|

गोरखा : आज गण्डकीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार बन्ने लगभग पक्कापक्की भएको छ। 

यदि नयाँ सरकार गठन भए प्रदेश सरकार गठन भएको करिब ३१ महिनासम्म प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको नेपाली कांग्रेसले नेतृत्व सम्हाल्नेछ। अर्थात्, कांग्रेसका संसदीय दलका नेता समेत रहेका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्नेछन्।

शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आवश्यक पर्ने ३१ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा (राजमो), जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन्। दाबी पत्रमा कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका २ र स्वतन्त्र प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक गुुरुङ) ले हस्ताक्षर गरेका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाबाट विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। ।  संविधानको धारा १६८ ९३० बमोजिम दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले बिहीबार प्रदेश सभाबाट विश्वास गुमाएका थिए।

मन्त्रालय बाँडफाँट छलफलमा गठबन्धन

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गरेको विपक्षी गठबन्धन मन्त्रालय बाँडफाँटबारे छलफल गरिरहेका छन्। 

पोखराको लेकसाइडस्थित सांग्रिला रिसोर्टमा हिजो साँझदेखि बसेका गठबन्धनका ३१ प्रदेश सभा सदस्यहरू यतिबेला को-को सरकारका जाने भन्ने विषयमा छलफलरत छन्‌।

​जसपाकी प्रदेश सभा सदस्य धनमाया लामाले भनिन्, ‘अहिले हामी छलफलमा नै छौँ। केही समयमा टुङ्गो लाग्छ।’

स्रोतका अनुसार कांग्रेसका मुख्यमन्त्रीसहित माओवादीका एक र जसपाका एक प्रदेश सभा सदस्य गरी तीन जनालाई विना-विभागीय मन्त्रीको सपथ खुवाउने गरी छलफल भइरहेको छ। राजमोले भने सरकारमा नजाने बताएको छ।

मन्त्रालय बाँडफाँटको टुङ्गो केहीबेरमा लाग्ने एक प्रदेश सभा सदस्यले बताएका छन्‌।​

प्रदेश प्रमुखले शुक्रबार नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज दिउँसो तीन बजेसम्म रहेको छ। यस अवधिमा जो-कोही प्रदेश सभा सदस्य बहुमतको दाबी गर्दै नयाँ सरकार गठन प्रक्रियामा जान पाउनेछन्।

पेश भएको दाबी हेरेर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.