दुवै समूहमा उत्तिकै विमति

|

काठमाडौं : नेकपा एमाले अनौपचारिक रुपमा विभाजन भइसकेको छ। दुवै पक्षका दोस्रो तहका नेताहरूले अझै एकताको प्रयास जारी राखिरहेका छन्। तर, सम्भावना अझै पातलिँदै गइरहेको छ। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेको आरोपसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले संघर्ष गरिरह्यो। 

तर, ओलीले पार्टीविपरीत चलेको भन्दै ११ जनालाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिदिए। अझै १२ जनालाई स्पष्टीकरण सोधिएको भए पनि त्यसमा अघि बढ्न सकेका छैनन्।

पार्टीभित्र शक्ति संघर्षको क्रममा न ओली पछि हटे न खनाल–नेपाल नै। दुवै समूहले एकले अर्को पक्षलाई कारबाही गर्दै तल्लो तहसम्म संगठन विस्तार गरिसकेको छ। 

कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री जोगाएदेखि आक्रमक रुपमा प्रस्तुत भएको खनाल–नेपाल समूह ओलीलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मान्न तयार भयो। तर, ओलीले पनि एकपछि अर्को गर्दै विपक्षी गठबन्धनलाई दबाएर संसद् विघटन गरे। 

कर्णालीबाट सुरु भएको माधव समूहको विद्रोह सुदुरपश्चिम प्रदेशमा पनि देखियो। माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएर ओली पक्षको अविश्वासको प्रस्तावलाई असफल बनाइदिए।  

त्यसो त नेपाल समूह कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा (उपेन्द्र–बाबुराम) समूह र राष्ट्रिय जनमोर्चासँग मिलेर ओली बहिर्गमनको प्रयासरत छन्। ओलीले गरेको संसद् पुनःस्थापना हुनेमा ढुक्क रहेको विपक्षी गठबन्धन आगामी निर्वाचनसम्म सहकार्य गरेर जानेसम्मको रणनीति बनाइरहेको छ। 

सत्ता संकट टार्न जस्तोसुकै कदम चाल्ने तत्पर रहने ओली पछिल्लो समय केही लचक देखिएका छन्। खनाल–नेपाल समूहले राख्दै आएको मागलाई सम्बोधन गरेर पार्टी एकता गर्नका लागि आइतबार एक विज्ञप्ति जारी गरे। 

ओलीको विज्ञप्तिप्रति विपक्षी आश्वस्त भएनन्। ओलीको पत्रको लिखित रुपमा जवाफ नै फर्काए। ओली लचक भएर पार्टी एकता जोगाउन खोजेको जस्तै तल्लो तहसम्म भ्रम मात्रै पार्न खोजेको नेपाल समूहको निष्कर्ष छ। 

तर, पार्टी एकताका लागि आफूहरूले सक्दो पहल गरिरहेको संसदीय दलको उपनेता सुवास नेम्वाङ बताउँछन्। 

‘उहाँ (ओली) ले पनि पार्टी एकताको लागि सक्दो पहल गरिसक्नुभएको छ। उहाँहरू (नेपाल समूह)को हिजोको पत्रले पार्टी एकताको पक्षमा नरहेको देखाउँछ’ उनले भने, ‘तर, हामी मिल्नुपर्छ, मिलाउनुपर्छ भनेर लागिरहेका छौँ।’ 

विधि र पद्धतिका कुरा

पार्टीलाई विधि र पद्धति अनुसार सञ्चालन गर्नुपर्नेमा कटिबद्ध छन् माधव नेपाल समूह। प्रधानमन्त्री ओलीले विधि र पद्धतिअनुसार नभएर एकलौटी चल्न थालेपछि पार्टीभित्र समस्या भएको नेता भीम रावल बताउँछन्। भन्छन्, ‘हामीले पार्टीलाई विधि र पद्धतिअनुसार चलाउनुपर्छ भनेको हौँ। तर, उहाँले हाम्रो कुरालाई कहिल्यै सुन्नुभएन। संविधान र लोकतन्त्रमाथि नै समस्या थप्दै जानुभयो।’ 

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको हुनाले आत्मलोचना गर्नुपर्ने उनको भनाई छ। 

‘उहाँको विज्ञप्तिपछि हामीले बैठक बसेर आफ्नो धारणा सार्वजनिक गरिसकेका छौँ। हामी पनि पार्टी एकताकै पक्षमा छौँ’, उनले भने, ‘तर उहाँले पार्टी र देश हितविपरीत  गतिविधि त्यागेर आत्मलोचना गर्नुपर्छ।’

नेता नेपालले आफूहरूले विधि र पद्धति कुरा गरेको भए पनि राजनीतिक विश्लेषक श्याम श्रेष्ठ त्यस्तो देख्दैनन्। 

‘एमालेमा देखिएको विवाद विधि, पद्धति, सिद्धान्त र विचारको होइन। सहमति कार्यान्वयन, पार्टीमा न्यायपूर्ण ढंगले  पदहरू बाँडफाँट भएको अवस्थामा सहजै मिल्छन्’, उनले भने, ‘सबैललाई पद मिलाएर दिएको भए विवाद आउने नै थिएन।’ 

दुवै समूहमा फरक मत 

पार्टीभित्रको विवाद चुलिँदै गर्दा अब कसरी अघि बढ्ने? भन्ने विषयमा दुवै समूहमा विमति देखिएको छ। 

पार्टीलाई २०७५ जेठ २ मै फर्काउन ओली तयार हुँदासमेत माधव समूह एकताका लागि तयार नभएकाले अब जेठ २ को रटानको अध्याय सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। 

उनले अध्यक्षको वक्तव्यलाई मानेर आउनेलाई स्वागत गर्दै असम्भव प्रयास गर्न छाड्नुपर्ने तर्क गरेका छन्। 

‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधवकुमार नेपाल शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरु एकता होला’ उनले ट्विटरमा लेखेका छन्, ‘ल्याङल्याङ अति भयो। अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौँ। असम्भव कोसिस छोडौँ।’

संस्थापन पक्षमा पनि माधव नेपालसँग एकता गर्नुभन्दा अलग भएर अघि बढ्नुपर्ने केही नेताहरू देखिएका छन्। महासचिव ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, महेश बस्नेत, सूर्य थापालगायत नेताहरू आक्रमक रुपमा प्रस्तुत भइरहेको छन् भने सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत नेता एकता अझै जोगाएरै अघि बढ्नुपर्नेमा जोड दिइरहेका छन्। 

यस्तै, नेता नेपाल समूहमा पनि ओलीसँग मिल्नुपर्ने र नयाँ दल दर्ता गरेर अघि बढ्नुपर्ने भन्ने विषयमा विवाद सुरु भएको छ। सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई र घनश्याम भूसाललगायत नेता पार्टीभित्रको विवाद मिलाउने दौडमा लागिरहेका छन्। 

तर, नेता नेपालसहित भीम रावल, भीम आचार्य, अष्टलक्ष्मी शाक्यलगायत नेताहरू नयाँ दल दर्ता गर्न ढिलाइ गर्नु नहुने पक्षमा उभिएका छन्। नेपाल समूहका केन्द्रीय कमिटीको बैठकमा राजेन्द्र राईसहित ४ केन्द्रीय सदस्यले ओलीसँग अब कुनै हालतमा मिल्न नहुने भन्दै पत्र समेत पेस गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.