|

लमजुङ : जिल्लाका थप दुई स्थानीय तहमा मौरी ब्लक कार्यक्रम सञ्चालन भएको छ। जिल्लाको मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका गरी दुई क्षेत्रमा मौरीब्लक कार्यक्रम सञ्चालन भएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष ०७७-७८ मा उक्त दुई पालिकामा मौरी ब्लक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको हो। दुई पालिकमा मौरी ब्लक कार्यक्रमका लागि परियोजनाबाट २०-२० लाख बजेट विनियोजन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

केन्द्रले मौरीपालक किसानको ५० प्रतिशत लगानी र केन्द्रको ५० प्रतिशत अनुदानमा मौरी ब्लक कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत विजय पौडेलले जानकारी दिए। सो बजेटबाट ब्लकमा आवद्ध मौरी किसानहरूले गोलासहितको मौरी घार खरिद, मौरीपालन तालिम, मौरीपालनमा प्रयोग हुने आवश्यक यन्त्र तथा उपकरण खरिदलगायतका कार्य  तथा कार्यक्रम भइरहेको बाली संरक्षण अधिकृत पौडेलको भनाइ छ। 

जिल्लामा यसअघि सुन्दरबजार नगरपालिका र बेसीशहर नगरपालिकामा मौरी ब्लक कार्यक्रम सञ्चालनमा रहेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त मौरी ब्लक परियोजनाका लागि गतवर्ष ५० प्रतिशत अनुदानमा २५-२५ लाख बजेट विनियोजन भएको थियो।

जिल्लाका बेँसीशहर, सुन्दरबजार, मध्यनेपाल नगरपालिका र दुधपोखरी गाउँपालिकाका गरी मौरी ब्लक कार्यक्रममा दुईसय कृषक आबद्ध रहेको कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए।

स्थानीयस्तर तथा पकेट क्षेत्रका रुपमा मौरीपालन गर्दै आईरहेको अवस्थामा जिल्लामा  मौरी ब्लक कार्यक्रम सञ्चालन भएसँगै बर्सेनि मौरी तथा मह उत्पादनमा वृद्धि हुँदै गएको पाइएको छ। गत वर्ष जिल्लामा घर मौरी र भीरमौरीबाट गरी ३७ टन मह उत्पादन भएकोमा यस वर्ष थप दुई ब्लक कार्यक्रम सञ्चालन भएसँगै उत्पादनमा समेत वृद्धि हुने केन्द्रको अनुमान छ।

जिल्लामा उत्पादित मह  स्थानीय बजारसँगै काठमाडौँ, पोखरा, चितवनलगायत बाहिरी जिल्लामा बिक्री हुँदै आएको छ।

मौरीपालनमा सहयोग गर्नसके र चरनको राम्रो व्यवस्था भयो भने मह उत्पादनमा अझै वृद्धि हुने कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। जिल्लाका मौरी पालक व्यावसायीक किसानहरुले चरण क्षेत्र निमार्णगर्नुका साथै सामुदायीक वनमा मौरी चरण गर्ने व्यवस्था मिलाएका छन्। भने केही मौरी पालक किसानहरुले मौरीको आहाराको लागि तोरी खेतीसमेत गर्दै आएको केन्द्रले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.