|

काभ्रे :  फूल मन नपराउने मानिस सायदै होलान्। फूल जुनसुकै होस्, हेर्दै मनमोहक हुन्छ।  घरको कौसी तथा बगैँचामा फूल फूलाएर सुन्दरतालाई नै मनमोहक बनाउन सकिन्छ।

बिहानीपखको पारिलो सूर्य किरण र मन्द हावासँग लुटिपुटी खेल्दै गरेको फूलले झन् मनै आनन्द बनाइदिन्छ। गमलामा रोपेर फूल फुलाउनेको संख्या पनि दिनदिनै बढिरहेको छ।

यतिबेला देश दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ। कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरेको निषेधाज्ञाले गर्दा मानिसहरू घरमै थुनिएका छन्।

अत्यावश्यक कामबाहेक घरबाहिर निस्केर हिँड्डुल गर्न, साथीभाइसँग रमाइलो तथा भ्रमण गर्न नपाएर अस्तव्यस्त भएका मानिस तथा संक्रमितहरूलाई कौसी तथा बगैँचामा ढकमक्क फूलेको पहेँलपुरे फूलहरूले केही राहत महसुस भएको छ।

फूलका बगैँचामा देखिने भमरा र चिरबिर चराको आवाजले केही हदसम्म कोरोनाको त्रास र पीडालाई भुलाउन सहयोग मिलेको छ।

गोकुल माध्यमिक विद्यालयका प्रधानध्यापकसमेत रहेका बनेपा नगरपालिका वडा नम्बर ९ स्थित नयाँबस्ती बस्ने पदमप्रसाद तिमल्सिनाले कोरोनाको कहरमा कौसीमा फूलेका मनै लोभ्याउने रङ्गीचङ्गी फूल पीडा बिसाउने सारथि बनेको बताए।

तिमल्सिनाले कोठामा बसिरहँदा मनमा अनेक खालका कुरा खेल्ने हुँदा कौसीमा फूलिरहेको रंगीचंगी फूलहरूमा डुल्दा आगाडिका सबै कुरा भुलेर सकारात्मक सोच आउने गरेको बताए।

उनको घरको कौसी, भर्‍याङ, सुत्ने कोठा लगायतको ठाउँमा फूलको रानी गुलाफदेखि लाहुरे, लालुपाते, भर्बिना, थोर्नस, कृष्णकली, एलिकारोज, कालन्चोए, एरिकापाम, पिस लिलि, पिटुनिया, सर्फिनिया जस्ता फूलहरू ढकमक्क फूलिरहेको देख्न सकिन्छ।

यतिसम्म कि विशेष गरेर तिहारमा मात्रै सबैतिर भेटिने सयपत्री फूलसमेत फूलिरहेको छ। ‘अचेल फूल हेर्दै चित्त बुझाउँदै गरेको छु,’ उनले भने, ‘रंगीचंगी फूलको बगैँचामा कसको मन नरमाउला ?’

बनेपा नगरपालिका-५ स्थित बस्ने जमुना श्रेष्ठले निषेधाज्ञापछि घरको कौसीमा फूलको विरुवा रोपेको बताइन्। ‘पहिला अलिअलि रोपेको भए पनि कोरोना बन्दको बिचमा धेरै रोपेँ। ल हेर्नुस् यी फूलहरू सबै नयाँ हुन्,’ उनले फूलतर्फ औँलाले देखाउँदै भनिन्, ‘बिहान उठ्ने वित्तिकै र कोठामा बसिरहँदा दिक्का लाग्ने बेला यही फूल हेरेर फ्रेस हुने गर्छु, कपालमा सिउरिएर बस्छु।’

त्यस्तै नयाँबस्तीका प्रकाश तिमल्सिनाको पनि उस्तै कुरा छ। निषेधाज्ञाले कतै निस्किन नपाएर बस्नु पर्दाको छटपटी फूलले भुलाउने गरेको उनले सुनाए। ‘फूलको मनमोहक बास्नाले मनको छटपटी मात्रै होइन घरको सोभा नै बढाइदिएको छ’ उनले भने।

जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा अझै थपिन्छ वा खुल्छ अनिश्चित छ। कोरोना महामारीको कारण जारी निषेधाज्ञाले गर्दा घरमै उकुसमुकुस भएर बस्नु पर्ने बाध्यात्मक अवस्थामा रहेको छ।

केही तस्वीर झलक :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.