|

गाेरखा : श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पालुङटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएको जानकारी दिए।

घटना लगत्तै पक्राउ परेका कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको दाहालले बताए।

नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको प्रहरीले जनाएको छ। कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासँग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ। उनीहरुले ६ महिना अघिमात्र बिहे गरेका थिए। घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.