ग्रुप अफ डेथमा पोर्चुगल, फ्रान्स र जर्मनी

|

विश्व फुटबलको महासंग्राम फिफा विश्वकप फुटबलपछिको अर्को फुटबलको कुम्भमेला युरोकप फुटबल शुक्रबार मध्यरातदेखि सुरु हुँदैछ।

कोरोना भाइरसका कारण थलिएको विश्व फुटबल जगत युरोकप फुटबलबाट तङ्ग्रिने प्रयास गर्दैछ। हुनत अघिल्लो वर्ष नै हुने भनिए पनि कोरोना महामारीका कारण एक वर्ष पर धकेलिएको थियो। हरेक विश्वकपको २ वर्ष अघिपछि गरेर हुने युरोकप एक वर्षपछि सरे पनि यसको नाम भने युइएफए युरो २०२० नै रहने युरोपियन फुटबल महासंघ युइएफले जनाएको छ। विश्व फुटबलका महारथीहरुको भीडन्तमा विशेषगरी युरोपकै देशहरुको दबदबा छ।

यिनै युरोपेली देशहरुको प्रतिस्पर्धा हुने युरोकपलाई कतिपय फुटबल विश्लेषकहरुले मिनी विश्वकपका रुपमा पनि चित्रण गर्छन्। इटालीको रोम, अजरबैजानको बाकु, रसियाको सेन्ट पिर्टसबर्ग, डेनमार्कको कोपनहेगन, हंगेरीको बुडापेष्ट, नेदरल्याण्ड्सको आर्म्सडम, जर्मनीको म्युनिख, स्पेनको सेभिल्ला, स्कटल्याण्डको ग्लासगो, रोमानियाको बुखारेष्ट, आयरल्याण्डको डब्लिन शहरमा विभिन्न खेलहरु हुँदैछन्।

युरोपका ५३ देशबीचको छनोटबाट २४ देशले युरोकपको अन्तिम चरणमा स्थान बनाएका छन्। चारपटकको विश्व विजेता जर्मनी र एकपटक विश्वकपको उपाधि चुमेको स्पेन युरोकपमा चौथो पल्ट उपाधि जित्ने रणनीतिमा छन् भने दुईपटक विश्व विजेता बनेको फ्रान्स पनि युरोकपको उपाधि संख्या दुई पुर्‍याउने ध्याउन्नमा छ।

तत्कालीन सोभियत संघभित्र रहेको रसियासँगै इटाली, चेक गणतन्त्र, नेदरल्याण्ड्स, पोर्चुगल र डेनमार्कले यो संस्करणमा उपाधि संख्या डब्ल्याउने प्रयास गर्दैछन्। चेकगणतन्त्र यसअघि चेकोस्लोभाकियाभित्र पर्दथ्यो। यसपटक पूर्वविजेता १० राष्ट्रमध्ये ९ राष्ट्र छनोट भएका छन्। सन् २००४ को विजेता ग्रीस भने यसपटक युरोकपमा स्थान बनाउन असफल रह्यो।

१६ संस्करणसम्मको युरोकपमा जर्मनी र स्पेनले ३–३ संस्करण जित्दा फ्रान्सले २ पटक उपाधि आफ्नो पक्षमा पारेको छ। फ्रान्स, इटाली, पोर्चुगल, नेदरल्याण्डस्, डेनमार्क , ग्रिस ,चेक गणतन्त्र र सोभियत संघले एक-एक पटक युरोकपको ट्रफी उचालेका छन्। सन् १९६० मा फ्रान्सको पेरिसबाट युरोकपको थालनी भएपछि सन् २०२१ सम्म आइपुग्दा युरोकपले ६० वटा वसन्त पार गरिसकेको छ।

६० वर्षे इतिहासमा युरोकपमा पहिलोपटक युरोकप विभिन्न ११ देशमा आयोजना हुँदैछ। इटली र टर्कीबीचको उद्घाटन खेल इटलीको घरेलु मैदान रोममा शुक्रबार नेपाली समय अनुसार मध्यरात साढे १२ बजे पछि हुँदैछ। यो संस्करणको फाइनल खेल लण्डनको वेम्बली स्टेडियममा जुलाई ११ तारिखमा हुनेछ।

टर्की, इटली, वेल्स र स्वीजरल्याण्ड समूह ए मा रहेका छन्। इटली विश्व वरियताको सातौं स्थानमा रहेको छ भने स्वीजरल्याण्ड १३ औँ तथा वेल्स १७ औँ स्थानमा रहेका छन्। टर्की भने २९ औं स्थानमा छ।

विश्व वरियताको पहिलो स्थानमा रहेको बेल्जियम समूह बीमा रहेको छ। उक्त समूहमा बेल्जियमसँगै डेनमार्क, फिनल्याण्ड र रसिया रहेका छन्। डेनमार्क पनि विश्व वरियताको १०औँ स्थानमा छ।  रसिया ३८औँ र फिनल्याण्ड  ५४ औँ स्थानमा छन्। युरोकपमा यसपटक फिनल्याण्डले पहिलोपटक खेल्दैछ।

