खेतीयोग्य जमिन र बस्ती बचाउन कोही लागेनन्, खोला दोहनमा सबैको मिलिभगत!

|

गुल्मी : इश्मा गाउँपालिका वडा नम्बर १ का ७४ वर्षीय जीवलाल खनालको छल्दी खोला किनारमा १० रोपनी खेत छ। उनलाई यस वर्ष रोपाइँ गर्न नपाइने हो कि भन्ने चिन्ताले रातदिन सताइरहेको छ।

खोलाको किनारैमै खेत हुनु र रोपाइँ गर्न नपाइनेभन्दा अचम्म पनि लाग्न सक्छ। कारण  हो, छल्दीखोलाबाट अत्याधिक गिटी बालुवा निकाल्नु।

खोला अत्याधिक मात्रामा दोहन हुँदा उनको खेतमा जाने कुलोभन्दा झन्डै ५/७ मिटर तल पुगेको छ नै। कुलो नै नास हुने अवस्थमा पुगिसकेको छ। जसकारण खेतमा रोपाइँ गर्न नपाइने र खेत नै कटान हुने चिन्ताले उनलाई दिनरात पिरोलेको छ। 

खेतीयोग्य जमिन र बस्ती बचाउन कोही लागेनन्, खोला दोहनमा सबैको मिलिभगत!

​जीवलालका ४० वर्षीय छोरा खिमानन्द सबैको ध्यान खोला दोहनमा केन्द्रित भएको आरोप लगाउँछन्। नियन्त्रण गर्ने निकाय नै खोला दोहनमा लागेको उनले बताए। उनले बस्ती र खेतीयोग्य जमिन बचाउन कसैको ध्यान नगएको भन्दै सबै कमाउ धन्दामा लागेकाले समस्या भएको गुनासो गरे। 

'खेतीयोग्य जमिन र बस्ती बचाउन लाग्नुपरो भन्दा गाउँपालिकाले निर्माण व्यवसायीले गरिदिन्छ भन्छ निर्माण व्यवासायीलाई भन्दा गाउँपाालिकालाई भन भन्छ,' उनले दुखेसो गरे। 

खोला सीधै घरमा पस्ने चिन्ता

यस्तै सोही स्थानका ३१ वर्षीय चुराबहादुर मुखियाको घर पनि खोला किनारमै छ। उनलाई वर्षायामको समयमा खोला घरभित्रै पस्ने हो कि भन्ने चिन्ताले सताएको छ।

खोलाको बालुवा र गिटी मनपरी रुपमा निकालेको देख्दा र वर्षायामलाई सम्झँदा अहिल्यैदेखि नै निद्रा पर्न छाडेको उनी बताएँछन्। 'बस्ती र खेतीयोग्य जमिन जोखिममा छन् तर यसप्रति सरोकारवाला कसैले ध्यान पुगेन,' उनले भने। 

'खोला दोहन नगर भन्दा लालपुर्जा देखा भन्छन्'

अवैध रुपमा खोला दोहन भएको स्थानीय २६ वर्षका किरण नेपालीलाई पटक्कै मन परेको छैन। तर उनी बोलेको कसैले सुन्नेबाला पनि छैन। 

बाउबाजेका पालादेखि घर्ती फाँटमा वैकुण्ठ बहादुर चन्दको जग्गामा खेतीपाती गर्दै आएका उनलाई खोला दोहन नगर भन्दा त यहाँको होइनस् ,तेरो जग्गा भए लालपुर्जा देखा भन्दै धम्काउने गरेका उनले बताए।

अत्यधिक खोला दोहन गर्दा खेतीयोग्य जमिन, बस्ती जोखिममा परेको स्थानीयहरू बताउँछन्। खोलामा ठूला ठूला खाडल बनाई गिटी बालुवा निकाल्दा गाई बस्तुहरूलाई ओहोर दोहोर गराउन समेत समस्या छ।

प्रतिवेदन एकातिर, खोला दोहन अर्कातिर

इश्मा गाउँपालिकाले २०७७ असोजमा गरेको प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा खोला किनारबाट ०.५ मिटर गहिराइसम्म ढुंगागिटी र बालुवा निकान पाउने व्यवस्था छ। 

र त्यस खोलामा अहिले ठूला ठूला खाडल बनाई नदीजन्य पदार्थ दोहन भइरहेको छ। ​

प्रतिवेदनमा खोलाबाट नदीजन्य पदार्थ निकाल्न ३५ देखि ५५ मिटरसम्म चौडाइ कायम गरिएको छ। निर्माण व्यवसायीहरूले सम्झाैताविपरीत पाँच गुणाभन्दा बढी खोला उत्खनन गरेका गाउँपालिकाका  प्राविधिक झलक खत्री बताउँछन्।

नियमअनुसार खोला किनारमा पाँच सय मिटर वरपर उत्खनन गरिएको नदीजन्य पदार्थ डम्पिङ गर्न र उत्खननमा डोजर ,स्काभेटर प्रयोग गर्न पाइँदैन। तर यहाँ खोला किनारमै डम्पिङ र ठूला ठूला डोजरहरू र स्काभेटर प्रयोग गरेर खोला दोहन भएको छ।

यता इश्मा गाउँपालिकाकी उपाध्यक्ष विमला खत्रीले खोला दोहन नियन्त्रण गर्न आफूले कहीँ कतैबाट साथ नपाएको बताइन्।

बस्ती र खेतीयोग्य जमिन जोखिममा परेको उजुरी छैन

इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले बस्ती र खेतीयोग्य जमिन जोखिमा परो भनेर पालिकामा कसैले उजुरी नगरेको बताए। आफूहरूले आइइए गरेर ठेक्का लगाएको दाबी गर्दै नियमविपरीत गरेको भए ठेकेदार नै जवाफदेही हुनुपर्ने उनको भनाइ छ।

बस्ती र खेतीयोग्य जमिन जोखिममा रहेछ नि भन्ने प्रश्नमा उनले जोखिममा भए सम्बन्धित ठेकेदार नै जवाफदेही बन्नुपर्ने दाबी गरे।

प्रहरीको देखावटीपन

गुल्मीमा यता एक वर्षसम्म सुतेर बसेको प्रहरी प्रशासन बल्ल जागेको छ। कैयौँ पटक सोही स्थान भएर ओहोरदोहोर गर्ने प्रहरी प्रशासन विभिन्न संचार माध्यममा समाचार आएपछि देखावटी रुपमा भए पनि खोला किनारको अनुगमन गर्न पुगेको छ।

पत्रकारहरू खोला किनारमै स्थलगत रिपोर्टिङमा गएपछि प्रहरी नायब उपरीक्षक र प्रहरी उपरीक्षकसहित टोली खोला किनारमा पुगेको हो। प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराइले कुनै स्थानीय तहहरूले मापदण्डविपरीत खोला दोहन भयो भनेर जानकारी नगराएकाले समस्या भएको बताए।

स्थानीय तहहरूले लगाएको ठेक्कामा उहाँहरूले नियमन गर्नुपर्ने र नसके प्रहरी प्रशासनलाई खबर गर्नुपर्ने उनको भनाइ छ। अबदेखि आफूले जिल्लाका कुनै खोला किनारमा ठूला ठूला डोजर र टिपरहरू प्रवेश गरे रोक लगाउने बताए।

गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै अनुगमन र नियन्त्रण गर्ने जिम्मेवारी स्थानीय तहको भएको बताइन्। आवश्यक परे प्रहरी प्रशासनलाई खबर गर्नुपर्नेमा उनले बताइन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.