भन्छन् : आफ्नालाई छानीछानी सुरुमा दिँदा रहेछन्

|

दाङ : चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप दाङमा पनि  मंगलबारदेखि लगाइएको छ।

तर तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा खोप लगाउन आएका ज्येष्ठ नागरिक भने खोप लगाएर कोरोना संक्रमण रोक्नुभन्दा पनि संक्रमण अझ हुने भन्दै त्रसित देखिन्थे। 

तुलसीपुर उपमहानगरपालिका ६ का शिव श्रेष्ठले अस्पतालमा खोप लगाउन व्यवस्था राम्रो नभएको बताए। बिहान १० बजेदेखि आएर पालो कुरेर बसिरहेको भन्दै आआफ्ना मान्छेलाई घुसाएर खोप लगाउने गरेको उनले आरोप लगाए।

‘हामी बुढाबुढी बिहान सवा १० बजे आएर पालो कुरेर बसेका छौँ,’ उनले भने,‘आफ्ना मान्छेलाई पहिला खोप दिइन्छ। बाहिर खोप लगाउनेको भीडभाड यस्तो छ। खोप लगाएर कोरोना रोक्नुभन्दा पनि संक्रमण होला भन्ने डर छ।’

त्यस्तै तुलसीपुर ५ का नवराज भण्डारीले पनि अस्पतालमा व्यवस्थापनको कमी भएको गुनासो गरे। उनले बुबालाई खोप लगाउन ल्याएको भन्दै २/३ घण्टा लाइनमा बस्दासमेत पालो नआएको गुनासो गरे। भने,‘ यस्तो कोरोना महामारीको समय छ। यहाँ कुनै व्यवस्थापन छैन। खोप लगाउन वृद्धवृद्धा धेरै आउनुभएको छ। कम्तीमा महिला पुरुषको सामाजिक दूरी कायम गराएर लाइनको व्यवस्थापन गर्नु पर्ने हो। तर, यहाँ त्यस्तो केही  देखिएन।’

तुलसीपुर ९ का लक्ष्मण धिताल पनि बिहान ७ बजे खोप लगाउन आएका थिए। उनले १२ बजेसम्म लाइनमै बसिरहेको बताए। भने, ‘अस्पतालमा खोप लगाउन कुनै पनि व्यवस्थापन भएको छैन। आफ्ना मान्छेलाई मात्र पहिला लगाइन्छ। भीडभाड धेरै छ। अब कोरोना सर्छ कि जस्तो डर लागेको छ।’

तुलसीपुर ५ का तुलसीराम न्यौपानेको पनि यस्तै गुनासो छ। अस्पतालमा राम्रो व्यवस्थापन नभएको उनले पनि गुनासो गरे। अस्पतालमा राम्रो व्यवस्थापन नभएको र मान्छेले पनि गल्ती गरिरहेका उनले बताए।

‘हामी सबैलाई कोरोनाको डर छ। तर, हामी आफूले पनि सोच्नुपर्छ,’ न्याैपानेले भने, ‘भीडभाड नगरौँ। तर, यहाँ कसैले त्यसतर्फ ध्यान दिएको देखिँदैन। जसरी भए पनि अगाडि सुई लगाउने भन्दै भीडभाड गरे। साथै खोप नपाइने हो कि भन्ने चिन्ताले पनि यस्तो भीडभाड भएको हुन सक्छ।’ यसरी राप्ती प्रादेशिक अस्पतालमा खोप केन्द्र बनाउनुभन्दा प्रत्येक वडाहरूमा बनाए सहज हुने न्याैपानेले सुझाव पनि दिए। 

१० स्थानीय तहमा पहिलो चरणको खोप

जिल्लाका १० स्थानीय तहमा पहिलो चरणमा ६२ देखि ६४ वर्ष उमेरका ८ हजार ४१० जनालाई खोप लगाइने स्वास्थ्य कार्यालय दाङले जनाएको छ। तुलसीपुरमा मात्र २२ सय जनालाई खोप लगाइने तुलसीपुर उपमहानगरपालिकाका कोभीड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए।

उपमहानगरले १९ वटै वडाका स्वास्थ्य केन्द्रहरूमा खोप लगाउन व्यवस्था गरेको भए पनि तुलसीपुर ५ र ६ वडाका नागरिकलाई प्रादेशिक अस्पतालमा खोप केन्द्र बनाइएको उनले जानकारी दिए।

त्यस्तै उनले अस्पतालमा २ वटा वडाका मात्र नभई अन्य वडाका पनि लगाउन आउने भएकाले भीडभाड भएको बताए। भने, ‘हामीले बजार क्षेत्रका २ वडाका करिब ४ सयभन्दा बढीलाई खोप लगाउने योजना गरेका छौँ। भोलिदेखि त्यहाँ खोप लगाउन आउनेहरूलाई व्यवस्थित गरिने छ।’

भारतबाट ल्याएको पहिलो चरणको खोप लगाउने बेला नागरिकहरूमा डर त्रास भए अहिले धेरै उत्साह बढेको वडा नं ९ मा रहेको दोघरे स्वास्थ्य केन्द्रका प्रमुख ईश्वरीप्रसाद चालिसेले बताए।

आफ्नो वडामा आफूहरूले ७५ जनाको 'टार्गेट' बनाएको भए पछि अन्य वडाबाट पनि मान्छे आएपछि एक सय जनालाई खोप लगाएको उनले बताए। दोस्रो चरणको कोरोना महामारीले गर्दा नागरिकहरूमा कोरोनाविरुद्ध खोप लगाउनुपर्छ भन्ने चेतना पलाएको उनको भनाइ छ।

गत माघ /फागुनमा खोप लगाउन नागरिकहरूलाई बोलाई बोलाई लगाउनुपर्ने बाध्यता भए पनि यस पटक आफैं आएका समेत उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.