समूह सीमा नेदरल्याण्ड्स, युक्रेन, अष्ट्रिया र उत्तरी म्यासेडोनिया रहेका छन्। विश्व वरियतामा नेदरल्याण्ड्स  १६औँ स्थानमा रहँदा अष्ट्रिया २३ र युक्रेन २४औँ स्थानमा रहेका छन्। उत्तरी म्यासेडोनिया भने ६२औँ स्थानमा छ। पूर्वविजेता नेदरल्याण्ड्स एक संस्करणपछि नै पुनरागमन गरेको हो। नेदरल्याण्ड २०१६ मा छनोट हुन असफल भएको थियो। उत्तरी म्यासेडोनिया पहिलोपटक युरोकपमा समावेश भएको छ।

समूह डीमा इंग्ल्याण्ड, क्रोयसिया, चेक गणतन्त्र र स्कटल्याण्ड रहेका छन्। इंग्ल्याण्ड चौथो स्थानमा रहँदा क्रोयसिया १४औं स्थानमा छ। चेक ४० औँ स्थानमा रहँदा स्कटल्याण्ड ४४औँ स्थानमा छ। स्कटल्याण्ड २५ वर्षपछि पहिलो पटक युरोकपमा छनोट भएको छ। उसले सन् १९९६ मा युरोकप खेलेको थियो।

समूह ईमा स्पेन, स्वीडेन, स्लोभाकिया र पोल्याण्ड रहेका छन्। फिफा वरियतामा स्पेन छैटौँ, स्वीडेन १८औँ , पोल्याण्ड २१औँ  र स्लोभाकिया  ३६औँ स्थानमा छन्।

समूह एफ मा हंगेरी, पोर्चुगल, फ्रान्स र जर्मनी रहेका छन्। अन्य समूहभन्दा यो समूह तुलनात्मक रुपमा कठिन समूह रहेको छ। फ्रान्स दोस्रोे, पोर्चुगल पाँचौ, जर्मनी १२औँ तथा हंगेरी ३७औँ स्थानमा रहेका छन्।

ग्रुप अफ डेथ : पोर्चुगल, फ्रान्स र जर्मनीसँग भाग्यको परीक्षामा हंगेरी

समूह एफ लाई ग्रुप अफ डेथका रुपमा लिइएको छ।  पोर्चुगल, फ्रान्स र जर्मनीसँग भाग्यको परीक्षमा हंगेरी उत्रँदैछ। अन्य समूहभन्दा यो समूह तुलनात्मक रुपमा कठिन समूह रहेको छ।

फ्रान्स दोस्रो, पोर्चुगल पाँचौ, जर्मनी १२औँ तथा हंगेरी ३७औँ स्थानमा रहेका छन्। जर्मनीका गोल रक्षक म्यान्युर नोयर, थोमस मुलर, टोनी क्रुस, ज्योसुवा किमीचलगायतका चर्चित खेलाडी छन्।

जर्मनी एउटा सदाबहार आक्रमक खेल्ने टोली हो। पोर्चुगल क्रिश्चियानो रोनाल्डो, फर्नान्डेज, क्वाते, पेपे, रोबिन डियाज लगायतका अनुभवी खेलाडीको साथमा मैदानमा उत्रँदैछ। रोनाल्डो अहिले पनि फर्ममै छन्।

फ्रान्समा करिम बेन्जिमा फकिएका छन्। किलियन एम्बापे, ग्रिजम्यान, एन्गोलो कान्टे लगायतका राम्रा खेलाडी पनि फ्रान्ससँग रहेका छन्। तुलनात्मक रुपमा यो समूहमा ३ टोलीभन्दा कमजोर रहेको आँकलन गरिएपनि नतिजा यसै भन्न नसकिने फुटबलका पण्डितहरु बताउँछन्। युरोको अन्तिम क्वालिफायरमा आइसल्याण्डलाई इन्जुरी समयमा गोल गरेर अन्तिम २४ को टिकट काटेको थियो।

प्रत्येक समूहबाट समूहका विजेता र उपविजेता अर्को राउण्डमा प्रवेश गर्नेछन्। जसमा १२ वटा मात्र टिमको टुङ्गो लाग्नेछ। बाँकी ४ टिम भने ६ वटा समूहका तेस्रो हुने उत्कृष्ट चार टिमले क्वार्टरफाइनल प्रवेश पाउनेछन्। 

कोरोना महामारीका कारण खेलाडी र क्लबको लोड कम गर्न जारी युरोकपमा सहभागी हरेक टिमले २६ खेलाडी राख्न पाउनेछन्। हरेक म्याचमा बढीमा एक टिमको २३ खेलाडी मात्र राख्न पाइनेछ। प्लेइङ ११ बाहेक १२ जना बैकल्पिक खेलाडी बेन्चमा बस्नु पर्नेछ। यूईएफले युरोकपमा ५ खेलाडीसम्म खेल दौरान परिवर्तन गर्न पाउने प्रावधान बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.