कांग्रेसलाई भने सरकारमा जान हतारो

|

धनगढी : सत्तारूढ दल नेकपा एमाले सुदूरपश्चिम ओली समूहका प्रदेश सांसद रतनबहादुर थापाले संघीय प्रणालीमा प्रदेश सरकारको औचित्य नरहेको भन्दै यो केवल बोझ मात्र भएको बताएका बताएका छन्।

शुक्रबार सुदूरपश्चिम प्रदेशसभामा बोल्दै नीति तथा कार्यक्रमको आलोचना गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

‘संघीयतामा प्रदेश सरकार बोझ मात्र भएको छ।  सबै जनताको गुनासो पनि यही छ,’ सांसद रतनबहादुर थापाले भने, ‘त्यसमा पनि सुदूरपश्‍चिम प्रदेश सरकार एक नम्बर बोझ भएको छ।’ उनले वर्तमान सरकारबाट कुनै पनि राम्रो काम नभएको टिप्पणी गरे।

सुदूरपश्चिम प्रदेशसभामा आगामी वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममाथि शुक्रबारदेखि छलफल सुरु भएको छ। छलफलमा भाग लिएका सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिए भने विपक्षी सांसदले आलोचना गरे।

नीति तथा कार्यक्रममाथिको छलफलमा मुलुकको राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको थियो। माओवादी केन्द्रका प्रदेशसभा सदस्य महेशदत्त जोशीले कठिन परस्थितिमा पनि विश्वासको मत प्राप्त गरेर सरकार जोगाउन सफल भएको भन्दै मुख्यमन्त्रीलाई बधाई दिए।

उनले ५ वर्षसम्म सरकारको नेतृत्व गर्न भट्टलाई सुझाव दिए। ‘सुरुमा तपाई मुख्यमन्त्री हुनेबेला ३९ मत पाउनुभएको थियो। अहिले ३० मत पाए पनि विपक्षमा मतदान गर्नेको संख्या घटाउन पनि सफल हुनुभएको छ,’ जोशीले भने, ‘यो तपाईंमा भएको कार्यकुशलताकै परिणाम हो। अहिले तपाईंलाई अपमानित शब्द प्रयोग गर्नेहरु पनि पछि हटेका छन्।’

ओली समूहद्वारा नीति तथा कार्यक्रमको उपहास

एमालेकै ओली समूहका सांसद लीलाधर भट्टले भने सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको उपहास गरेका छन्। उनले हरेक निर्वाचन क्षेत्रमा २५ शय्याको अस्पताल निर्माण गर्ने कुरा हास्यास्पद भएको बताए।

‘संकट पर्दा त दुई वर्षसम्म १० शय्याको अस्पताल बनाउन नसक्ने सरकारले २५ बेडको अस्पताल बनाउने भन्दा गजब लागेको छ,’ उनले भने।

‘यसअघि प्रस्तुत बजेटको प्राथमिकता र सिद्धान्तसँग नीति तथा कार्यक्रम ५० प्रतिशत मेल खाँदैन,’ सांसद भट्टले भने, ‘अब बजेट आउने बेला प्राथमिकता, सिद्धान्त र नीति तथा कार्यक्रममा उल्लेख भएको कार्यक्रमभन्दा एक सय प्रतिशत फरक बजेट आउने होला।’

उनले थपे, ‘निजामती कर्मचारीको उपचारका लागि निजामती अस्पताल सञ्चालन, सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पताल बनाउने धेरै राम्रो कार्यक्रम सरकारले ल्याएको छ। यति राम्रा कार्यक्रमले पक्कै पनि बजेटमा स्थान पाउनेछन्। शब्दावली कपी पेष्ट गरे जस्तो हुनेछैन।’

कांग्रेसलाई भने सरकारमा जान हतारो

विश्वासको मत पाएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले कांग्रेसलाई समेत सरकारमा ल्याउने विषयमा छलफल गर्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर नेकपा एमाले ओली समूहका प्रदेशसभा सदस्य लीलाधर भट्टले केही दिनअघि प्रदेशसभामै कांग्रेस पनि सरकारमा जान लागेको सुनेको भन्दै ‘अग्रिम बधाई’समेत दिए।

शुक्रबारको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक गोविन्द बोहराले सत्तामा जान र सरकारको नेतृत्व गर्न कांग्रेस तयार रहेको बताएका छन्।

‘धेरै साथीहरुले कांग्रेस सरकारमा जाँदैछ भनेको कुरा सुनेँ,’ बोहराले भने, ‘म स्पष्ट पार्न चाहन्छु अहिले नै हामीलाई सत्तामा जान रहर छैन। तर, प्रजातन्त्र, राष्ट्रियता बचाउनका निम्ति कांग्रेस सरकार चलाउन तयार छ।’ नेकपा एमालेलाई लक्षित गर्दै सकभर पार्टीभित्र झगडा गरेर आफूहरु नै कमजोर नबन्न उनले सुझाए।

यस्तै, कांग्रेसका अर्का सांसद भरतबहादुर खड्काले पनि सरकारसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताएर लचकदार टिप्पणी गरेका थिए।

यतिबेला सुदूरपश्चिममा एमाले आपसी किचलोमा बढेको छ। दुई धारमा विभाजित एमालेभित्र माधव नेपाल पक्षधर संसदीय दलका १७ जना सांसदहरुले माओवादी नेतृत्वमा रहेको मुख्यमन्त्री त्रिलोचन भट्टको सरकालाई विश्वासको मत दिएका थिए भने ओली समूहका ७ जना एमाले सांसदहरुले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए। त्यसलगत्तै आएको सरकारले बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।

शुक्रबारदेखि सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल शनिबार पनि जारी रहनेछ। शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा पनि छलफललाई निरन्तरता दिइने प्रदेशसभा सचिवालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.