कान्ति अस्पतालमा मात्रै ४१ जनामा पोष्ट काेभिड समस्या पुष्टि

|

काठमाडौं : कोरोना संक्रमण निको भइसकेपछि बालबालिकामा गम्भीर स्वास्थ्य समस्या देखिन थालेको छ। 

पोष्ट कोभिड सिन्ड्रोम अर्थात् मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोम (एमआईएससी) देखिएको छ। यो कोरोना भाईरस संक्रमणमुक्त भइसकेपछि स्वास्थ्यमा देखिने जटिलता हो । कान्ति बाल अस्पतालमा मात्रै हालसम्म ४१ जनामा यो समस्या देखिएको पुष्टि भएको छ।

यस्तो समस्या देखिएका बालबालिकामध्ये हालसम्म ५ जनाको ज्यान गएको छ भने ४ जना उपचाररत रहेको कान्ति बाल अस्पतालले जनाएको छ। 'यो कोभिड–१९ पछिको असर हो। संक्रमण भएको तीन हप्तादेखि तीन महिनासम्म स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ।’

अस्पतालका डा. रामहरी चापागाईँले भने, ‘आँखा रातो हुनु, ब्ल्डप्रेसर कम हुनु, निरन्तर खोकी लाग्नु,शरिरका विभिन्न भाग डाबर आउनेजस्ता समस्याहरु देखिन्छन्।’

उनका अनुसार कोरोना संक्रमण भएका जुनसुकै उमेरका व्यक्तिलाई एमआईएससी देखिन सक्छ, तर यसको जोखिममा बालबालिका बढी छन् ।

‘अरु रोगको समस्यासँग मिल्ने भएपनि यसमा एकभन्दा बढी लक्षण एकैपटक देखिन्छ । यसको उपचार गाह्रो र महँगो हुने भएकाले अहिले धेरै चर्चा भएको हो।’ डाक्टर चापागाईँले थपे। 

कोराना भाइरस संक्रमणपछि नेपालमा पनि देखा परेका असरहरूमा ब्ल्याक फंगस (कालो ढुसी) र एमआईएससी पर्दछन्। कालो ढुसीको संक्रमण प्रौढहरुमा देखिएको छ।

उपचारमा प्रयोग हुने औषधी कालाजार हुँदा प्रयोग गरीने ‘एम्फोटेरेसीन बी’ र  मल्टी सिस्टम इन्फ्लामेटरी सिन्ड्रोमको लागि ‘मिथाईल प्रेग्निसोलम’ प्रयोग गरिन्छ ।

‘हामीसँग कोभिडपछि देखिएका असरहरुमा प्रयोग गरिने औषधि केही मात्रामा छ। अझै आवश्यकता पर्नसक्ने स्थितिलाई मध्यनजर गर्दै खरिदका लागि अनुमति दिइसकेका छौं।’

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भने–‘कोभिडको उपचारमा प्रयोग हुने र त्यसको असर देखिँदा प्रयोग हुने औषधि हामीसँग सकिनै लाग्दा नेपाल आउने क्रम जारी छ ।’ 

उनका अनुसार यस्ता किसिमका औषधिहरू भारतबाट आउने गर्छ। अहिले भारतले औषधि निर्यातमा रोक लगाएकाले अन्य देशहरुसँग औषधि छलफल गरिरहेको उनले बताए। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको दोस्रो लहर अझै बाँकी रहँदा यस्ता समस्या अझै धेरै बालबालिकामा देखिने भन्दै अभिभावकलाई सचेत रहन आग्रह गरेको छ । 

‘पोष्ट कोभिड सिन्ड्रोम वयस्कहरुमा पनि देखिएको छ तर बालबालिकामा अलि विशिष्ट किसिमको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले भने, ‘यसले बालबालिकाको छाला, मुटु, कलेजो, फोक्सो, मिर्गौला, आँखाजस्ता अंग सुन्निनेजस्ता समस्या देखा पर्छ ।’

यसले शरिरमा गाँठागुँठी हुुने, रगत जमेर छालामा कालो दाग देखिने, श्वास फेर्न गाह्रो हुने, मष्तिष्कसम्म असर पुग्दा बेहोस नै हुनसक्ने गम्भीर समस्या पनि देखा पर्न सक्ने उनले बताए।

‘कोभिड भएकामा अलि फरक लक्षण देखियो भने अभिभावक सचेत हुनुपर्छ । स्वास्थ्यकर्मीसँग सल्लाह लिइ हाल्नुपर्छ।’ पौडेलले भने।

कोभिड–१९ को पहिलो लहर सकिनै लाग्दा यस्तो समस्या बालबालिकामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । पहिलो लहरमा नै २२ जनामा (एमआईएससी) पुष्टि भएको थियो ।

कोरोनाको दोस्रो लहरमा संक्रमितको संख्या ओरालो लाग्दै गर्दा चिकित्सकहरुले पोष्ट कोभिड सिन्ड्रोम अझै बढीमा देखा पर्ने आशंका गरेका छन् । बालबालिकाको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले सवै अस्पतालहरुलाई तयारीमा लाग्न निर्देशन दिइसकेको छ।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले भने, ‘हामीले मन्त्रालयको निर्देशन अनुसार बालबालिकाको उपचारका लागि २० प्रतिशत बेड छुट्याइसकेका छौं । साथै आईसियु भेन्टिलेटर पनि तयार गरिसक्यौँ ।' 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म कोरोना संक्रमितमध्ये कूल ९ प्रतिशत बालबालिका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.