|

पाल्पा : स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित कालिगण्डकी अस्पतालमा सामाजिक स्वास्थ्य बिमा लागू भएको छ।

आइतबार भर्चुअल कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले स्वास्थ्य बिमाको शुभारम्भ गरेका छन्। स्वास्थ्य बिमा लागू भएपछि यहाँका नागरिकले समयमै उपचार पाउने भएका छन्।

पैसाका कारण उपचार नपाउने अवस्था टरेको छ। जिल्लाको सदरमुकाम पुतलीबजारबाट सुदूरपश्चिममा रहेको गाउँपालिकामा लागू भएको स्वास्थ्य बिमाले यहाँका जनतालाई ठूलो राहत मिलेको छ। यस गाउँपालिका जिल्लाकै विकट मानिन्छ।

यसअघि यस अस्पतालमा उपचार गर्दा बिरामीले पैसा तिर्नुपर्ने हुन्थ्यो। अब बिमा भएका कुनै पनि बिरामीले नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले तोकेको मापदण्डअनुसार उपचार सेवा पाउने अध्यक्ष थापाले बताए।

यस गाउँपालिकाका अधिकांश मानिस सामान्य खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका छन्। न्यून वर्गीय परिवारलाई नजिकै रहेको अस्पतालमा लागू भएको बिमाले ठूलो राहत मिल्ने उनले दावी गरे।

यसअघि यहाँका नागरिकलाई स्वास्थ्य बिमा सेवा लिन छिमेकी जिल्ला पाल्पा जानुपर्ने बाध्यता थियो। सरकारले तोकेको ३५०० तिर्न नसक्ने अति गरिब तथा विपन्न परिवारको स्वास्थ्य बिमा स्थानीय सरकारले गरिदिने थापाले बताए। पारिवारिक अवस्था बुझेर मात्रै उनीहरूको बिमा गरिने छ। 

स्वास्थ्य बिमा गर्न गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले सबैसँग अपिल गरिन्। ५ जनाको परिवारले एक लाखसम्मको उपचार निःशुल्क पाइने भएकाले समयमै स्वास्थ्य बिमा गर्न उनले सुझाइन्। आर्थिक अवस्था कमजोर भएका परिवारलाई स्वास्थ्य बिमा प्रभावकारी हुने उनको ठम्याइ छ।  

स्वास्थ्य बिमा गरेका बिरामीले यहाँबाट सबै सुविधा पाउने अस्पतालका प्रमुख चेतन कँडेलले बताए। उनका अनुसार चौबीसै घण्टा दक्ष चिकित्सकीय सेवा, आधुनिक इमेर्जेन्सी प्रयोगशाला सेवा, मुटुको परीक्षण गर्ने इसिजी, भिडियो एक्सरे, आधुनिक एक्सरे, प्लाष्टर, सामान्य शल्यक्रिया सेवा स्वास्थ्य बिमा भएका बिरामीले निशुल्क पाउनेछन्।

यहाँ उपचार सम्भव नभएका बिरामीलाई स्वास्थ्य बिमाबाटै उपचार पाइने अन्य अस्पतालमा रेफर गरिने उनले बताए। कँडेलकाअनुसार यहाँ १५ शय्या जनरल वार्डको व्यवस्था छ। दुइ जना एमविविएस डाक्टर, स्टाफ नर्सलगायतका स्वास्थ्यकर्मी रहेका छन्।

अस्पतालका डाक्टर सुशील ढुंगानाले स्वास्थ्य बिमाका प्रक्रिया तथा पाइने उपचार सेवाबारे सहजीकरण गरेका थिए। भर्चुअल कार्यक्रममा सबै जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, सर्वसाधारण लगायतको सहभागिता थियो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.