|

काठमाडौं : विदेशी लगानीकर्ताले विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन अब अनिवार्य रुपमा नेपाल राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु नपर्ने भएको छ। 

नेपाल राष्ट्र बैंकको विदेशी विनियम व्यवस्थापन विभागले आज जारी गरेको ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा यस्तो व्यवस्था गरिएको छ। तर, विदेशी लगानी स्वीकृत भएपश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनुपूर्व लिखित जानकारी भने राष्ट्र बैंकलाई गराउनुपर्ने छ।

नेपाल भित्रिएको विदेशी लगानीबापतको रकम बैंक तथा वित्तीय संस्थाले कागजातहरूको एकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ।

यसैगरी शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ। सोकाेलागि विदेशी लगानी हुने उद्योग÷कम्पनी वा विदेशी लगानीकर्ताले आवश्यक कागजातका साथ निवदेन पेस गर्नुपर्नेछ। 

यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले एकिन गरी सम्बन्धित उद्योग कम्पनीको खातामा जम्मा गर्नेछ।

विदेशी मुद्रा नेपाल भित्रिएपश्चात सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणपत्र जारी गर्नुपर्नेछ। यसैगरी प्रचलित कानुनले छुट दिएकोमा बाहेक नेपाली व्यक्ति, फर्म, कम्पनी, बैंक तथा वित्तीय संस्था तथा अन्य संगठित संस्थाले नेपालबाहिरबाट भारतीय रुपैयाँ वा परिवत्र्य विदेशी मुद्रामा ऋण लिनुपरेमा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्नेछ।

त्यसका लागि आवश्यक कागजातसहित विभागमा निवेदन पेस गर्नुपर्नेछ। यसरी आवश्यक सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएको मितिले १५ कार्य दिनभित्र सोसम्बन्धी निर्णय गरी राष्ट्र बैंकले निवेदकलाई लिखित जानकारी दिनेछ।

यसैगरी नेपाल भित्रिएको विदेशी ऋणलाई लेखांकन गराउन ऋणीले आवश्यक कागजातहरू संलग्न गरी विदेशी मुद्रा भित्रिएको ६ महिनाभित्र विभागमा निवेदन पेस गर्नुपर्नेछ।

यो विनियमावली लागू हुनुपूर्व भित्रिएको तर लेखांकन भइनसकेको विदेशी ऋणबापतको रकमको लेखांकनका लागि समेत यो विनियमावली लागू भएको मितिबाट बढीमा एक वर्षभित्र आवश्यक कागजातसहित विभागमा निवेदन पेस गर्नुपर्नेछ। आवश्यक सम्पूर्ण कागजातसहित निवेदन प्राप्त भएको मितिले सात कार्य दिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी लेखांकनको प्रमाणपत्र उपलब्ध गराउनेछ।

यस्ताे छ ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.