|

काठमाडौं :  युरोकप अघिको अन्तिम मैत्रिपुर्ण खेलमा स्पेनले जित निकालेको छ। स्पेन कप्तान सर्जिओ बुस्क्वेट्सलाई कोरोना पोजेटिभ देखिएपछि अन्तिम मैत्रिपूर्ण खेलमा युवा टीमलाई उतार्न बाध्य भएको थियो।

यद्यपी सिनियर टिम युरोकप फुटबल अघिको अन्तिम मैत्रीपूर्ण खेलमा सहभागी नभए पनि २१ वर्षमुनिको स्पेनिस युवा टिमले लिथुवानियालाई ४-० ले पराजित गर्‍यो। 

मंगलबार राति भएको खेलमा लिथुवानियालाई पराजित गर्दा स्पेनिस युवा टीम गुइलामोनले, डियाजले, मिरान्डाले र पुएडोले गोल गरे। युरोकपको समूह इ मा रहेको स्पेनले १४ जुनमा स्वीडेनसँग प्रतिस्पर्धा गर्ने छ।

फ्रान्सको सहज जित 

युरोकप दाबेदार तथा विश्व विजेता फ्रान्सले प्रतियोगिता अघिको अन्तिम मैत्रिपुर्ण खेलमा बुल्गेरियामाथि ३-० को सहज जित हासिल गरेको छ। फ्रान्सको सहज जितमा सब्सटिच्युट ओलिभर जिरउडले दुई गोल गर्दा एन्टोनि ग्रिजम्यानको नाममा एक गोल रह्यो।

२९ औँ मिनेटमा ग्रिजम्यानको गोल मार्फत फ्रान्सले सुरुवाति अग्रता लिएको थियो। बाँकी दुई गोल भने उसले अन्तिम समयमा सम्भव बनायो। जिरउडले ८३ र ९० औँ मिनेटमा टिमका लागि थप दुई गोल गरेपछि फ्रान्सले आफ्नो युरोकपमा बलियो दाबेदारी रहने सन्देश दिएको छ।  युरोकपको समूह एफमा रहेको फ्रान्सले १५ जुनमा अर्को बलियो प्रतिद्वन्द्वी जर्मनीको सामना गर्ने छ।

युरोकपकै तयारीमा रहेको पोल्यान्डले आइसल्यान्डविरुद्ध बराबरी खेल्यो। मंगलबार भएको खेलमा पोल्यान्ड बराबरीमा रोकिन पुग्यो। अलबर्ट गुडमुन्डसनले २४औ मिनेटमा गोल गर्दै आइसल्याडनलाई अग्रता दिलाएका थिए। तर जिलिंक्सीले ३४ औ मिनेटमा बराबरी गोल फर्काए।

आइसल्यान्डलाई बजरसनले ४७ औ मिनेटमा पुन अग्रता दिलाए।  २-१ ले पछि रहेको पोल्यान्ड निर्धारित समयको दुई मिनेट अघि ८८औ मिनेटमा स्विडेर्सकीको गोलमार्फत बराबरी गर्न सफल भयो। युरोकपमा पोल्यान्डले स्लोभाकिया विरुद्ध सोमबार आफ्नो पहिलो खेल खेल्ने छ।

मंगलबारनै भएका अन्य खेलमा चेक गणतन्त्रले अल्बानियालाई ३-१, गुएनाले कोसोभोलाई २-१, मोरक्कोले घानाले १-० तथा सेनेगलले केप भेर्डीलाई २-० ले पराजित गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.