देशको शैक्षिक स्तरसँग त्यहाँको समाज जोडिएको हुन्छ। समाजको स्तरसँग राजनीति जोडिन्छ। राजनीतिक चेतनास्तर पनि शिक्षासँगै विकसित हुनुपर्छ। अथवा यसरी भनौँ - शिक्षाले राजनीतिक चेतना पनि बढाउने ल्याकत राख्न सक्नुपर्छ। तर, नेपालको शिक्षा प्रणाली र राजनीति, पुरातन परम्परागत ढूङ्गेयुगीन सोचबाट आज पनि उम्कन नसकेको आभास भएको छ।
२१ औँ शताब्दीको युगमा पनि नेताहरूले नागरिकलाई सजिलै भ्रममा पारिरहेका छन्। १८ औँ शताब्दीमा यो नेताले यो भनेका थिए भनेर नागरिकलाई दर्शन र सिद्धान्तको अपूरो ठेली ठेलिरहेका छन्। आँशु, पसिना र रगतमा समेत राजनीति गरेर नेपाली समाजलाई विभाजित गरेर आफ्नो दुनो सोझाउँदै छन्।
फलस्वरूप, नेपाली राजनीतिलाई सरसर्ती हेर्ने हो आज लाखौँ युवाहरूले जानेर नजानेर आफ्नो खुट्टामा बन्चरो हानेका छन्। राजनीतिकै कारण आज लाखौँ युवा विदेश पलायन हुन बाध्य छन् भने लाखौँ युवा मुक्तिका नाममा, विकासका नाममा राजनीतिमा होमिएका छन्। एक अध्ययनले आजको दिनमा ४० वर्ष मुनिका करिब १५ लाख युवाहरू राजनीतिमा लागेको देखाउँछ। ती राजनीतिमा होमिएका लाखौँ युवालाई हेर्ने हो भने पनि केही प्रतिशतसँग मात्र विवेक र आलोचनात्मक चेत होला। यसरी सही शिक्षा अभावमा राजनीतिक चेत जाग्न सकेको छैन। र, चेत नभएकै कारण राजनीति सप्रन सकेको छैन।
राजनीतिक चेतनाकै अभावमा हामीले लोकतन्त्रलाई समेत स्थापना भएको सात दशकसम्म संस्थागत गर्न सकेका छैनौँ। नेपाली राजनीतिमा लागेका अधिकांश नागरिकमा न्यूनतम पनि राजनीतिक चेतना नभएकै कारण २०४८ साल यता देशको न्यायालय स्वायत्त रहन सकेन। राम्रो काम गर्नेहरूलाई उल्टै तिरस्कार र असफल बनाउने प्रयत्न भए।
न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा गहिरो गरी अधिनायकवादी राजनीति हस्तक्षेपकारी जरो गाड्न खोजिएको छ। देश लोकतन्त्रको जगमा उभिन सकेको छैन। देश लोकतन्त्रको दुहाई दिएर माफियातन्त्रले कब्जा गरेको छ।
सात दशकदेखि सकि-नसकी काँध सारेर, आलोपालो फेरेर देशको शासनसत्तामा हालीमुहाली गरिरहेका नेताहरूलाई नेपाली जनताले विश्राम नदिनुको परिणाम हो-अहिले कोभिड-१९ को आक्रान्त दर्दनाक दृश्य।
हिजोभन्दा पनि आज देशका नागरिकको राजनीतिक चेतनस्तर झनै खस्कँदो अवस्थामा देखिनुले, साँच्चै नेपाल सतीले सरापेको देश हो झैँ लाग्छ। अब त नव युगका युवाहरूमा राजनीतिक चेतनासँगै शैक्षिक चेतनस्तर पनि कामचलाउ जीविकोपार्जन गर्नेसम्म मात्रै रहेछ कि भन्ने देखिन थालेको छ।
