२७ व्यापारी कारबाहीमा

|

बैतडी : निषेधाज्ञाको समयमा बजारमा महँगी बढेको भन्दै उपभोक्ताको गुनासो आउन थालेपछि बैतडीमा बजार अनुगमन कार्यलाई तीव्र पारिएको छ। 

महामारीको बेला कालोबजारी नहोस् भनेर जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ। 

निषेधाज्ञाको अवधिमा हालसम्म ११ पटक बजार अनुगमन गरिएको छ। जिल्लामा गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी छ। निषेधाज्ञामा कालोबजारी भएको गुनासो आएपछि  जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन सुरु गरिएको थियो। 

हालसम्म ११ पटक बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। उनले भने, ‘निषेधाज्ञाको समयमा कालोबजारी भएको, महंँगी बढेकोलगायत गुनासा आएपछि अनुगमन समितिले अनुगमन थालेका हौं।’

हालसम्म जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाका विभिन्न स्थानमा बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

यो अवधिमा हामीले ५४ वटा पसलमा अनुगमन गर्दा २७ वटा पसलेलाई जरिवानासहित कारबाही गरिएको सूचना अधिकारी भारतीले बताए। २७ पसलेमध्ये ६ जनालाई २० हजारका दरले, १७ जनालाई पाँच हजारका दरले र ४ जनालाई २ हजार एक सयका दरले जरिवाना गरिएको छ।

२३ जनालाई उपभोक्ता संरक्षण ऐन २०७५ र चार जनालाई संक्रामक रोग ऐन २०२० अनुसार जरिवाना गरिएको हो।  सूचना अधिकारी भारतीले भने, ‘महामारीको समयमा कालोबजारी गर्ने, उपभोक्ता ठग्ने, अखाद्य सामग्री बिक्री वितरण गर्ने लगायतलाई जरिवाना गरेका हौ।’

जिल्लामा सञ्चालित खाद्य पसल, किराना पसल, डिलर, तरकारी पसल, औषधि पसल, मदिरा पसल लगायतमा अनुगमन गरिएको हो। 

अनुगमनका क्रममा धेरै ठाउँमा म्याद नाघेका अखाद्य सामग्री भेटिएका, मूल्यसूची नराखिएको लगायत समस्या भेटिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख कृष्णदत्त लेखकले बताए।  उनले भने, ‘अनुगमनका क्रममा व्यापारीहरुलाई कालोबजारी नगर्नेलगायत विभिन्न कुरामा सचेत समेत गराएका छौं।'

जिल्लाका कुनै स्थानमा कालोबजारी भइरहेको पाइएमा जानकारी गराउनसमेत प्रशासनले आग्रह गरेको छ। महामारीको समयमा कालोबजारी गर्ने, अखाद्य वस्तुहरु बिक्री गर्नेमाथि कानुनअनुसार कारबाही हुने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए।

उपभोक्तालाई पनि कुनै पनि सामान किन्दा उपभोग्य मिति हेरेर किन्न आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालयले जेठ ९ गतेदेखि बजार अनुगमन सुरु गरेको थियो।

बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञामा बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र फलफूलका पसलहरु खोल्न दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.