|

तनहुँ : व्यास नगरपालिका–११ पोल्याङ बसन्त टोलका एक अपाङता भएका परिवारको बिचल्ली भएको छ।

४० वर्षीया सुकमाया आलेले मेलापात गरेर परिवार धान्दै आए पनि अहिले उनी प्यारालाइसिस भएपछि परिवारमा समस्या भएको छ। मेलापात गरेर अपांगता भएका श्रीमान् र दुई साना छोरी पाल्दै आएकी थिइन्। हाल उनी आफैं प्यारालाइसिस भएपछि उनको परिवारको जिविकोपार्जनका लागि समस्या थपिएको छ। 

आर्थिक अवस्था कमजोर भएकी सुकमाया आफैं प्यारालाइसिसको रोगी हुन पुगिन्। आफैं हिँड्डुल गर्न नसक्ने भएपछि उनका ५ र १२ वर्षीया दुई छोरीले पेटभरि खानसमेत पाएका छैनन्।

जेठ ३ गते अचानक बेहोस भई ढलेपछि उनीमा प्यारालाइसिस भएको चिकित्सकले बताएको उनका श्रीमान् टोलबहादुर आलेले बताए। त्यसयता उनको शरीरको कुनै पनि अंग नचल्ने भएको छ। सुकमाया परिवार भूमिहीन सुकुमबासी हुन्।

सुकमायाको परिवार सोही ठाउँ निवासी कमला कैनीको घरमा भाडामा बस्दै आएका छन्। मेलापात गरेर परिवार पाल्दै आएकी सुकमाया थलिएपछि परिवार नै छिमेकीको सहयोगमा जीविकोपार्जन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।

‘उपचार गर्ने रकमको कुरै छोडौं, आर्थिक अवस्था कमजोर भएकोले साना दुई छोरीहरुले पेटभरि खानसमेत पाएका छैनन्,’ नेपाल रेडक्रस सोसाइटी बेलटारी उपशाखाका सभापति भरतराज नहर्कीले भने।  

प्यारालाइसिस भएकाले नियमित रुपमा थेरापीलगायत उपचार गर्न सके सुकमायालाई निको उनी निको हुने भए पनि आर्थिक अभावले त्यसो हुन सकेको छैन।

उनको उपचारका लागि १० लाख रुपैयाँ लाग्ने भएपछि उपचार नगरी फर्काइएको सुकमायाका श्रीमान् टोलबहादुरले बताए। ‘साथमा १० रुपैयाँ छैन, कहाँबाट १० लाख रुपैयाँ ल्याउने? हामीजस्ता गरिबलाई तिर्न नसक्ने भएकोले कसैले ऋण पनि दिँदैनन्, त्यही भएर उपचार नगरी घरमै ल्याएँ,’ टोलबहादुरले आँशु झार्दै भने।

‘आफूले पनि केही काम गर्न सक्ने अवस्था छैन, झन सुकमायाको उपचार गर्न सक्ने अवस्था के हुनु र? कसैको सहयोगबाट उनको उपचार गर्न सके परिवारलाई सजिलो हुने थियो, सबैसँग सहयोगको अपेक्षा गरेको छु,’ आलेले भने। काम गरेर पाल्ने मान्छे नै थला परेपछि हातमुख जोर्ने, जोहो गर्ने र उपचार खर्च जुटाउने कोही नहुँदा परिवार आँशुमा डुबेको छिमेकीहरु बताउँछन्।

‘एक आना जमिन पनि छैन। त्यसमाथि पाल्ने मान्छे नै अपांग भएपछि परिवारको बिचल्ली भएको र सहयोग गर्ने मानिस भए हाम्रो लागि भगवान् नै प्रकट भएझैं हुनेथियो,’ आलेले भने।

पैसा नहुँदा अस्पतालमा भर्ना गर्नसमेत नसकेकोले देशविदेशमा रहेका सबैसँग सहयोगको लागि परिवारले अपिल गरेका छन्। उपचारको लागि मद्दत गर्न वडा कार्यालयले नगर प्रमुखलाई सिफारिस गरिसकेको वडाध्यक्ष निरबहादुर खड्काले बताए।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.