देशको राजनीतिक घटनाक्रमका परिदृश्य अवलोकन गर्दा अपवादबाहेक सबै युवाहरू नेताहरूको सिकार भएका छन्। नेतालाई देवत्वकरण गरी धुपधुमार गर्ने धूपौरे (पुजारी) बनेका छन् भन्दा फरक पर्दैन। ती जमात नीति, विचार, आचरण, दर्शन, सिद्धान्त र देशको समृद्धिका लागि चिन्तन गर्नसक्ने क्षमता नभएका झुण्डमा मात्र परिणत भएका छन्। नागरिकता विधेयक, प्रतिनिधिसभा विघटन, कोभिड भ्याक्सिन कमिसन र फुटाऊ र राज गर जस्ता छर्लङ्ग देखिने राजनीतिक अवान्छित परिघटनामा युवा नेताहरू र कार्यकर्ताहरूले गरिरहेको ढाकछोपले यो कुरा पुष्टि गरिरहेको छ।
हामीले चुनेका जनप्रतिनिधिहरू र उनीहरू मातहत भएको विकास निर्माण गुणस्तरीय छैन। यसो हुनुको कारण हाम्रा गच्छे (विवेक/क्षमता) कै दोष हो। प्रसिद्ध जोसेफ दि माइस्ट्रेले भनेका छन्, 'लोकतन्त्रमा जनताले आफ्नै योग्यता अनुसारको नेता पाउँछन्।' हामीजस्ता युवालाई घरीघरी लाग्छ : के हाम्रो औकात यत्ति हो त? जबसम्म हामीले मेरो औकात यत्ति होइन भन्दैनौँ, तबसम्म हाम्रो राजनीति सुध्रनेवाला छैन। नेपाली राजनीतिले आफैँमाथि पुनः विद्रोह खोजेको छ।
कल्याणकारी राज्यको परिकल्पना, त्यो परिकल्पनाको यात्रा, समावेशी समतामूलक सामाजिक व्यवस्था, कल्याणकारी लोकतन्त्र (शिक्षा र स्वास्थ्यमा पूर्ण दायित्व सरकार को रहने, यातायात, विद्युत् र भरण पोषण एवं लत्ताकपडा जस्ता आधारभूत आवश्यकताका क्षेत्रमा अधिकतम आंशिक दायित्व सरकारले वहन गर्ने), न्याय प्रणालीमा आम नागरिकलाई आश्वस्त पार्ने र निसाफको ग्यारेन्टी गर्ने, सरकारी कामकाजको खर्च तथा तमाम निर्माण आयोजनामा मितव्ययिता कायम गरी इन्धन र उपभोग्य वस्तुमा लगाइने करको मात्रा न्यूनतम दायरामा राख्ने, सहकारिताको विकास गर्दै सहकारी प्रणालीद्वारा अर्थतन्त्रलाई चलायमान बनाउँदै राष्ट्रिय पुँजीमा कृषक मजदुर वर्गको समेत उच्चतम लागतको वातावरण निर्माण गर्ने, कृषिमा लगानी (सम्भावित क्षतिको पूर्णता, उत्पादनमा प्रोत्साहन गर्ने अनुदान, उपजको बजारीकरण, सामाजिक सुरक्षा स्वरूप कृषक कल्याण कोषको व्यवस्था), प्रत्येक नेपालीको गुणस्तरीय जीवनको व्यवस्थापन गर्ने जस्ता अग्रगामी कार्य गर्ने अभिभारा हाम्रो पुस्ताले लिनुपर्छ।
अबको क्रान्ति र राजनीतिको मूल मुद्दा शिक्षा, स्वास्थ्य र रोजगारीको सवाल हो। जहाँसम्म शिक्षा उत्पादनमूलक, स्वास्थ्य सेवामूलक र रोजगारी सामाजिक अर्थप्रणालीको मेरुदण्डको रूपमा संरक्षणात्मक हुनु जरुरी छ। विद्यालय, अस्पताल र व्यावसायिक फर्महरूमा प्रगतिशील सुसंस्कृत राजनीतिले परिवर्तन गर्नुपर्दछ।
