|

थप्पड हाने, गाला दुख्छ

लठ्ठी हाने, सुम्लो उठ्छ

घाँटी अठ्याए, नीलडाम बस्छ

भ्वाक्कै पछारे, नाक फुट्छ

मुक्कै बजारे, दाँत झर्छ

टाउको ठोक्दे, टुटिल्को उठ्छ

निर्घात चुटे, हड्डी भाँचिन्छ

च्वाट्टै काटे, रगत आउँछ

तर, हात, खुट्टा, लुठ्ठी, छुरी

कसैले केही नचलाउँदा नी

यो चित्त भने किन दुख्छ?

 

दुख्ने चित्त, छाम्न खोज्यो,

अदृश्य यो, भेटिँदैन कतै,

तर दुख्छ किन सधैँ?

रोगको बढ्दो त्रास

बाढी पहिरो छ सबका माझ

व्यवसाय भयो सबै चौपट

जता हेर्‍यो, उतै छ संकट

मुखियाहरु खै केमा हो लम्पट?

बिचरो दुखेको यो चित्तको

कसले कसरी गर्ने हो अब मर्मत?

 

नदेखिने चित्त यो

उसको, मेरो छ भन्छन् सबको

‘सम्वृद्ध’ छ रे उसको त

वित्तमाथि अडेको, त्यो ‘शुद्ध’ चित्त

अर्काको भने तीतो अति कडा

कुहेको पित्त लेपिएको त्यो ‘कालो’ चित्त

कसैको त छन् रे साह्रै कमलो

तातो आफ्नै सासले पग्लने लितिक्क,

दुनियाँका चाल देखेर दुख्ने

मेरैमात्र हो कि यो चित्त, विचित्र?

 

लौ भन साथी

तिम्रो त्यो लुकेको चित्त

फुकेर के भन्छ ?

सन्तोषले मुस्कुराउँछ कि

रिसले मुर्मुरिन्छ ?

आशाले लत्रिन्छ कि

निर्भिक भई उभिन्छ?

 

तारक धिताल

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.