|

बैतडी : दक्ष जनशक्तिको अभावका कारण ७ महिनादेखि बैतडी अस्पतालमा प्रयोगविहीन २ बेडको आइसियूसहितको भेन्टिलेटर कक्ष सञ्चालनमा आएको छ।

गत मंसिरमा कोरोनाका जटिल बिरामीको  जिल्लामा उपचारका लागि सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको थियो। भेन्टिलेटर उपलब्ध गराएको भएपनि जनशक्ति नहुँदा हालसम्म सञ्चालनमा आउन सकेको थिएन। 

हाल अस्पतालमै भएको जनशक्तिले भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए। प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जडान गरिएको उक्त भेन्टिलेटर मेसिन गत वैशाखमा जनशक्ति अभाव रहेको भन्दै फिर्तासमेत मागेको थियो।

सुदूरपश्चिम प्रदेश सरकारले दश जनशक्ति पठाउनुको सट्टा भेन्टिलेटर मेसिन नै फिर्ता मागेको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो।  तर नेपाली कांग्रेस र जनस्तरबाटै मेसिन फिर्ता मागेकोप्रति विरोध भएपछि फिर्ता हुन रोकिएको थियो।

दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन भएका भेन्टिलेटर बेड प्रदेश सरकारले फिर्ता लग्ने भनेपछि भएकै जनशक्तिबाट भेन्टिलेटर कक्ष सञ्चालनमा ल्याइएको डाक्टर जोशीले बताए। उनले भने, ‘आइसियुसहितको भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति अभाव अझै पनि छ तर हामीले भएकै जनशक्ति व्यवस्थापन गरेर सञ्चालन गरेका छौं।’

भेन्टिलेटर कक्षका लागि केही नर्सिङ स्टाफहरु थप्ने तयारी समेत भएको अस्पतालले जनाएको छ। भेन्टिलेटर कक्ष सञ्चालनमा आएपछि कोरोनाका जटिल खालका बिरामीको उपचारमा सहजता आएको डाक्टर जोशीले बताए।

उनले भने,‘कक्ष सञ्चालनमा आएपछि जटिल बिरामीको उपचारमा सहज भएको छ, अहिले कोरोनाका गम्भीर बिरामीहरुलाई जिल्लामै भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको छ।’

उनले थपे, ‘अहिले पनि एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, यसअघि जटिल बिरामीलाई रेफर गर्ने गरेका थियौं।’

अक्सिजन प्लान्ट स्थापनाको  प्रक्रिया सुरु  

यसैबीच जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि प्रक्रिया थालिएको छ।  संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएपछि प्लान्ट स्थापनाको प्रक्रिया थालिएको हो। 

असारभित्र प्लान्ट निर्माण सम्पन्न हुने गरि प्रक्रिया अघि बढाइएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले जानकारी दिए। प्लान्ट स्थापनाका लागि बोलपत्र आह्वान गरिसकिएको र त्यसका लागि जेठ २८ गतेसम्मको म्याद राखिएको छ। उनले भने,‘अस्पतालमा अक्सिजन प्लान्ट खरीद गरी जडानका लागि बोलपत्र आह्वान गरेका हौं,असारमा प्लान्ट स्थापना भइसक्छ।’  

कोरोना महामारीको दोस्रो लहर फैलिएपछि जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट बिनियोजन गरेको थियो। 

प्रदेश र संघ सरकारले बिनियोजन गरेको बजेटलाई एउटैमा मिलाएर प्लान्ट स्थापनाको तयारीको भएको अस्पतालले जनाएको छ।  प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणधिन ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने प्रमुख डाक्टर जोशीको भनाइ छ।

जिल्ला अस्पताल बैतडीमा ४६ वटा अक्सिजन सिलिण्डर छन् भने १८ वटा अक्सिजन कन्सन्ट्रेटर छन्। बैतडीमा कोरोना संक्रमणकै कारण हालसम्म १६ जनाको ज्यान गइसकेको छ। 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जेठ ३१ सम्म निषेधाज्ञा जारी गरिएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.