आज जुन, १५ अर्थात्, १६ औं ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको विश्व चेतना दिवस हो। यस वर्ष ’ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस’को नारा संयुक्त राष्ट्र संघले ‘एक्सेस टू जस्टिस’ अर्थात् ‘ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच’ नारा तय गरेको छ।
हरेक वर्ष झैं यो वर्ष पनि संयुक्त राष्ट्र्संघको आह्वानमा आजको दिन विश्वभरि नै यो दिवस मनाइँदैछ। आजको दिन ज्येष्ठ नागरिक माथि हुने दुर्व्यवहार विरुद्ध विश्वभरि नै आवाज उठाउँदै चेतना फैलाउने काम गरिन्छ। कसैलाई पनि दुर्व्यवहार नगर्नु होला र अर्काले वित्थामा गरेको दुर्व्यवहार नसहनु होला। हरेक दुर्व्यवहार विरुद्ध मुकाविला गर्न, प्रतिवाद गर्न समस्त ज्येष्ठ नागरिकलाई सार्वजनिक आह्वान गर्दछु।
दुर्व्यवहार के हो?
विश्वका अन्य मुलुकमा जस्तै हाम्रो घर–परिवार, छर–छिमेक र समाजमा पनि ज्येष्ठ नागरिक माथि दुर्व्यवहार हुने गरेको छ। आपसी विश्वास र निर्भरताको सीमा भित्र रहेर गरिने कुनै पनि कामको सिलसिलामा वा ज्येष्ठ नागरिकले प्राप्त गर्नु पर्ने सम्मानित व्यवहारका अभाव हुने गर्छ। यस्ता कारणले विभिन्न माध्यमबाट ज्येष्ठ नागरिकहरूलाई शारीरिक, आर्थिक र मनोवैज्ञानिक रूपमा क्षति पुर्याउँछ।
यो अवस्थालाई नै ज्येष्ठ नागरिक माथि हुने दुर्व्यवहार भनिन्छ। सामान्यतया ज्येष्ठ नागरिकहरू माथि शारीरिक, मानसिक, आर्थिक, स्वास्थ्य सम्बन्धी, सामाजिक र यौन शोषण जस्ता दुर्व्यवहारहरू हुने गर्दछन्।
दिवसको थालनी
ईन्टरनेशनल नेटवर्क फर प्रिभेन्सन अफ एल्डर एव्यूज नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २००६ देखि प्रत्येक वर्षको जून १५ तारिखलाई ‘ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस’को रूपमा मनाउने कार्य आरम्भ गरेको हो। त्यसपछि यस संस्थाले ज्येष्ठ नागरिकप्रति हुने दुर्व्यवहारको विषयमा खोज र अनुसन्धान गर्ने कार्यको शुरु गर्न थाल्यो।
यस संस्थाले दुर्व्यवहार विरुद्ध प्रचार प्रसार गर्ने क्रममा संयुक्त राष्ट्रसंघलाई समेत घच्घच्याउन पुग्यो। परिणामस्वरुप, संयुक्त राष्ट्रसंघले पनि सन् २०११ को निर्णयअनुसार २०१२ देखि यो दिवसलाई औपचारिक रूपमा मनाउन थालेको हो।
यसपछि, संयुक्त राष्ट्रसंघका सबै सदस्य राष्ट्रहरूले यो दिवस जून १५ का दिन विश्वभर मनाउने प्रचलन रहि आएको छ।
नेपालमा पहल
नेपालमा, राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले सन् २००७ देखि यो दिवस मनाउन थालेको हो। ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुर्व्यवहारलाई न्यूनिकरण गर्ने प्रयासस्वरूप महासंघले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउदै आएको छ।
सन् २०१२ देखि संयुक्त राष्ट्र् संघको आव्हानमा नेपाल सरकारले पनि यो दिवस मनउदै आएको छ। विशेषगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्र्यि ज्येष्ठ नागरिक महासंघले संयुक्त रुपमा यो दिवस मनाउने गरेका छन्।
