काठमाडौं : सोमबार निषेधाज्ञाको ४१ औँ दिन। जति दिन निषेधाज्ञा भयो उत्तिकै दिनदेखि उनको हातमा पैसा परेको छैन। खल्ती खालि छ। निषेधाज्ञा जारी छ,तर पनि उनी ठमेल, बसन्तपुर क्षेत्रमा चक्कर लगाइरहन्छन्। ग्राहक पाउँदैनन् अनि रित्तै हातमा डेरामा फर्किन्छन्। यात्रुबिनाकाे खाली रिक्सा कुदाएर आकाश मानन्धरको दैनिकी बित्ने गरेकाे छ।
सोमबार वसन्तपुरमा निराश मुद्रामा रित्तो रिक्सा डोहोर्याइरहेका बेला आकाश भेटिए। रिक्सामा यात्रु थिएनन् बरु तीन किलो चामल र दाल थियो। यो चामल उनले किनेकाे होइन,किन्ने हैसियत पनि अहिले बनाउन सकेका छैन उनले। भने,‘खै कुन संस्थाले पो वसन्तपुरमा राहत बाँडेका रैछन,उनीहरुले मलाई पनि दिए, लिएर आए।’
निषेधाज्ञाले गर्दा अहिले कमाई शून्य रहेकाे उनले सुनाए। ललितपुरस्थित बुङमतिका आकाश ३६ सालदेखि रिक्सा चलाउँदै आएका छन्। हिसाब गर्ने हो भने ४२ वर्ष भइसकेछ। उमेरले ६० पार गरिसके। रिक्साको पाईडल घुमाउँदा घुमाउँदै उनको पैताला खिइसक्यो। तर,अझै उनकाे पाईडल घुमाउनेकाे पावर रोकिएकाे छैन। राेक्न पनि चाहदैँनन्।
निषेधाज्ञा अघि दिनभरी रिक्सा चलाएर राम्रै कमाइ गर्थे। दिनको हजार रुपैया सम्म कमाउथे। त्यही कमाइले नौ जनाको परिवार धान्न सकिरहेका थिए। तर,जब निषेधाज्ञा लागु भयो यात्रु नै पाउन छोडे।
‘दिनभरी कुरे पनि खै यात्रु भेटिँदैनन्, गुजारा चलाउन मुस्किल पर्याे,’ उनले दु:ख सुनाए। समस्या परेको बेला सहयाेग गर्ने जनताको अभिभावक सरकार हो। तर,केही सहयोग नपाएपछि सरकार भएको अनुभूति उनले पाउन छाडिसके।
भक्कानिँदै उनी भन्छन,‘नेपालमा सरकार छदै छैन,केपी ओलीको सरकार नै होइन, कमरेडलाई हामीले नै कति दुःख गरेर सत्तामा पठाएको थियौ, त्यो हामीलाई थाहा छ,तर उहाँले हामीलाई अहिले देख्नु भएन्,कुर्सीमात्र तानातान गरे।’
केही सहयोगी अभियन्ताहरुले पनि सहयोग नगरेको भन्दै आकाश दुखेसो पाेख्छन्। ‘मनकारीहरु नेपालमा छन, कार्यक्रम चलाएर भएपनि देशविदेशबाट पैसा उठाएर सहयोग गरिरहेका हुन्छन,’उनले भने,‘तर,हामी जस्ता मजदुरहरुलाई नदेख्दा दुःख लाग्छ।’
जनमुक्ति सेनापछि रिक्सा चालक
आकाश २०६२/०६३ ताका जनआन्दोलनका बेला जनमुक्ति सेना थिए। तर,त्यस बेलाको युद्धले सरकारी जागिर खाने मन उनलाई लागेन। सेना भएको पाँच वर्ष नबित्दै जागिर छोडे।
‘त्यस समयमा ज्यान कै धेरै जोखिम थियो, त्यसैले सरकारी जागिर नै छोडिदिए, जागिर छोडेपछि केही गर्न नसकेपछि रिक्सा चलाउने पेशा अंगाले।’ यति कुरा गर्दै गर्दा रित्तो रिक्सा साइकलमा घण्टी बजाउँदै आए अर्का सोमबहादुर तामाङ।
उनको अनुहार पनि उज्यालो थिएन। कारण उही थियाे हो यात्रु नपाउनु। लामो सास फेर्दै उनले भने,‘यात्रु नै पाइँदैन,खै अब कसरी परिवार पाल्ने हो,चिन्ता लागिरहेको छ।’ रसुवाका सोम बहादुर चारजना परिवारसहित अहिले क्षेत्रपाटीमा बस्दै आएका छन्।
निषेधाज्ञा अघि सम्म दिनकाे दुई हजार सम्म कमाउथे। ‘केही कमाई नभएपनि दिनको आठ सय त हाजिर बस्थ्यो,अहिले त कहिले सय डेढ सय हातले समाउन पाउँछ,कहिले त एक रुपैया पनि कमाई हुन्न,भोक लाग्छ,खानेकुरा किनाैँ भने पैसा छैन,त्यसैले अभियन्ताले कालीमाटीमा निःशुल्क खाना खुवाउँछन् त्यही जान्छु,कहिले भोकै बस्छु,’उनले भने।
निषेधाज्ञाले मजदुरहरु मारमा परेको भन्दै कमाउने वातावरण सरकारले मिलाउनुपर्ने उनको माग छ। भन्छन,‘मजदुरहरुलाई गाह्रो भयो, यसरी बन्द गरे त भोकै मर्नै भयो,अस्पताल जाउँ पैसा छैन,हामीलाई पेट भर्ने वातावरण मिलाइ देउ।’
प्रहरीले रिक्सा चलाउन नदिए पनि बाध्यताले लुकीछिपी चलाएकाे उनकाे भनाइ छ। उनी पहिले ट्रेडिङको काम गर्थे। ती काम छोडेर रिक्सा चलाए। उनले रिक्सा चलाएको २० वर्ष भैसक्यो। अब उनले यो पेशा छोड्ने निधो उनले गरेका छन।
भन्छन,‘कोरोना कहिलै नहट्ने रहेछ,रिक्साले मात्रै बालबच्चा पाल्न नसकिने रहेछ,सरकारले केही सहयोग गर्छ की भन्ने आशा थियो,त्यो पनि छैन, अब ट्रेकिङ नै गर्न पर्ला।’
यति भन्दै खुट्टाको पाइतालाले रिक्साको पाईदल घुमाउँदै घण्टी बजाएर काष्ठमण्डप तर्फ लागे। फेरी भोलि ६ बजे उठेर यसैगरी चक्कर लाउनु त उनलाई छँदैछ।
तस्विर : शिला तिम्सिना
तपाईंको ईमेल गोप्य राखिनेछ ।