राजनीतिले अबको मेरो र हाम्रो पुस्ताभन्दा ज्यादा समयसम्म फोहोरी खेलको संज्ञा पाउनुहुँदैन। भावी पुस्तालाई राजनीति हाम्रो भविष्य हो भन्ने सिकाउन वर्तमान राजनीतिलाई सफा गरौँ। विवेकको प्रयोग गरौँ। विकृत सामाजिक व्यवस्थाको अन्त्य गरौँ। विचारका बन्दुक उठाउन नखोज्नेहरू दासताको लायक हुन् भन्ने भाष्य निर्माण गरौँ। देशको अर्थ प्रणालीलाई एकले उन्नत जीवन जिउन अर्कोको जीवन नास गर्नुपर्ने पशु खाद्य चक्र जस्तो बनाइनु मानव-मानव बीचको द्वन्द्व बढोत्तरी गर्ने शैली हो। एकका लागि सबै र सबैका लागि एक भन्ने मानवीय सामाजिक मान्यता अनुरूप अगाडि बढ्न नसक्ने समाजले सह-अस्तित्वलाई स्वीकार गर्न सक्दैन। त्यहाँ हैकमवादी सामन्ती संस्कार हुर्किएको हुन्छ। शोषणमा परेका वर्ग र शोषण मानव धर्म विपरीत हुन् भन्नेहरूमा विकास हुने विद्रोही चेतना परिवर्तनको संवाहक हो अबको युवापुस्ताले बुझ्नुपर्छ।
तर, वर्तमानमा शोषणको प्रकृति फेरिएको छ। उपभोक्ताले महँगो रकम तिर्नुपर्ने, बैङ्कमा तिर्नुपर्ने अत्यधिक ब्याजदर, दैनिक क्रियाकलापमा अवरोध, अव्यवस्थित औद्योगीकरण, प्रदूषण, सरकारी तथा गैरसरकारी अड्डामा कार्यसम्पादनमा हुने ढिला सुस्ती, घुस खोरी, तस्करी, लैङ्गिक हिंसा, विभेद, असमान पहुँच, स्वास्थ्य उपचारको क्रममा चर्को शुल्क तिर्नुपर्ने, प्रतिष्ठित शैक्षिक डिग्री प्राप्त गर्ने अवसरमा लगाइने अङ्कुश, गुणस्तरहीन सडक, इन्टरनेट सर्भरमा पहुँच नपुग्नु, असुरक्षित आवास जस्ता यी तमाम समस्याहरू राज्य तथा लुटेरा पुँजीवादी गैरसरकारी व्यक्तिहरूका समूहहरूबाट नियोजित रूपमा समाजलाई सिकाएको गलत अभ्यास हो। यहाँनेर युवा राजनीतिकर्मीमा चेत भरिनुपर्छ।
राजनीतिक चेत, ज्ञान भएका बुद्धिजीवी युवा वर्गले देश र समाज रूपान्तरणको मसाल लिएर उठ्नुपर्छ। विदेशी राष्ट्रले ‘कठै! नेपालीहरूको अवस्था’ भनेर भीख माग्ने, दान थाप्ने र मुख ताक्ने दयनीय अवस्था चिर्न राजनीतिक क्रान्ति आवश्यक छ। राजनीतिक ज्ञान बुद्धि विवेक भएर पनि मौनता साँध्दै बस्नाले, वर्तमान नेताहरूले जनता माथि हुकुमी शासन र आफू अनुकूलको बर्बरतापूर्ण निर्णय लाद्न पाएका छन्। यस प्रवृत्तिको समूल अन्त्यका लागि विवेकी सोच भएका, देशको समृद्धि निम्ति साझा सपना देखेका युवाहरूबीच ऐक्यबद्धता हुनुपर्छ। यस्तो सोच र चेतनायुक्त युवाहरू नै अबको राजनीतिमा हावी हुनुपर्छ।
(भट्ट विवेकशील साझा पार्टीका अन्तरराष्ट्रिय संयोजक हुन्।)
तपाईंको ईमेल गोप्य राखिनेछ ।