(नारायण ढकाल)
नेपालको वर्तमान परिदृश्यलाई अध्ययन गर्दा अधिकांश नागरिक देशको समग्र अवस्थाबाट चिन्तित भएका छन्। भनिन्छ, लोकतन्त्र र गणतन्त्रमा जनतासँग अधिकार केन्द्रित हुन्छ र जनता नै सर्वशक्तिमान हुन्छन्।
विश्वविद्यालय र क्याम्पसहरूमा राजनीति शास्त्रको पुस्तकहरूमा पढाइने गरिन्छ, चुनावहरूमा भाषण गरिन्छ, टेलिभिजनका पर्दाहरूमा ठूला ठूला बहस पनि गरिन्छ। तर, जनताले बहुमत दिएर पठाएको सरकारले गर्न हुने नहुने, बोल्न हुने नहुने संविधानमा लेखिएका धारा र उपधाराहरूलाई साधारण जनताले पनि बुझ्ने गरी आ-आफ्नै स्वार्थको लागि व्याख्या गरेको देखिँदै छ।
यस्तो सोझै गलत कुरा भइरहँदा पनि विचरा सर्व शक्तिमान नेताहरू चिया पसल सामाजिक सञ्जालमा राणाशासनदेखि विदेशीले नै सवैकुरा गराइरहेको भनेर दोष देखाएर पानीमाथि ओभानो हुने प्रयासमा देखिन्छन्।
जनताले पनि पक्ष विपक्षमा हो हो गरिरहेको नै पाइन्छ। पटक-पटक धोका हुँदा पनि पढे लेखेका देखि केही नजानेका भनिनेसम्म, युवादेखि वृद्धसम्म राजनीतिमा षडयन्त्रबाट प्रेरित सस्तो, राष्ट्रवादको खोक्रो नारा लगाइरहेका छन्।
यसले भए गरेका गरेका गल्ती ढाक्न अरूलाई पन्छाइदिने गलत प्रवृत्तिलाई साथ मिलिरहेको छ। आफूले पाएको अधिकारलाई जनताले पनि सधैँ दुरुपयोग र अपरिपक्व निणर्य गरेको इतिहासले छर्लंग देखाइरहेको छ।
विकसित देशहरूलाई हर हिसाबले अध्ययन गर्दा कुनै पनि देशमा राजनीति गर्न राजनीतिक दलहरूले त्यो देशको राष्ट्रियता मूल्य मान्यता संस्कृति र इतिहासलाई सम्मान गरेको पाइन्छ।
देशको इतिहास, संस्कृति र आर्थिक सामाजिक पृष्ठभूमिअन्तर्गत आफ्ना राजनीतिक विचार कानुन अर्थ नीति पाठ्यपुस्तकहरू तयार गर्ने गर्दछन्। राष्ट्रविरुद्ध बोल्ने र लेख्नेलाई जनताले तुरुन्त बहिष्कार गर्ने भएकाले त्यसको विरुद्धमा कार्य गर्न त के सोच्न पनि सक्दैनन्। सायद त्यही नै होला जनताको सर्वोच्चता भनेको पनि।
नेपालको लोकतान्त्रिक बाटोलाई विगतदेखि वर्तमानसम्म हेर्दा देश निर्माण गर्न पृथ्वीनारायण शाहको विरोध गर्ने पनि अधिकारकै कुरा गरेर हिँडिरहेका छन्। ब्रिटिशहरूसँग लडेर देश वचाउने अमरसिंह थापा, वीर बलभद्र कुँवरलगायत वीर वीरंगनाहरूको गौरवशाली इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम कसैले सोचेको देखिँदैन।
हिंसात्मक तरिकावाट शक्तिशाली बन्न पुगेकालाई नेपाल र नेपाली जनताका आदर्शको रूपमा लोकतन्त्रका नाममा स्थापित गराइएको र गरिएको कुरा अझै विवादमा छ। त्यसको हामी सबैले आ आफ्नो स्थानबाट जिम्मा लिनुपर्दछ र जवाफ पनि दिनुपर्छ।
विभिन्न कालखण्डका सत्ता चलाउने सरकारी संयन्त्र, सुरक्षा निकाय, शिक्षण संस्थाको नेतृत्व गर्ने, न्यायलय, सामाजिक अभियन्ता, नागरिक समाज, तत्कालीन समाजका सामान्य जनता र युवाशक्ति नै किन नहुन्, सबैले गलतलाई गलत भन्नु पर्दछ।
