|

जनकपुरधाम : मिथिलाञ्चलमा अखण्ड सौभाग्यको कामना गर्दै आज बिहानैदेखि विवाहित महिलाहरुले वट सावित्री पर्व धार्मिक विधिपूर्वक मनाइ रहेका छन्।

यो पर्व मनाउनका लागि महिला बिहानैदेखि चोखो भएर नववस्त्र धारण गरी पूजा सामग्रीका साथ वरको रुखमुनि बसेर पूजा गरिरहेका छन्।

परापूर्वकालदेखि जेठको औँसीका दिन यो पर्व मनाउने गरिन्छ। पर्व मनाउनको लागि बिहानैदेखि विभिन्न वरका रुखमुनि घुइँचो लागेको देखिन्छ।

धार्मिक ग्रन्थ स्कन्ध पुराणमा उल्लेख गरिए अनुसार, वरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले सो रुखमुनि बसेर पूजा गर्दा ती त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ।

अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायु मै मृत्यु भएपछि बरको रुखमुनि नै राखिएको थियो। सावित्रीले आफ्नो सतित्वको प्रभावमा यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि वटवृक्ष अर्थात् वरको रुख मुनि बसेर सो पर्व मनाउने गरिन्छ।

यस पर्वमा बाँसबाट बनाइएका नयाँ हाते पंखा, धागो, मिठाई, फलफूल, चना लगायतका सामग्रीका साथ पूजा गरिन्छ। यस पर्वको अवसरमा जनकपुरधामको प्रसिद्ध राममन्दिर परिसरका साथैै पीडरीयामाई स्थान, विश्वकर्मा चोक लगायत विभिन्न टोलटोलमा रहेका बरका रुखमुनि वटसावित्रीको पूजा भइरहेको छ।

मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन्। यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ।

यो पर्व मनाउनका लागि बेहुलीका लागि ससुरालीबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिन सर्प, बाँसको पंखा, टोकरी लगायतका साथै भोजनका लागि चामल, च्युरा, दही लगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ।

गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिन देउताको पूजा गरेमा सर्प दंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ।

को हुन् सती सावित्री?

मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सकेनन्। त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनिसँग साक्षात्कार भयो।

सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराइन् । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरु यतिखेर जंगलमा बस्ने गरेको, सावित्रीले जानकारी गराइन्।

यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उनीसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो।

तत्पश्चात निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धि मत्ताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गरिन्।

सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ।

यसरी सत्य युगमा सती सावित्रीले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झना स्वरुप यो पर्व मनाउन थालिएको बताइन्छ। 

यो पर्व नियमनिष्ठाका साथ मनाइएमा पति दीर्घायु हुने यमराजले वरदान दिएको भविष्य पुराणमा उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.