अहिले लोप हुने अवस्थामा पुगेको हो।

दुहुनू पशु भएका परिवारले दूध जमाउन र मही पार्नका लागि प्रयोग गर्ने परम्परागत ठेकी धातुबाट निर्मित आधुनिक सामग्रीका कारण लोप हुने अवस्थामा पुगेको छ। मकवानपुरमा दार अथवा देव दार काठबाट ठेकी बनाइने गरिन्थ्यो। त्यसैले, मकवानपुरको ठेकीसँगै यहाँको काठ पनि ठेकी उत्पादनको लागि प्रख्यात मानिन्थ्यो। तर, अहिले मकवानपुरमै ठेकी पाउन मुस्किल पर्छ। 

केही वर्षअघिसम्म मकवानपुरको सामरी र हर्नामाडीमा काठबाट ठेकी बनाइन्थ्यो। दही जमाउन र मोही पार्न प्रयोग हुने ठेकी उत्पादनले गाउँका धेरैले रोजगार पनि पाएका थिए।

ठेकी लोप भएसँगै काठलाई कुदेर विभिन्न सामग्री तयार गर्दै आएका चुदारेहरूको पेशा पनि संकटमा पर्दै गएको छ। काठको ठेकी बनाउन प्रयोग हुने दारको रुख समेत पाइन छाडेको र ठेकी खोप्ने मान्छे नहुँदा ठेकी पाउन छाडेको जानकारहरू बताउँछन्।

पहिले पहिले मकवानपुरमा बनेको ठेकी दही जमाउनमा प्रख्यात मानिने भक्तपुर र काठमाडौं लगायतका जिल्लाहरूमा पनि पुग्ने गरेको थियो। तर, अहिले मकवानपुर जिल्लामा नै काठको ठेकी नपाउँदा स्थानीय कृषकहरू स्टीलको ठेकीमा दही जमाउन र मोही पार्न बाध्य छन्।

काठे ठेकीका लागि प्रख्यात मानिने मकवानपुरमा नै ठेकी पाउन छाडेपछि यसको संरक्षणको कार्य हुन थालेको छ। ठेकीकै नामले चिनिने मकवानपुरमा ठेकी भेट्टाउन छोडेपछि पर्यटकीय रूपमा यसको संरक्षण गर्न थालिएको हो। हेटौंडा–१८ हर्नामाडिस्थित पर्यटकीयस्थल गुम्बा डाँडामा ठूलो आकारमा ठेकी निर्माण गरी यसको संरक्षण गर्न लागिएको छ।

परम्परागत भाँडोको संरक्षणको लागि गुम्बा डाँडामा ठेकी निर्माण गर्न लागिएको गुम्बा डाँडा पार्किङ निर्माण उपभोक्‍ता समितिका अध्यक्ष अशोक श्रेष्ठले बताए। संघीय र प्रदेश सरकारको बजेट अन्तर्गत करिव साँढे पाँच फिट उचाइ र चार फिट चौडाइको ठेकी चालू आर्थिक वर्षमा सक्नेगरी निर्माण कार्य भइरहेको श्रेष्ठले जानकारी दिए। उनका अनुसार ठेकी निर्माणको लागि ३८ लाख रुपैयाँ बजेट आएको छ।

यता, हेटौंडा उपमहानगरपालिका–१० स्थित बसपार्क नजिकै पनि मकवानपुरको चिनारीका रूपमा रहेको ठेकी आकारको खानेपानी ट्यांकी निर्माण भइरहेको छ। वडाको बजेटबाट सात लाख र साई केन्द्र हेटौंडाको १७ लाख गरी करिब २५ लाख रुपैयाँ लागतमा ठेकी आकारको खानेपानी ट्यांकी निर्माण थालिएको हो।

२०७६ साल असोजदेखि निर्माण शुरू गरिएको ठेकी आकारको ट्यांकी निर्माण कार्य चालू आर्थिक वर्षमा सक्ने लक्ष्य रहको वडाअध्यक्ष कितापसिंह लामाले जानकारी दिए।

पूर्व-पश्चिम राजमार्गमा पर्ने बसपार्कमा पानी ट्यांकीमाथि फलामको ठेकी निर्माण गरी राखिएको छ। ठेकी राखिएको क्षेत्रको बगैँचा निर्माण तथा व्यवस्थापन जिम्मा साई केन्द्र हेटौंडाले लिएको छ।

साई केन्द्र हेटौंडाले ठेकी आकारको खानेपानी ट्यांकीबाट यात्रुहरूलाई निशुल्क फिल्टर गरिएको शुद्ध पिउने पानी उपलब्ध गराउने जानकारी दिएको छ।

करिब ३५ सय लिटर क्षमताको ठेकी आकारको ट्यांकीमा हेटौंडा खानेपानी बोर्डले नियमित नि:शुल्क खानेपानी उपलब्ध गराउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.