|

सुर्खेत : कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ। शनिबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रमसार्वजनिक गरेका हुन्। 

नीति तथा कार्यक्रम प्रायः पुराना आयोजना र कार्यक्रमलाई निरन्तरता दिइएको छ। यस्तै, नीति तथा कार्यक्रम कोभिड महामारी रोकथाममा केन्द्रित छ। कोरोना महामारीलाई मध्यनजर गरी प्रदेश सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा र उत्पादनमुलक स्वरोजगारका कार्यक्रमलाई प्राथमिकता दिएको छ।

नीति तथा कार्यक्रममा कोभिड–१९ को प्रभावका कारण विकास प्रयासमा गतिरोध उत्पन्न भएको यस प्रतिकूल परिस्थितिबीच सुझबुझपूर्ण प्रतिकार्य गर्दै कर्णाली प्रदेशको ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रमहरू केन्द्रित गरिएको बताइएको छ।

कर्णालीमा दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगारः दिगो विकास र समृद्धिको लागि पूर्वाधार’ भन्ने मूल ध्येय लिइएको नीति तथा कार्यक्रममा उल्लेख छ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता 

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिइएको छ। प्रदेश राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा अक्सिजनसहित ५०० शय्याको अस्पताल र १० वटै जिल्लामा एक भेन्टिलेटरसँगै अक्सिजनसहितको ५० यश्याको अस्पताल स्थापना गर्ने उल्लेख छ।

यस्तै, प्रदेशकै ठूलो अस्पतालमा रहेको प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गर्ने र कर्णालीका प्रत्येक जिल्लामा सरुवारोग अस्पताल स्थापना, जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आइसियु उपचार, प्रत्येक स्थानीय तहहरुमा १५ शय्याको अस्पताल र प्रयोगशालाको व्यावस्थापन गरिने उल्लेख छ।

केबुलकार बनाउने लक्ष्य

कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्द्धन, आवागमन र आर्थिक विकासका गतिविधिहरूलाई टेवा पुग्ने गरी सुर्खेत–सिद्धपाइला, कालीकोट कोटवाडा–मान्म, मुगुको रारा–मुर्माटप लगायतका स्थानहरुमा केवलकार निर्माणको सम्भाव्यता अध्ययन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाइने उल्लेख गरिएको छ।

त्यस्तै, सुरुङमार्ग, जलमार्ग र रोप–वे लगायतका रणनीतिक महत्वका पूर्वाधार आयोजनाको सम्भाव्यता अध्ययन गरी सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गने नीति तथा कार्यक्रम छ।

सीपमा जोड

सकारले स्थानीय ज्ञान, सीप, श्रोत, साधन तथा परम्परागत एवं आधुनिक प्रविधि उपयोग गर्दै उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गरी युवाहरूलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

‘स्थानीयस्तरमै न्यूनतम रोजगारी एवम् जीविकोपार्जनका लागि मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रदेश विशेष कार्यक्रमको रुपमा निरन्तरता दिइनेछ’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘परम्परागत सीप, हस्तकला र प्रविधिलाई प्रवर्द्धन गरी युवालाई रोजगारीको अवसर सिर्जना गर्न ‘सीपसँगै सहयोग’ कार्यक्रम सञ्चालन गरिने छ। यसका लागि मागमा आधारित उद्यमशीलता तथा सीप विकास तालिम, पूँजी, प्रविधि र बजारीकरणमा सहयोगको व्यवस्था मिलाईनेछ।’

एक जिल्ला एक उद्योग ग्राम

निर्यातमुलक उद्योग तथा व्यवसायहरूको स्थापना, विकास, विस्तार, प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्दै आत्मनिर्भर एवं दिगो प्रदेश अर्थतन्त्र विकास गर्ने नीति अवलम्बन गरिने बताइएको छ।

‘एक जिल्ला एक उद्योग ग्राम स्थापना’ कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ।  यसका लागि उपलब्ध स्थानीय कच्चा पदार्थको लगत, सम्भाव्यता तथा वातावरणीय अध्ययन र जग्गा प्राप्तिको कार्य सम्पन्न भई विस्तृत परियोजना प्रतिवेदन तयार भएका जिल्लामा उद्योग ग्रामको पूर्वाधार निर्माण गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘युवा तथा लक्षित वर्गलाई स्वदेशमै स्वरोजगार बनाउन होमस्टे सञ्चालन, औद्योगिक जनशक्ति विकास एवं उद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ।’

वस्तु विकास केन्द्रको स्थापना

कर्णालीको जडीबुटी, रत्नपत्थर तथा रेसादार (अल्लो, लोक्ता, बाबियो, केतुकी), देवदार तेल, झ्याउ, भोजपत्र, सुनगाभा आदि जस्ता स्थानीय कच्चा पदार्थको विकास तथा प्रवर्द्धनका लागि सार्वजनिक–निजी साझेदारीमा विषयगत वस्तु विकास केन्द्रको स्थापना गरिने भएको छ।  

सबै नागरिकलाई खोप र कोरोना परीक्षण

साथै कर्णालीका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने र कोभिड पुष्टि भएका निःशुल्क उपचार तथा पोषिलो खानो कुराको व्यावस्था मिलाउने, भारत तथा तेस्रो मुलुकबाट कर्णाली फर्किएका जो सुकै नागरिकलाई नाकाहरुमा कोरोना परीक्षण गर्ने भएको छ।

साथै, उच्च हिमाली जिल्लाहरुमा कोरोनाका जटिल बिरामीलाई हवाइजहाजबाट उद्धार गरी सम्बन्धित कोभिड अस्पतालमा लगरे उपाचार गर्ने, संक्रमितको मनोबल बढाउन विज्ञ तथा स्वास्थ्यकर्मीहरुबाट ध्यान, योग गराइने साथै कर्णालीका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक तथा एक स्थानीय तह एक स्वास्थ्यकर्मी खटाइने नीति तथा कार्यक्रममा उल्लेख छ।

उपचार सहायता कोष स्थापना

दैनिक ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका घरपरिवारलाई राहतको व्यवस्था गरिने, प्राथमिक तथा घरेलु उपचारलाई प्रोत्सहान, नगरिकको स्वास्थय सेवालाई सर्वसुलभ बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, अल्जाइमर, क्यान्सर, पार्किन्सन, सिकलसेल एनिमिया, मुटु, मिर्गौला, रिकेट्स, अटिज्मजस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचारमा सहयोग गर्न उपचार सहायता कोष स्थापना गरिने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.