'ओलीमा अहंकार र जसपामा दक्षिणपन्थ‍ हाबी भयो'

|

काठमाडाैं : पछिल्लो समय नेपाली राजनीति निकै अस्थिर बन्न थालेको छ। नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भंग भयो। अहिले त्यसकै बाटोमा चाैथो ठूलो शक्ति जनता समाजवादी पार्टी (जसपा) छ। 

राजनीतिक दलको शीर्ष तह स्वार्थकेन्द्रित हुन थालेपछि बलियो बन्दै गएका दल स्खलित हुन थालेका छन्। फलस्वरुप दलहरू टुक्रा टुक्रामा फुट्ने खतरा बढ्दै गएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद् विघटन गरेपछि राजनीतिक दलभित्रको ध्रुवीकरण बढ्न थालेको हो। ओलीको कदमलाई असंवैधानिक भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायत सबै साना दल त्यसको विरोधमा खनिएका थिए। 

ओलीले भंग गरेको संसद सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरिदियो। त्यति मात्र नभई सर्वोच्चले नेकपालाई नै अवैधानिक करार गर्दै दल नै पुरानो स्वरुपमा फर्काइदियो। नेकपा स्पष्ट दुई वटा भयो।  

प्रधानमन्त्री ओलीको कदमविरुद्ध प्रतिपक्षीसँगै एमालेकै एउटा खेमा यसविरुद्ध लागिपरे। तर संसदमा कसैले पनि बहुमत जुटाउन सकेनन्। ओलीको विकल्प खोज्न सकेनन्। ओली सरकारले पुनः संसद भंग गरी निर्वाचनको मिति तय गरिसकेको अवस्था छ। जसले गर्दा नेपाली कांग्रेसबाहेक अन्य कतिपय साना पार्टीमा विभाजनको डर छ। सरकारमा जाने विषयले जसपा भने फुटि नै सकेको छ। 

कामचलाउ सरकारले निर्वाचनको मिति तोकेर तयारी अगाडि बढाउँदै गर्दा राजनीतिक दलहरू व्यक्तिगत स्वार्थ ‘बार्गेनिङ’ कारणले विभाजनमा विभक्त छन्। 

एमाले विवाद, मिल्नै मुस्किल  

ओलीले आफूहरूलाई बाइपास गरेर अघि बढ्न खोजेको निष्कर्षसहित एमालेका निष्कासित नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूह संघर्षरत छ। 

तर, आफ्नो सत्ता संकटलाई टार्न बारम्बार अस्त्र प्रयोग गरिरहेका ओलीले आइतबार राति पनि 'लचक' फेरि एउटा कार्ड फ्याँके। उनले ६ बुँदामा पार्टीको विवाद मिलाउन र माधव समूहको माग सम्बोधन गर्न आफूले २०७५ जेठ ३ गते अघिको अवस्थामा जाने उल्लेख गरे। तर, ओलीले जारी गरेको यो ६ बुँदे विज्ञप्तिमूलक पत्रमा माधव समूह विश्वस्त हुन भने सकेको छैन।  

ओलीको पत्रपछि आज (सोमबार) बसेको स्थायी कमिटीको बैठकले आफूहरूलाई अल्मल्याउन खोजिएको निष्कर्षसहित त्यसको जवाफ फर्काउने तयारी गरिरहेको छ।

ओलीको एकलौटी प्रवृत्तिकै कारण नेकपाको एकता भंग भएको र पार्टी एकतामा समेत संकट परेको माधव नेपाल समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन्। 

‘हामी कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने पक्षमा छौँ। तर, उहाँले एकपछि अर्को गर्दै असंवैधानिक कदम चालिराख्नुभएको छ’, भनिन्, ‘हामीलाई पार्टी एकतापछि ठूलो अपेक्षा गरेका थियौँ। त्यो उहाँकै कारणले सफल हुन सकेन। हामी चुप बस्ने अवस्थामा छैनौँ। उहाँको पत्रलाई विश्वास गर्ने ठाउँ छैन।’

ओली आफ्नो पक्षलाई अल्मल्याउने बाटोमा मात्रै केन्द्रित भएको आरोप लगाउँछिन् शाक्य। 

भन्छिन्, ‘पार्टीलाई एकजुट र बलियो बनाएर लैजान हामीले धेरै प्रयत्न गरेको हौँ। त्यो अझै जारी नै छ। देखिएको कमीकमजोरी सच्चाउनका हामी तयार नै छौँ। तर, उहाँले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने पक्षमा सहमत हुनुभएन। आफ्नो स्वार्थकेन्द्रित मात्रै हुनुभयो।’

पार्टी एकताका लागि ओलीले प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै आत्मालोचना गरेर माग पूरा गर्ने लिखित सहमति गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ। 

त्यसो त माधव समूहमा समेत नेताहरूबीच विमति सिर्जना भइरहेको छ। ओलीविरुद्ध पार्टीमा रहेर संघर्ष गर्नुपर्ने र ओलीको जालझेलमा पर्न नहुने विषयमा  नेपाल समूहमा विमति देखिएको हो। ओलीले एकपछि अर्को कदम चाल्दै जाने र माधव समूहले त्यसको विरोध गर्दै जाने प्रवृत्तिले एमालेको एकता अझै मुस्किल रहेको प्रस्ट देखिन्छ। 

ओली हाबी हुँदा जसपा पनि विभाजित 

प्रधानमन्त्री ओलीको कारणले गत वैशाखमा पार्टी एकता भएर बनेको मधेशकेन्द्रित दल जसपासमेत विभाजन भइसकेको छ। राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच गत वैशाख १० गते रातारात पार्टी एकता भएको थियो। 

