युरोकप फूटबलमा इटलीले विजयी शुरूवात गरेको छ।
गएराति रोमस्थित ओलम्पिक स्टेडियममा सम्पन्न उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले पराजित गरेको हो।
इटलीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक/एक गोल गरे। इटलीले एक गोल आत्मघाती उपहारमा प्राप्त गरेको थियो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, खेलको ५३ औँ मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटलीले शुरूवाती अग्रता बनाएको थियो।
६६ औँ मिनेटमा इमोबाइलले गोल गर्दै २–० गोलको अग्रता दिलाए। त्यसपछि खेलको ७९ औँ मिनेटमा लोरेन्जोले गोल गर्दै इटलीलाई ३–० गोलको जित दिलाए।
शुरूवाती जितसँगै समूह 'ए' को इटलीले ३ अंक बनाएर तालिकाको शीर्ष स्थानमा छ।
युरोकप फूटबलअन्तर्गत आज दुईवटा खेल हुँदैछन्। बेलुका पौने ७ बजे वेल्स र स्वीट्जरल्याण्डबीच प्रतिस्पर्धा हुँदा राति पौने १० बजे डेनमार्क र फिनल्याण्ड भिड्नेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।