|

गोरखा : गत बिहीबार मात्रै खेलकुद मन्त्रीबाट राजीनामा दिएका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) पुनः मन्त्रीको शपथ लिने भएका छन्।

मन्त्री पदबाट राजीनामा दिएको ४८ घण्टा नबित्दै मनाङ्गेले आज पुनः विनाविभागीय मन्त्रीका रूपमा सपथ लिने पक्का भएको जसपाका सांसद हरिशरण आचार्यले जानकारी दिए।

यसअघि पृथ्वीसब्बा गुरूङको मन्त्रिपरिषदमा मनाङ्गे खेलकुद मन्त्री थिए। तर, आफू सामेल भएको सरकारका मुख्यमन्त्रीलाई मनाङ्गेले बिहीबार विश्वासको मत दिएनन्।

प्रदेश सभाबाट विश्वास गुमाएपछि मुख्यमन्त्री गुरुङ पदमुक्त भएको केही घण्टाभित्रै मनाङ्गेले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसअघि एमालेलाई समर्थन गरिरहेका उनले मन्त्री पदबाट राजीनामा दिएर विपक्षी गठबन्धनको बहुमत पुर्‍याउन सहयोग गरे।

उनले विपक्षी गठबन्धनलाई समर्थन गरेसँगै आज प्रदेश प्रमुख सीताकुमारी पौडेलले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिन्।

पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि उनी निर्णायक थिए। बिहीबार अघिसम्म विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादीका ११, जसपाका २, राजमोका दुई सांसद मात्रै साथमा थिए।

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक थियो। मनाङ्गेले विपक्षी गठबन्धनलाई साथ नदिएको भए कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्न असम्भव देखिन्थ्यो।

को हुन् मनाङ्गे?

गुण्डा नाइकेको छवि बनाएका मनाङ्गे मनाङ प्रदेशसभा ‘ख’ बाट विजयी गण्डकी प्रदेश सभा सदस्य हुन्। उनले नेकपा (तत्कालीन वाम गठबन्धनमा एमाले) को समर्थनबाट २०७४ को प्रदेश सभा चुनाव जितेका थिए।

तर, सांसद पदको सपथ लिनु अगाडि नै सर्वोच्चको फैसला आएपछि उनी फरार भएका थिए। 

वैशाख २०७५ मा पक्राउ परेका मनाङ्गेले फैसला पुनरावेदनका लागि सर्वोच्चमा निवेदन दर्ता गराई धरौटी रकम बुझाएपछि तारेखमा छुटे। उनलाई तारेखमा छाड्न सर्वोच्चले डिल्लीबजार कारागारलाई आदेश दिएको थियो।

जेलबाट छुटेलगत्तै सांसद पदको सपथका लागि निवेदन दिए। निवेदन दिएपछि नेकपा (तत्कालिन नेकपा माओवादी र नेकपा एमालेको गठबन्धनपछि बनेको पार्टी) प्रवेश गर्ने सहमतिपछि सपथ लिए।

उनले माघ १४ गते २०७५ मा सभामुख नेत्रनाथ अधिकारीबाटे सांसदको सपथ खाएका हुन्। लगत्तै नेकपा प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनाङ्गेलाई पार्टी प्रवेश गराए। गुण्डा नाइकेको छवि बनाउँदै गर्दा नेपाली कांग्रेसको तरुण दलमा आबद्ध उनी नेकपा प्रवेश गर्नु अगाडि राप्रपामा आबद्ध थिए। 

त्यसयता एमाले नेतृत्वलाई साथ दिँदै आएका सांसद मनाङ्गेले नेकपा विभाजनपछि आफुलाई स्वतन्त्र सांसद दाबी गर्न थाले। उनले संसदमा आफ्नो लागि स्वतन्त्र सांसदको छुट्टै कुर्सी हुनुपर्ने माग पनि गरेका   थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.