तर, प्रधानमन्त्री ओलीको सत्ताको खेलले पार्टी एकता प्रक्रिया पूरा हुन नपाउँदै विभाजन भएको हो। जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओली सरकार बहिगर्मनको पक्षमा प्रयासरत थिए। 

तर, अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले काँध थापेपछि ओली सरकारले निरन्तरता पायो। एक समूहले अर्को समूहलाई कारबाही गर्दै महन्थ–राजेन्द्र समूह सरकारमा प्रवेश गरेपछि जसपा विभाजनले भयो। 

महन्थ–राजेन्द्र समूहले ओलीको सत्ता जोगाउन अदालतबाट जन्मकैदको फैसला पाएका सांसद रेशम चौधरी रिहा, संविधान संशोधन, नागरिकता विधेयक, मधेश तथा थरुहट आन्दोलनको मुद्दा फिर्तालगायत माग राखेको थियो। तर, ओली जसपाको माग सम्बोधन गर्दै गएपछि सरकारमा सामेल भयो।

राप्रपामा पनि चुलियो असन्तुष्टि

तीन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा पनि उसन्तुष्टि चुलिँदै गइरहेको छ। राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीभित्रको विवाद बाहिर ल्याएका छन्। 

तीन अध्यक्ष रहेको बेलामा दुई वा दुईभन्दा बढी घोडाले तानेको रथ त‍ीव्र गतिमा कुद्न नसक्ने बताएका छन्। अर्का दुई अध्यक्षद्वय पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई 'अल्छी घोडा'को संज्ञा दिँदै बीचमा रहेको आफू च्यापिएर थला पर्न बेर नभएको बताएका छन्। 

उनले ट्विटरमा लेखेका छन्, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तिव्र गति लिन सक्दैन। यो नैसर्गिक सत्य हो। यो सत्य नबुझेको होइन। तर, तिव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ला भन्ने आशा थियो। गतिहीन नै होला भन्ने सोचिएन। दुई अल्छी घोडाको बिचमा च्यापिएको तिव्रगतिको घोडाको हालत के होला? च्यापिएर थला पर्न बेर छैन।’

नयाँ शक्तिको रुपमा उदय भएको दाबी गर्दै अध्यक्ष थापाले नेतृत्व गरेको राप्रपा र अर्का अध्यक्षद्वय राणा र लोहनीले नेतृत्व गरेको राप्रपा संयुक्तबीच २०७६ फागुनमा पार्टी एकता भएको थियो। पार्टीभित्र निरन्तर विवाद रहिरहेको बेलामा अध्यक्ष थापाको असन्तुष्टिले पार्टी एक नरहने आकलन गर्न थालिएको छ। 

ओलीको अहंकार नै समस्या 

ओली अहंकारकै कारणले नेकपाको एकता त भंग भयो। साथै एमाले अब विभाजनको बिन्दुमा पुगेको राजनीतिक विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

उनी भन्छन्, ‘राजनीतिक दलमा विवाद देखिनु स्वाभाविक हुन्छ। विवादले नै राजनीति दल अगाडि बढ्ने हो। विचार र अन्य विवाद पनि हुन्छन्। एमाले विवाद अस्वाभाविक हो।’

‘साविक नेकपा र एमालेको विवाद सिद्धान्त र विचारको नभएको उनको भनाइ छ।

सहमति पालना, जिम्मेवारी र पदहरू न्यायपूर्ण रुपमा भएको भए नेकपा फुट्ने थिएन। अहिले एमालेमा यस्तो अवस्था आउँदैन्थ्यो’, उनले भने, ‘सहमति पालना नगरेको कारणले पार्टी फुट्यो। त्यसमा ओलीको अहंकार नै समस्या भइरह्यो।’ ओलीले अहंकार त्यागेर न्यायोचित ढंगले जिम्मेवारी बाँडफाँट गरेको अहिलेको परिस्थिति सिर्जना नहुने उनी तर्क गर्छन्। 

‘जिम्मेवारी बाँडफाँटमा मिलेको भए माओवादी फुटेर जाने थिएन। त्यस्तै अहिले एमालेमा पनि सबैलाई मिलाएर पद दिएको भए यो परिस्थिति आउने थिएन। धेरै ठूलो विषय नै थिएन,’ उनले भने।

‘जसपाको खेल दक्षिणपन्थी’

जसपाको विवाद नेपालभन्दा बाहिरको भएको विश्लेषक श्रेष्ठ बताउँछन्।  भन्छन्, ‘जसपाभित्रको विवाद छुट्टै हो। नेपालबाट भन्दा बाहिरबाट भएको जस्तो मलाई लाग्छ। दक्षिण छिमेकीको काम भएजस्तो लाग्छ।’

नेपालको सिस्टमलाई तहसनहस बनाउन दक्षिणपन्थीले जसपालाई प्रयोग गरेको उनको दाबी छ। ‘ओलीकै अध्यादेशले पार्टी बनेको थियो। संसद् विघटनको कारणले अहिले विभाजन भयो’, उनले भने। 

नेपालमा अहिलको परिस्थितिमा संसद् विघटन गर्नुपर्ने कुनै कारण नै नभएको उनको भनाइ छ। भने, ‘सद्दे मान्छे हुन्थ्यो भने आफ्नो दुई तिहाईको शक्ति भएको बेलामा कसैले पनि संसद् विघटन गर्दैन। त्यो सरासर पागलपन हो।’ 

तर, राप्रपाभित्रको विवादलाई स्वाभाविक रुपमा लिन्छन् उनी। भन्छन्, ‘पहिला पनि भइरहेको हुन्थ्यो। इगोको विवाद हो। साधारण कुरालाई समाधान नगरेर फट्नुलाई नै अस्वाभाविक विवाद भनिन्छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.