|

जनकपुरधाम : प्रदेश २ सरकारले आगामी २०७८/०७९ का लागि विनियोजन गरेको विधेयक प्रदेशसभामा पेस गरेको छ। 

आज सोमबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले विनियोजन विधेयक २०७८ मा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र नीतिहरु प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरेका हुन्।

विधेयक पेस गर्दै मन्त्री यादवले कोभिड १९ को कारण अर्थतन्त्रमा परेका प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशील बनाउन चुनौती थपिएको बताए।

मुलुकको पन्ध्रौं आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनतासमक्ष गरिएका प्रतिवद्धतालाई पूरा गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट लक्षित हुने मन्त्री यादवले जनाए।

प्रादेशिक योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष ०७८-०७९ को बजेट आउने मन्त्री यादवको भनाइ छ।

प्रदेशसभाको छैठौँ बैठकमा जसपाका संसदीय दलका उपनेता रामआशीष यादव, एमालेका संसदीय दलका नेता सत्रुधन महतो र कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव र नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद यादव र सावित्री देवी साहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

यता, महन्थ पक्षका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल सहित ४ मन्त्रीलाई प्रदेश सरकारले बर्खास्त गरेपछि राजपाका सांसदहरूले मुख्यमन्त्री लालबाबु राउतले एकलौटी गरेको भन्दै प्रदेशसभा बैठकमा बहिष्कार गरे।

प्रदेशसभाको अर्को  बैठक जेठ २५ गते मंगलबार दिउसो १ बजे पुनः बस्ने गरी आजलाई स्थगित गरिएको जानकारी  सभामुख सरोजकुमार यादवले दिए। मंगलबार बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.