अष्टलक्ष्मी भन्छिन् : स्पष्टीकरण फिर्ता लिएपछि एकताको सन्देश दियौं

|

काठमाडौं : शीर्ष नेताहरूको विवादले विभाजनको डिलमा पुगेको नेकपा एमाले बागमती प्रदेशमा एकजुट भएको छ। आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित गर्ने क्रममा एमालेको एकता देखिएको हो। 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई एकपछि अर्को गर्दै बाइपास गरेर निरन्तर अघि बढेपछि पार्टी विभाजनको डिलमा पुगेको हो।

आफ्नो पार्टीको अध्यक्ष तथा प्रधानमन्त्री बहिर्गमन पक्षमा उभिएका नेता नेपाल समूहका नेताहरू समेत बागमती प्रदेशमा एक भएका छन्। 

ओली अब सच्चिएर अघि बढ्न नसक्ने भएकाले नयाँ पार्टी दर्ता गरेर अघि बढ्नुपर्ने बताउँदै आएकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यको पहलमा बागमतीमा पार्टी एकताबद्ध भएको हो। 

केन्द्रमा जस्तो प्रदेशमा समेत केन्द्रमा जेजस्तो भए पनि प्रदेशमा एकजुट भएर अघि बढ्न मुख्यमन्त्री तयार भएपछि सहमति बनेको शाक्य बताउँछिन्। 

उनी भन्छिन्, ‘केन्द्रमा जस्तो प्रदेशमा पनि अन्य गुटको व्यक्तिसँग बोलचालसमेत हुँदैनथ्यो। तर, हामी सत्तापक्ष भए पनि विपक्षीजस्तो भएर बस्नुपर्ने भयो। मिल्ने आधार तय गर्ने कुरा गरेपछि डोरमणिजीले दलको बैठकमा बोलाउनुभयो। त्यहाँ मैले हाम्रो कुरा राखेका थिएँ। त्यसपछि एकताबद्ध गरेर अघि बढ्न उहाँ सहमत हुनुभयो।’

प्रदेशमा पार्टीलाई एकजुट बनाएर अघि लैजान राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाएर समाधानको खोजी भएको उनले बताइन्। ‘उहाँहरूले हामीलाई कारबाहीका लागि स्पष्टीकरण सोधिएको थियो। तर, मिलौँ भन्ने प्रस्ताव गरेर लिखित रुपमा नै फिर्ता लिएपछि हामी सहमत भएका हौँ’ उनले भनिन्, ‘पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजान उहाँहरूले अब केन्द्रको इसारामा चल्न छोड्छु भन्नुभएको छ।’ 

केन्द्रमा जे जस्तो भए पनि प्रदेशमा आत्मालोचन गरेर एकताको सन्देश दिनुपर्नेमा सबैको एकमत रहेको उनको भनाइ छ। 

‘पार्टीलाई एकताबद्ध बनाएर लैजान प्रदेशमा मैले नेतृत्व गरें, सबै ठाउँमा यसैगरी अगाडि बढ्ने हो भने अध्यक्ष ओलीको कारणले पार्टी विभाजन नै हुन सक्दैन’, उनी भन्छिन्, ‘पार्टी विभाजनको पक्षमा हामी कहिल्यै होइन। तर, उहाँले दम्भ छाडेर पार्टीलाई विधि र पद्धतिअनुसार चलाऔँ भनेका हौँ।’ 
 
प्रधानमन्त्री ओलीनिकट बागमती प्रदेशका पर्यटन मन्त्री सरेस नेपाल पनि बागमती प्रदेशको एकताले केन्द्रमा पनि सकारात्मक सन्देश दिएको तर्क गर्छन्। भन्छन्, ‘अहिले हामी बजेट निर्माण प्रक्रियामा छौँ। नीति तथा कार्यक्रम बहुमतको साथ पास भयो। एमालेका सबै एकमत हुनुभयो। यसअघिको छलफलमा सबैको सुझाव आएको थियो। त्यहीअनुसार ल्याएपछि बहुमतका साथ अघि बढ्यो।’ 

पार्टी केन्द्रीय कार्यालयमा दुवै गुटको नेताहरूको बैठकपछि नै बागमतीमा एकताबद्ध भएर अघि बढ्ने बाटो कोरिएको उनको भनाइ छ। 

‘पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षको बैठक बसेको थियो। त्यहाँ १० जनाको कार्यदल गठन गरेको थियो। त्यसभित्र पनि ४ जनाको अर्को कार्यदल बनाएका थियौँ’ उनले भने, ‘सोही कार्यदलमार्फत पार्टी एकताबद्ध रुपमा अघि बढ्न सम्भव भयो।’ 

केन्द्रको विवादमा पार्टी अध्यक्ष ओलीले ल्याएको ६ सूत्रीय एकताको प्रस्तावको आधारमा असन्तुष्ट पक्ष चल्नुपर्ने उनको तर्क छ। ‘अदालतले पनि पार्टी एकताको आशयको निर्णय दिएको छ। त्यसलाई सम्मान गर्नुपर्छ। तर, कसैललाई चित्त नबुझे पुनरावलोकनमा जान सक्छ’, नेपालले भने, ‘पार्टीलाई विभाजन गर्न नहुने भनेर तल्लो तहबाट समेत दबाब भइरहेको छ।’

विगतलाई केलाउँदा पनि पार्टी विभाजन गरेर जानेहरू सफल नभएको उनी बताउँछन्। 

नेपाल भन्छन्, ‘पार्टी विभाजन गरेर जानु भनेको विस्तारै सकिनु नै हो। त्यो विगतले देखाएको छ। भनेको जनतालाई धोका दिएको प्रस्ट हुन्छ। प्रदेशमा जस्तै केन्द्रमा पनि एकता प्रक्रिया अघि बढ्छ। एकताको पक्षमा नउभिनेहरू सकिने भएकाले त्यसले पार्टीमा कुनै असर गर्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.