|

विराटनगर : प्रदेश १ को प्रदेशसभामा पेस भएको नीति तथा कार्यक्रमको पक्षमा बोल्न नेकपा एमालेले आफ्ना सांसदलाई पत्राचार गरेको छ।

एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पत्र लेख्दै प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रमको पक्षमा बोल्न निर्देशन दिएका हुन्।   

जेठ २७ गते उक्त पत्र पठाइएको नेकपा एमाले स्रोतले जनाएको छ। जेठ २४ गतेबाट सुरू प्रदेशसभामा नबोलेका माधव पक्षका सांसदले चिठी आएपछि शनिबार नीति तथा कार्यक्रममा आफ्नो धारण राखे। तर प्रमुख सचेतकको पत्र विपरीत कार्यक्रमको आलोचना गरेका थिए।

‘छलफलमा भाग नलिनु भनेको थिए। तर माननीय बुद्धिकुमार राजभण्डारीको चिठीले यहाँ उभिन बाध्य भएँ,’ माधवकुमार नेपाल पक्षका सांसद उपेन्द्रप्रसाद घिमिरेले भने, ‘सरकार किन यति सारो डराएको रु हामी त सत्तापक्षको सांसद हो।’

सरकारलाई विश्वास नभएरै आफूहरुलाई पत्र पठाइएको उनले बताए। ‘सरकारलाई विश्वास छैन, मलाई मात्रै चिठी लेखेको हो या अन्य माननीय ज्यूहरुलाई पनि चिठी लेखेको छ ?’ उनले भने, ‘माननीय मुख्यमन्त्री शेरधन राईज्यूको हवला दिएर चिठी लेखिएको छ, बोल्नकै लागि चिठी लेखिनु यो गरिमामय सदनमा उपयुक्त छैन।’

प्रदेश सरकारले तेस्रो पटक नीति तथा कार्यक्रम ल्याएको हो। यस अघिको नीति तथा कार्यक्रममा चिठी पठाइएको थिएन। पहिलो पटक नीति तथा कार्यक्रमको पक्षमा बोल्नका लागि चिठी आएको उनले बताए।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्न नसकेको बताए। मध्यम र दलाल पुँजीपति वर्गलाई हित हुने बजेट आउने गरेको बताउँदै उनले भूमिहीन किसान तथा विपन्नका लागि नीति कार्यक्रमले नछोएको बताए।

प्रदेशसभा सदस्य लीलाबल्लभ अधिकारीले पनि प्रमुख सचेतकबाट नीति तथा कार्यक्रमको पक्षमा बोल्नका लागि चिठी आएको बताए। तर शनिबार बोलेका माधव नेपाल पक्षका सांसदहरूले नीति तथा कार्यक्रमले जनताको समस्यालाई सम्बोधन गर्न नसकेको बताएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.