|

कञ्चनपुर : बेलौरी नगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारलाई किरिया खर्चवापत १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगर कार्यपालिकाको बैठकले उक्त निर्ण गरेको नगर प्रवक्ता विनोद नेपालीले जानकारी दिए।

‘कोरोना संक्रमणबाट ज्यान गुमाउनुभएका सबै व्यक्तिका परिवारलाई किरिया खर्च दिने निर्णय गरिएको छ,’ उनले भने, ‘केही दिनभित्रै खर्च दिन सुरु गर्छौं।’ कोरोनाका कारण नगरपालिकाका १४ जनाको उपचारका क्रममा मृत्यु भएको छ। ५०० भन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन्।

नगरपालिकाले कुण्डास्थित कोभिड अस्पतालमा उपचारपछि घर फर्किने बासिन्दालाई पनि पोषिलो खाना पनि उपलब्ध गराउने भएको छ। त्यसका लागि दुई हजार बराबरको पोषणयुक्त खानाका सामान उपलब्ध गराउने कार्यपालिकाबाट निर्णय गरिएको छ। संक्रमित बालबालिकाको उपचारका लागि भवन बनाउने निर्णय पनि गरिएको छ। बेलौरीमा दुई बालबालिकामा कोरोना संक्रमण देखिएको छ । दुवै जना १५ र १६ वर्षका छन्। बालबालिकामा संक्रमण फैलिने सक्ने सम्भावनालाई मध्यनजर गरी भवन बनाउन लागिएको हो। 

त्यस्तै नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरलाई रक्त सञ्चार सेवा केन्द्र सञ्चालनका लागि सहयोग गर्ने निर्णय गरेको छ। कार्यपालिका बैठकबाट रक्त सञ्चार केन्द्रका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ। 

संक्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको संक्रमण घट्न थालेको छ। निषेधाज्ञाको प्रभावका कारण कोरोनाको संक्रमण घटेको हो। संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दो छ।

मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ। बिहीबार संक्रमितको संख्या २३ रहेकामा निको भई घर फर्कनेको संख्या ५४ रहेको थियो। स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय संक्रमित ४८७ रहेका छन्। आइसोलेशनमा ११२ र होम आइसोलेशनमा ३७५ जना रहेका छनु। हालसम्म पोजेटिभको संख्या सात हजार ४६६ रहेकामा निको भई घर फर्केकाको संख्या छ हजार ७८६ रहेको छ।

हालसम्म २२ हजार ९९ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये २२ हजार ३६ जनाको नतिजा प्राप्त भएको छ। पश्चिमी सीमानाका गड्डाचौकीमा एन्टिजेन परीक्षण नौ हजार ७०१ जनाको गरिएकामा जसमध्ये ५४९ जनाको नतिजा पोजेटिभ आएको छ। कोरोनाको दोस्रो लहर शुरु भएसँगै वैशाखयता मात्रै पाँच हजार ९३ जनाको पिसिआर परीक्षण गरिएकामा जसमध्ये चार हजार ८५३ जनाको नतिजा प्राप्त भएको छ। प्राप्त नतिजामा तीन हजार ३५८ संक्रमित देखिएका छन्। सोही अवधिमा निको हुनेको संख्या तीन हजार ४१ रहेको छ। वैशाखयता १४ हजार ४२८ जनाको एन्टिजेन परीक्षण गरिएकामा जसमध्ये दुई हजार १६५ जनाको नतिजा पोजेटिभ आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.