|

दाङ : घोराही उपमहानगरपालिका-३ का जुठे घर्तीले जुत्ता चप्पल सिलाउने पेसा गर्दै आएका छन्।

उनी र उनकी श्रीमती अपांग हुन्। तर, कोरोना महामारीका कारण लकडाउन भएपछि त्यो पेसा पनि बन्द भयो। पेसा बन्द भएपछि अहिले दैनिक चलाउन समस्या परेको उनले दुखेसो पोखे।

उनले भने,‘ पुराना जुत्ता चप्पल सिलाउने काम गर्दै आएको थिए।  बन्दले अहिले काम पूरै ठप्प छ। लकडाउन अवधिभर ८/९ हजार ऋण लागि सक्यो। अझै खुल्दैन। दैनिकी चलाउन निकै समस्या भएको छ।’

उनी घरबाट राहत लिनको लागि घोराही-१५ मा सिसा संस्थाले सञ्चालन गरेको फुड बैंकमा आएका थिए। उनी अशक्त पनि हुन्। अशक्त भएका कारण अन्य कुनै काम गर्न नसकेको समेत उनले बताए।

‘राज्यले हामी जस्ता अशक्त, गरिबहरूलाई यस्तो बेला हेर्नु पर्ने हो। तर, यस पटक हेरेको छैन,’ उनले थपे, ‘यो संस्थाले राहत दिन्छ, भन्ने थाहा पाएपछि अटो नै रिर्जभ गरेर आएको छु। तर, संस्थाबाट राहत पाइयो। धेरै खुशी लागेको छ।’

घर्ती त एक प्रतिनिधि मात्र हुन्। जिल्लामा दोस्रो चरणको कोरोना महामारीसँगै लकडाउन भएको बिहीबार सम्म ४१ औँ दिन भयो। गत बैशाख १७ गतेदेखि शुरु भएको लकडाउन पटक पटक थपिदै जादा अब आउँदो असार १ गते सम्मको लागि थपिएको छ। तर, जिल्लामा यही जेठ २६ गतेदेखि अति खुकुलो भएता पनि ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएकाहरू भने समस्यामै छन्। 

गत वर्षको लकडाउनमा जिल्लामा १० वटै स्थानीय तहले राहत वितरण गरेका थिए। तर, यस पटक उनीहरूले राहत दिएका छैन। जिल्लामा विभिन्न व्यक्ति तथा संस्थाहरूले फुड बैंक स्थापना गरी राहत वितरण गर्दै आएका छन्।

लकडाउनका कारण सबै क्षेत्र मारमा परेका छन्। त्यसमा पनि दैनिक ज्याला मजदुरी गर्नेहरू धेरै समस्यामा परेका छन्। यस्तै अतिविपन्न परिवारहरूको समस्यालाई मध्यनजर गर्दै जिल्लामा व्यक्ति तथा संघ संस्थाहरूले राहत वितरण गर्दै आइरहेका छन्।

गत वर्षको कोरोना महामारीमा स्थानीय सरकारले राहत वितरण गरेको थियो। तर, यस पटक स्थानीय सरकारले राहत वितरण गरेको छैन। त्यस्तै घोराही-१५ की ईश्वरी मुसलमानको पनि उस्तै समस्या छ।

अहिलेसम्म छर छिमेकसँग एक एक नम्बर चामल माग्दै खाँदै आएको उनले बताइन्। उनको श्रीमानले पनि सैलुन पसलमा काम गर्दै आएका थिए। तर, लकडाउनले पसल बन्द भएपछि आफूहरू समस्यामा परेको उनले दुखेसो पोखिन्।

भनिन्,‘ म पनि बिरामी छु। बूढा पनि बिरामी हुनुहुन्छ। सिसा संस्थाहरूले राहत दिएपछि धेरै खुशी लागेको छ। मानिसहरूलाई जति दिए पनि पुग्दैन। तर, यस्तो बेला यति पाउनु पनि धेरै ठूलो कुरो हो।’

घोराही-१५ का अब्दुल शाहले पनि ठेलामा फलफूल तरकारी बेच्दै आएका थिए। लकडाउनले गर्दा व्यवसाय नै बन्द भएपछि अहिले २ छाक खानामा एक छाक खाने गरेको उनले बताए।

उनले पनि सिसा संस्थाबाट राहत पाउँदा धेरै खुशी लागेको बताउँदै यो राहतले पनि केही दिनसम्म आफूलाई सहज हुने समेत बताए।  लकडाउनका कारण दैनिक छाक टार्न समस्यामा परेका अति विपन्न परिवारहरूलाई थोरै भए पनि राहत पुगोस् भनेर सिसा फुड बैंक सञ्चालनमा ल्याएको बैंककी संयोजक साजिँदा सिद्दिकीले बताइन्।

कारितास नेपाल नामक संस्थाको ४ लाख ५० हजार र केही व्यक्तिगत सहयोगमा फुड बैंक स्थापना गरिएको उनको भनाइ छ। 

अहिले पनि दैनिक रुपमा ३०-४० जना राहत लिन आउने गरेको समेत उनले बताइन्। आफूहरुले एक हजारदेखि ५ हजार सम्मको राहत दिने गरेको समेत उनले बताइन्।

दाङबाट सुरु भएको यस प्रकारको अभियान देशै भर पुर्‍याउने लक्ष्य रहेको सिसा फुड बैंकले बताएको छ। त्यस्तै बैंकले मध्यम परिवारलाई सापटीको रुपमा पनि खाद्यान्न दिने गरेको संयोजक सिद्दिकीले बताइन्।

भनिन्, ‘एक हजारदेखि माथिको दिन्छौँ। तर, उहाँहरुले हामीलाई एक-दई महिनाभित्र उक्त राहत फिर्ता गर्नुपर्छ। यो हाम्रो सेवा निरन्तर हुने भएकाले त्यसो गरिएको हो।’ त्यस्तै उनले आफूहरुले राहत दिँदा कुनै जाति, राजनीति आस्था नहेरी अतिआवश्यक परिवारहरुलाई दिने गरेको समेत बताए।

 

यता स्थानीय सरकारहरुले भने अहिले राहत नदिने र वडा साना साना योजनाहरू सञ्चालन गरेर अतिविपन्न परिवारलाई काम दिँदै आएको छन्। गत वर्षको कोरोना महामारीमा १ करोड १२ लाख बराबरको शान्तिनगर गाउँपालिका तथा विभिन्न व्यक्ति संघ संस्थाहरुको सहयोगमा राहत वितरण गरेको भन्दै त्यसबाट कुनै पनि राम्रो प्रभाव नभएपछि अहिले गाउँपालिकाले राहतभन्दा काम दिन गरेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताए।

अहिलेसम्म गाउँपालिकामा कहो पनि भोकले मर्न लाग्यौँ भनेर भन्न नआएका समेत उनले बताए। त्यस्तै उनले कसैलाई राहत आवश्यक परे गाउँपालिकाले सहयोग गर्ने समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.