त्यसका लागि कुनै पनि प्रकारको मूल्य चुकाउन किन नपरोस् तर त्यो यहाँ भएन। आफ्नो व्यक्तिगत स्वार्थका लागि उनीहरूसँग नजिक हुन प्रयास गरियो त्यसैको परिणाम आज सबैले भोगिरहेका छौं। राम्रा कामको मात्र होइन अपराधको पनि सबैले जिम्मा लिनु परेको छ, आत्मसमीक्षा गर्नुपर्दछ र नेपाल आमासँग माफी माग्नुपर्दछ।
सही दिशा दिन यसरी सकिन्छ
नेपाली जनता अब परिपक्व बन्न आवश्यक छ, राजनीति प्रथम होइन नेपाल प्रथम भन्ने बलियो संकल्प बनाउनु पर्दछ। नेपाली युवा शक्तिले दलगत राजनीतिभन्दा मथि रहेर सामाजिक सांस्कृतिक र विकास अभियानका लागि संगठित गरिनु आवश्यक छ।
युवाहरू राजनीतिक दलहरूका गतिविधि र क्रियाकलाप निगरानी गरौँ र राम्रो कार्यको प्रशंसा र गलतकार्यको लागि दण्ड शक्ति बन्नुपर्छ। नेपालको शिक्षा, प्रशासन, सुरक्षा, स्वाथ्य, न्यायालय आदि क्षेत्रमा राजनीतिक नियुक्ति बन्द गरी राष्ट्र सञ्चालनका संयन्त्रमा योग्यता, कुशलता, पारदर्शिता, क्षमताको आधारमा नेतृत्व गर्न पाउने व्यवस्था बनाउनुपर्दछ।
नेपाली जनताहरूले आगामी दिनमा विदेशी विचार र विदेशी राजनीतिकबाट प्रेरित राजनीतिलाई बहिष्कार गरी नेपाली माटोको विचार, चिन्तन, नेपाली महापुरुष र नेपाली इतिहासको आधारमा राजनीति गने संस्थालाई आफ्नो समर्थन दिई उनीहरूलाई पनि नियन्त्रण गर्ने शक्ति निर्माण हुनु आवश्यक छ।
हाम्रा विद्यालय, कलेज र विश्वविद्यालयका पाठ्यक्रम परिमार्जन गरी, नेपालको राष्ट्रियता, नेपालको स्वर्णिम वीरताको इतिहास, नेपाली संस्कृति र नेपाली परिवेश र भूगोलअनुसार स्वदेशमा नै मिहिनेत गरेर विकसित नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वास निर्माण गर्ने वातावरण बनाउनु पर्दछ।
विभिन्न देशबाट आयात हुने सामग्रीहरूमध्ये देशको अवस्था, परिस्थिति र सबै नगरिकहरूलाई ध्यानमा राखेर कुन वस्तु आयात गर्ने र कुन आयात गर्न नदिने भन्ने निश्चित गर्न आवश्यक छ। कुनै पनि नागरिकलाई हीनताबोध हुने वातावरण बन्न दिनु हुँदैन। नेपालको आर्थिक प्रगतिको शक्ति र क्षमता भनेको धार्मिक पर्यटन, जलविद्युत् र अर्गानिक कृषिमा ध्यान दिनुपर्छ।
विद्यार्थीहरूलाई पहाडी भेगमा प्राकृतिक सुन्दरताको क्षेत्रमा, चिकित्सा विज्ञान, आर्युविज्ञान, संस्कृत, मानव सभ्यता, योग अध्ययन अध्यापन गराउने उत्कृष्ट विश्वविद्यालय, हस्तकलाको र उद्यमशीलता भएकोले सरकारको सम्पूर्ण शक्ति यी क्षेत्रमा लगाई देशलाई विकसित समृद्ध नेपाल बनाउन अवश्य पनि सकिन्छ।
लेखक ढकाल प्राज्ञिक विद्यार्थी परिषद्का सचिव हुन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।