एक सेटलाई एक हजारदेखि पाँच हजारसम्म लिइँदै

|

काठमाडौं :  दर्ता नै नगरी नेपाल भित्रिएको भारतीय आयुर्वेदिक औषधि  कोरोना किट ‘कोरोनिल’ काठमाडाैं उपत्यकाका बजारमा खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ। 

भारतमा प्रतिबन्धित यो कोरोनिल नेपालमा पनि बिना अनुमति भित्र्याइयो। झण्डै १५ हजार किट भित्र्याए पनि १६ सय किट सरकारलाई हस्तान्तरण गरियो। नेपालमा यसलाई अनुमति प्राप्त छैन भन्ने थाहा हुँदा हुँदै पनि सरकारले उपहार नकार्न सकेन।

निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले मन्त्रालयमै बुझेको काेरोनिल अहिले  आयुर्वेद विभागको टेकु गोदाममा थन्क्याइएको छ। यसलाई बिक्रीवितरण गर्न रोक लगाइएको छ। 

१५ हजार कीटमध्ये १६ सय किट सरकारले उपहार लिएपछि बाँकी रहेका कीट अहिले धमाधम मेडिकल पसलबाट बिक्रीवितरण भइरहेको हो। 

थाहाखबरले उपत्यकामा पतञ्‍जलि योग पीठले उत्पादन गरेका आयुर्वेदिक औषधीहरु बिक्रीवितरण भइरहेका पसलहरूमा बुझ्दा  कोरोनिल कीट सहजै पाइने थाहा भयाे। एक सेट कोरोनिल किटलाई एक हजारदेखि पाँच हजारसम्ममा बिक्रीवितरण भएको भेटिएको हो।

महाराजगञ्जस्थित मेघा पतञ्‍जलि आयुर्वेदिक औषधालयमा फोन गर्दा कोरोनिल बिक्री भइरहेको थाहा भयो। 

सम्पर्कमा आएका ती व्यक्तिले भने ‘हाम्रोमा  कोरोनिल किट पाइन्छ एक सेटलाई एक हजारदेखि पाँच हजार सम्म पर्छ।‘

अर्को अचम्मको कुरा के छ भने अवैधरुपमा बिक्रीवितरण भइरहेको यो किट किन्दा संक्रमितले पिसिआर रिपोट देखाउनुपर्छ । त्यहि हेरेर एक हजारको दिने कि पाँच हजारको भनेर उनीहरु आफैंले निर्णय गर्छन्। 

यस्तै पतञ्‍जलि योग पीठ नेपालका ट्रस्टिको केन्द्रिय कार्यालय मण्डिखाटारबाट पनि यो कीट धमाधम बिक्री भइरहेको बताइएको छ।

औषधी व्यवस्था विभागले भने बजारमा सो किट बिक्रीवितरण भएको खबर नपाएको बताएको छ। विभागका प्रवक्ता सन्तोष केसीले हालसम्म किटको बिक्रीवितरणबारे खबर नपाएको बताएका हुन् ।

उनका अनुसार कोरोनिल’ किटको दर्ताका लागि केही कागजात विभागमा पेश गरिए पनि अपुग भएको भन्दै पूरा कागजात पेश गर्नु भनेर फिर्ता पठाइएको थियो। हालसम्म पुन: कागजात पेश नगरिएको उनले बताए।

उनले भने ‘एक पटक दर्ताको लागि कागजात पेश भएको थियो तर अपुग भएको भएर हामीले फिर्ता पठाएका थियौँ त्यसपछि आएको छैन, तर हाल बजारमा विक्रि वितरण भएको बारे हामीलाई केही जानकारी छैन।‘

केसीका अनुसार यदि  विना दर्ता बजारमा औषधी विक्रि वितरण भएको भेटिए औषधीको प्रभाव अनुसार कानुन अनुसार मुद्दा चलाइने र​ न्यूनतम एक वर्ष  कैद र २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

नेपालमा कुनै पनि औषधि प्रयोग गर्न ल्याउनुपूर्व औषधि व्यवस्था विभागबाट स्वीकृती लिनुपर्छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.