'एक जिल्ला एक नमुना क्याम्पस स्थापना

|

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ।

अधिकांश पुराना ठूला कार्यक्रमलाई निरन्तरता दिएको प्रदेश सरकारले स्वास्थ्य, कृषि, उद्योग, ऊर्जा, जलस्रोत र पर्यटनलाई दिगो विकास र समृद्धिका लागि उच्चतम उपयोग गर्ने उद्देश्यका साथ प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेर प्रस्तुत गरेको हो। 

सुदूरपश्चिम प्रदेश प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख यादवले कोरोना भाइरसले विभिन्न क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न अगामी वर्षको कार्यक्रम र बजेटकेन्द्रित हुने बताए। सरकारले कोरोना महामारी रोकथाम गर्दै त्यसले आर्थिक क्षेत्रमा पारेका प्रभाव नियन्त्रण गरेर प्रदेशको अर्थतन्त्रलाई थप गतिशील बनाउने उनले बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै केही नयाँ कार्यक्रम ल्याएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणसँगै स्वास्थ्य क्षेत्रलाई नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकता दिइएको छ। हाम्रो देश स्वस्थ प्रदेश, प्रदेश निर्वाचन क्षेत्रस्तरीय अस्पताल स्थापनालगायत कार्यक्रम सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै 'सबैका लागि शिक्षा अभियान', 'एक जिल्ला एक नमुना क्याम्पस स्थापना', 'एक स्थानीय तह एक पुस्तकालय स्थापना', देवभूमि सुन्दर ठाउँ सुदूरपश्चिम घुम्न जाउँ अभियान, विज्ञान प्रविधि प्रतिष्ठान स्थापना, विकाससँग रोजगारी कार्यक्रम, एक निर्वाचन क्षेत्र एक खेल मैदान स्थापना, मुख्यमन्त्री खेलकुद, प्रदेशका गाउँ उज्यालो बनाऔं, मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम, आवास सुधार कार्यक्रम, नमुना गाउँ, आफै बनाऔं लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा अटाएका छन्। 

त्यसैगरी साना तथा गरिब किसानलाई ऋण र व्यवसायिक किसानलाई अनुदान दिने कार्यक्रम अगाडि सारिएको छ। प्रदेशभित्र पशुपालनलाई प्रोत्साहन गर्न गाई, भैंसी, बाख्रा, कुखुराको व्यवसायिक उत्पादनका लागि बजारीकरणमा आधारित अनुदान प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

प्रदेश सरकारले एक वर्षमै प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्नुका साथै विद्यालयहरूलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ। विद्यालयहरूको पुर्वाधार निर्माणमा समेत सरकारले जोड दिएको छ। कला, संस्कृति र भाषाको विकासका लागि प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्ने र स्थानीय भाषामा पाठ्यक्रम निर्माणलाई सरकारले जोड दिएको छ।

यस्तै एक जिल्ला एक विशिष्ट उद्योग, पर्यटन प्रवद्र्धनका लागि पाहुना सत्कार सुदूरपश्चिमको संस्कार कार्यक्रम, सुदूरपश्चिमको दीगो आधार सबल पर्यटकीय पूर्वाधार भन्ने नाराका साथ प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संवर्द्धनका लागि पूर्वाधार निर्माण, चेली परामर्श तथा पैरवी केन्द्र पनि स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रदेश प्रमुख यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसले समृद्ध सुदूरपश्चिम निर्माणको आकांक्षा पूरा गर्न योगदान पुग्ने बताएका छन्।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.