|

झापा : झापामा निषेधाज्ञा उल्लंघनलाई प्रहरीले जरिवानासहित कानुनी कारबाही थालेको छ।

निषेधाज्ञा उल्लंघन नगर्न प्रहरीले पटक पटक सचेत गराउँदै आए पनि अटेर गर्न थालेकाले प्रहरी कार्यालय झापाको निर्देशनबमोजिम जिल्लाभरिका प्रहरी कार्यालयहरूले जरिवानासहित कानुनी कारबाही सुरु गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीले दुई दिनको अवधिमा कारबाहीस्वरूप बस र होटेल गरी ३० हजार जरिवाना तिराएको छ। अर्जुनधारा नगरपालिका ११ स्थित बुट्टाबारीमा सञ्चालित सुक्रात होटेल तथा लजका सञ्चालक मोहन कुमार प्रसाईंलाई प्रहरीले बुधबार २५ हजार जरिवाना तिराएको डिएसपी थापाले जानकारी दिए।

निषेधाज्ञा उल्लंघन गर्दै होटेल सञ्चालन गरेपछि इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले होटेल सञ्चालक प्रसाईंलाई नियन्त्रणमा लिएको थियो। उनलाई कोभिड १९ संकट व्यवस्था सम्बन्धमा बनेको अध्यादेशबमोजिम प्रशासन कार्यालय झापामा उपस्थित गराई २५ हजार जरिवाना तिराइएको उनको भनाइ छ। त्यस्तै प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने एक यात्रुवाहक बसलाई ५ हजार जरिवाना तिराएको छ।

मंगलबार बेलुका साढे ६ बजे बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना४ख ५१५२ नम्बरको यात्रुबाहक बसलाई दमक नगरपालिका-४ स्थित राजमार्गमा अस्थायी प्रहरी पोस्ट ताराबारीले चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा जबरजस्ती भगाएको थियो। त्यसपछि उक्त बसलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकी चेकजाँच गर्दा बिनापास २३ जना यात्रु चढाई ल्याएको खुलेको थियो।

बस चालकलाई प्रशासन कार्यालय झापामा पाँच हजार रुपैयाँ जरिबाना गरी छोडेको डिएसपी थापाले बताए। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा प्रशासन कार्यालय झापाले वैशाख १९ गतेदेखि निषेधाज्ञा लगाएको हो। 'जेठ ३१ गतेसम्म लगाइएको निषेधाज्ञा उल्लंघन गर्ने बढिरहेको पाइएकोले प्रहरीले अब कारबाही सुरु गरेको हो,' डिएसपी थापाले भने, 'कोभिड १९ संकट व्यवस्था सम्बन्धमा बनेको अध्यादेशबमोजिम प्रहरीले १ सयदेखि ५ लाखसम्म जरिवाना गराउने कानुन छ,' अब त्यही कानुन टेरेर कारबाही सुरु गरेका छौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.