|

पर्वत : बाबु गोवर्द्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे। उनी नेपाली कांग्रेसमा लागेर त्यतिखेर केन्द्रीय सदस्यसम्म भए।

उनै गोवर्द्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल।

तनहुँमा जन्मेपनि उनको राजनीतिक थलो नवलपरासी रह्यो। त्यसो त विद्यार्थी राजनीति भने उनको तनहुँबाटै शुरू भएको हो। उनीसँग निकट रहेकाहरू भन्छन्‌ - प्रजातान्त्रिक समाजवादलाई शिरमा राखेर जनपक्षीय राजनीतिमा क्रियाशील उनी निष्ठा र त्यागका पर्याय हुन्‌।

संघीयता कार्यान्वयनपछिको पहिलो चुनाव (२०७४) मा उनी प्रदेश सभा सदस्यका लागि पूर्वी नवलपरासी १ (क) बाट होमिए। एमाले माओवादी गठबन्धनका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३८२ मतले पराजित गरी पोखरेल गण्डकी प्रदेश सभा सदस्य बन्न सफल भए।

प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसका १५ सांसद छन्। एमाले-माओवादी गठबन्धनको बहुमत आएसँगै कांग्रेस सङ्ख्याका आधारमा प्रमुख प्रतिपक्षी दल बन्यो। प्रमुख प्रतिपक्षी संसदीय दलको नेतामा चुनिए-कृष्णचन्द्र नेपाली पोखरेल।

प्रदेश सभाका कामकारबाही चुस्त बनाउन र प्रदेश सरकारलाई जिम्मेवार बनाउन प्रतिपक्षी दलका नेताका हैसियतमा उनी हरसमय क्रियाशील रहे। बजेट बाँडफाँटमा सरकारको मनोमानी होस्‌ या निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा समानुपातिक सांसदलाई गरिएको विभेदका विषयमा होस्‌ : उनले संसद्‌मा सशक्त आवाज उठाए र सरकारलाई सच्चिन बाध्य बनाए।

कोभिडको महामारी नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै बारम्बार गराइएको ध्यानाकर्षण सरकारले वास्ता गरेन। १ घर १ पीसीआरदेखि प्रत्येक जिल्लामा पीसीआर मेसिन राख्न गरिएको माग सुनुवाइ नभएपछि उनकै नेतृत्वमा प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरियो। प्राविधिक रूपमा संकल्प प्रस्ताव फेल भएपनि त्यतिखेर कांग्रेसको एजेन्डा सही सावित भयो। जुन विषय संसद्को विशेष अधिवेशनले पुष्टि गरिदियो।

बाबु गोवर्द्धनको राजनीतिक पृष्ठभूमिको प्रभाव आमा द्रौपदा शर्मामा पनि परेकै थियो। आमाबाट कृष्णचन्द्रले मातृ-वात्सल्य मात्र पाएनन्, राजनीतिक संस्कार समेत सिके। २००६ साल मङ्सिर १३ गते जन्मेका उनी परिवारमा माइला छोरा हुन्। जेठा दाजु रामचन्द्र पोखरेल संविधानसभा सदस्य हुन्।

जिल्ला विकास समिति तनहुँ पूर्व सभापति भइसकेका उनले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा लामै समय सचिवको जिम्मेवारी पनि पाए। साइँला भाइ डा. जगदीशचन्द्र पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन्। कान्छा भाइ डा। सुवासचन्द्र अमेरिका बस्छन्।

प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण पिता गोवर्द्धन निर्वासनमा बसेका थिए। त्यति नै बेला अर्थात् २०२२ देखि २०२८ सालसम्म उनले पनि पिताकै साथमा भारतमा निर्वासित जीवन बिताए। राजनीतिमा मात्र होइनऽ उनी लामो समय शिक्षण पेसामा समेत क्रियाशील रहे।

काभ्रे र तनहुँका स्कुलमा उनले लामै समय पढाए। २०३६ सालको जनमतसंग्रहमा बहुदलको प्रचारमा सक्रिय थिए। जनमत संंग्रहमा कांग्रेसको पक्षमा लागेर हिँडेकै आरोपमा उनलाई तत्कालीन सरकारले जुम्ला सरुवा गरिदियो। त्यसपछि उनले शिक्षण पेसा छाडेर पूर्णकालीन राजनीतिमा संलग्न रहे।

विद्यार्थी कालदेखि नै कृष्णचन्द्रमा राजनीतिक चेत थियो। २०२८ सालमा नेपाली कांग्रेस तनहुँको जिल्ला सदस्य बने उनी। प्रजातान्त्रिक आन्दोलनकै क्रममा उनी ६ पटक जेल परेका छन्। २०३५ सालको विद्यार्थी आन्दोलनमा उनी कास्की कारागारमा दुई पटक गरेर ५ महिना बिताएका छन्। २०३७ सालको जनमतसंग्रहका क्रममा फेरि ८ महिना कास्की कारागारमै बसे।

२०३८ सालमा निर्वाचनकै क्रममा प्रहरीबाट यातना खेपेका उनले अर्को २ महिना जेलमा बसे। देशमा बहुदलीय व्यवस्था माग्दै २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह घोषणा गर्‍यो। नवलपुरबाट सत्याग्रहमा सक्रिय भएका पोखरेल परासी–कपिलवस्तुमा गरेर १ वर्ष जेलमा बिताए। २०४६ सालको जनआन्दोलनमा परासी कमान्डर रहेका पोखरेल नजरबन्दमा पनि राखिए। त्यसपछि ९ महिना पाल्पा जेल बसे।

भारतको दरभंगाबाट मानविकीमा स्नातक गरेका उनले पछि नेपालकै  त्रिभुवन विश्वविद्यालयबाट कानूनमा पनि स्नातक उत्तीर्ण गरे। प्रारम्भिक शिक्षा तनहुँको धरमपानीको स्थानीय विद्यालयमै लिए। त्यसपछि उनी माध्यमिक शिक्षाका लागि भारत पुगेका हुने।

माध्यमिक शिक्षा विहारको नरकटियागञ्‍जबाट पूरा गरेका कृष्णचन्द्र दरभंगाबाट मानविकीमा स्नातक गरेर नेपाल फर्किए। उनको पढ्ने रहर त्यतिमै सीमित रहने कानूनमा पनि दक्खल राख्नुपर्छ भनेर उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरे।

लामो समय कानून व्यवसायमा आबद्ध उनी जन पक्षीय कानूनी सेवामा संलग्न रहे। प्रजातन्त्रको पक्षमा लागेकै कारण हिरासत र जेलमा परेका राजबन्दीको रिहाइका लागि उनले वकालत समेत गरेका थिए।

२०४८ को अधिवेशनपछि उनी निरन्तर ४ कार्यकाल कांग्रेस नवलपरासीको सभापति भए। २०४८ सालको आमनिर्वाचनमा उनी नवलपरासी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए। २०६२/६३ सालको जनआन्दोलनमा उनले नवलपुरको कमाण्ड सम्हाले। त्यो बेला पनि पनि उनी जेल परे।

कांग्रेसको १२औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभा चुनावमा कृष्णचन्द्र ३२५ मतले पराजित भए। उनले त्यति बेला नवलपरासी क्षेत्र नम्बर ३ बाट चुनावी मैदानमा उत्रेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.