|

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले अन्यत्र पनि घाट बनाउने तयारी गरेको छ। कोषले पछिल्लो समय शव बढ्दै गएको भन्दै व्यवस्थापनका लागि अन्त पनि घाट बनाउन सरकारसँग सिफारिस गर्न लागेको हो।

पशुपतिमा भएको पुरानो घाटले शव नथेग्ने अवस्थामा पुगेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालको भनाइ छ। उनले भने, ‘अहिले दैनिक सयभन्दा बढी शव यहाँ जलाउनुपर्ने अवस्था छ,पालो नपाएर आफन्तहरुले कुर्नुपर्छ, त्यसैले यहाँको जस्तै अन्यत्र घाट बनाउन सरकारसँग सिफारिस गरेका छौं।’ 

उनका अनुसार पशुपतिमा १२ वटा घाट छ। कोरोना संक्रमणका कारण बढी मृत्युको संख्या बढेकोले धान्न सकेको छैन। उनले पशुपतिको पुरानो घाट भने नसार्ने बताए।

‘धेरैले पुरानो घाट नै सार्ने भनेर हल्ला फैलाएका छन,’ उनले भने, ‘पुरानो जहाँ छ त्यही रहन्छ, सार्दैनौं, यहाँ शव बढी भएकाले थेग्ने अवस्था नै भएन, बढी लास जलाउँदा दुर्गन्ध पनि फैलिएको छ।’

उनका अनुसार पुरानो घाटमा पानीको भकारी छ। त्यो बोक्न पनि मिल्दैन। त्यसैले पुरानो घाट हटाउने सम्भावना छैन। बनाउन लागिएकाे घाट दिगाेखालका बनाइने छ।  

पशुपतिमा धेरै लास जलाउँदा पशुपतिनाथ मन्दिरको सौन्दर्य नै गुम्ने गरेको उनको भनाइ छ। ढकालले भने, ‘वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा दीप, धुप, बालेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा यो महामारीका बेला धेरै शव जलाउँदा दुर्गन्ध फैलिएको छ।’ 

विद्युत शवदाह गृह र पुरानो घाटले मात्रै नथेग्ने भएपछि पशुपतिको बागमती किनारमै अस्थायी घाट बनाएर अहिले सेनाले शव व्यवस्थापन गरिरहेको छ। कोष सञ्चालक परिषद्ले पशुपति क्षेत्रको गुरुयोजना तयार पारी मन्त्रिपरिषदमा पेस गरेको थियो। त्यसमा घाट व्यावस्थापन गरिनुपर्ने बुँदा पनि समेटिएकाे काेषले जनाएकाे छ।

गत १५ गते अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट सार्वजनिक गर्दै गुरुयोजनालाई तर्जुमा गरी कार्यन्वयन गर्ने बताएका छन्।

उनका अनुसार पशुपति मन्दिरको प्रवलीकरण र पूर्वाधार निर्माण गर्न ३५ करोड बजेट पनि विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताएका छन्। तर, यी गुरुयोजनामा विश्वमा सूचीकृत पशुपतिको प्राचीन सम्पदाहरू मासिने भन्दै स्थानीय, सरोकारवाला र सम्पदा संरक्षणकर्मीहरुले विरोध जनाउँदै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.