|

ओखलढुंगा : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा अवैध नदीजन्य वस्तु उत्खनन् र दोहन  गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

मानेभञ्ज्याङ गाउँपालिका–७ मा रहेको सुनकोशी नदी र भडारे खोलाको दोभानबाट अवैध रूपमा उत्खनन् गर्ने तीन जना मजदुरलाई प्रहरीले पक्राउ गरेको हो।

मानेभञ्ज्याङ गाउँपालिका-७ स्थित सुनकोशी नदी र भडारे खोलाको दोभानबाट अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन गरी थुपार्दै गरेको अवस्थामा सवारी साधनसहित ३ जना चालक र उत्खननमा संलग्न अर्का एक व्यक्तिालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

सुनकोशी नदी र भडारे खोलाको दोभानमा करिब १५ टिपर बालुवा उत्खनन गरी थुपारी राखिरहेको अवस्थामा प्रहरी चौकी हर्कपुरबाट खटिएको गस्ती टोलीले २ वटा टिपर र १ वटा जेसिबीसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार नियन्त्रणमा लिएको १५ टिफर बालुवा सहित ३ जना चालक र अर्का एक व्यक्तिाई आवश्यक कारबाहीको लागि मानेभञ्ज्याङ गाउँपालिकालाई पत्र सहित बुझाएको छ।

गाउँपालिकाले आवश्यक कारवाही नगरेमा प्रहरी प्रशासनबाटै नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरी प्रमुख काफ्लेले बताए। यसरी नदीजन्य प्राकृतिक सम्पदाबाट ढुङ्गा, माटो, गिटी, बालुवा लगायत उत्खनन् गर्न ठेक्का लागेको हुनुपर्ने भए पनि  गैरकानुनी तरिकाले उत्खनन भएको पाएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ।

प्रहरीले कामदार समाते पनि उत्खनन गर्न लगाउने मालिक भने समाएको छैन। गाउँपालिका, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनले कडाइ नगर्दा नदीजन्य वस्तुको गैर कानुनी उत्खनन र दोहन बढिरहेको छ। जिल्लामा सुनकोशी, दुधकोशी, लिखु, मोलुङ तथा सिस्ने र लिपेखोला नदीजन्य पदार्थका मुख्य स्तरो रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.