२०६८ सालको जनगणना अनुसार नेपालमा कूल जनसंख्याको ८.१३ प्रतिशत अंश ज्येष्ठ नागरिकको छ। हाल करिब ३ करोड जनसंख्या पुग्दा जेष्ठ नागरिकको जनसंख्या पनि ३० लाख पुगेको अनुमान गरिन्छ। ज्येष्ठ नागरिक मध्ये अधिकांशले आफ्नो दैनिक दिनचर्या व्यथित गर्ने क्रममा कुनै न कुनै ढंगले उनीहरु दुर्व्यवहारको शिकार भईरहेको अनुमान गरि दुर्व्यवहार न्यूनीकरण गर्न जून १५ को दिवस सार्थक हुने विश्वास गरिएको छ।
यस वर्षको नारा र हाम्रो कानुन
यस वर्ष ‘ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्ध विश्व चेतना दिवस’को नारा संयुक्त राष्ट्रसंघले ‘एक्सेस टू जस्टिस’ अर्थात् ‘ज्येष्ठ नागरिकलाई न्यायमा पहुँच’ नारा तय गरेको छ। नेपालको सन्दर्भमा संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको मौलिक हकको व्यवस्था गरिएको छ।
ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा ४६ को संवैधानिक उपचारको हकअन्तर्गत कुनै पनि नागरिक अदालतको असाधारण अधिकार क्षेत्रभित्र प्रवेश गर्न पाउने अबस्था विद्यमान छ।
यसैगरी, ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा आम ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नु पर्ने कानुनी व्यबस्था छ। यसका लागि राज्य प्रणालीले नागरिकलाई परिचयपत्र दिनुपर्ने र मर्का पर्ने ज्येष्ठ नागरिकले उजुरी गर्न पाउने कानूनी व्यवस्थासमेत छ। यसर्थ, दुर्व्यवहारमा पर्ने ज्येष्ठ नागरिकले कानूनी कारवाहीको मार्ग समाउनुपर्ने र यसमा सबैले सघाउनु समयको माग हो।
दुर्व्यवहारको जड
मूलतः ज्येष्ठ नागरिकहरूले विभिन्न सेवाप्रदायक निकायहरूबाट सेवा लिने क्रममा धेरै दुर्व्यवहार भोग्नु परेको छ।
ज्येष्ठ नागरिकले दुर्व्यवहार भोग्ने मूल जड पारिवारिक सम्पत्ति नै हो। यसै निहुँमा मुलुकभरका अधिकांश ज्येष्ठ नागरिकहरू आफ्नै घर परिवारका सदस्यहरूबाट दुर्व्यवहार भइरहेका छन्। यसर्थ, समाजमा यस किसिमका घटनाहरू हुन नदिन र ज्येष्ठ नागरिकमाथि हुने पारिवारिक दुर्व्यवहार र शोषण विरुद्ध सशक्त रूपले आवाज उठाउनु हामी सबैको कर्तव्य हो।
हामीले कानुन संशोधन गरेर ज्येष्ठ नागरिक बाँचुन्जेल उनीहरूको सम्पत्तिमा अंश नलाग्ने प्रबन्ध तत्कालै गर्नुपर्छ।
केही घर परिवार र समाजले त विशेषगरी, पुरुष ज्येष्ठ नागरिकलाई यौनसम्बन्धी झुट्टा आरोप लगाउने गरेको पाइन्छ। महिला ज्येष्ठ नागरिकलाई कथित बोक्सीको आक्षेप लगाएर घर र गाउँबाट निकाल्ने गरेको समेत पाइन्छ। यस्तो घटना हुन नदिन शान्ति सुरक्षामा खटिएका निकाय र पालिकाहरु विशेष सजग हुनुपर्छ।
यस अतिरिक्त, घर परिवारमा ज्येष्ठ नागरिक बोझ मान्न थालिएको छ। कतिपय परिवारमा ज्येष्ठ नागरिकका बोली बचनलाई आधार मानेर गाईबस्तु बुढो भए भीर खोज्छ, मान्छे बुढाबुढी भए निउँ खोज्छ भन्ने उखान हाम्रो घरमा चरितार्थ भएको छ भन्दै ज्येष्ठ नागरिकलाई हेला गर्ने, उडाउने र दुर्व्यवहार गर्ने गरिन्छ।
कोभिडको उपचारमा पीडा
कोभिड–१९ को असरले सामान्य परिस्थिति भन्दा फरक र जटिल अवस्था सृजना गराएको छ। यो समयमा, ज्येष्ठ नागरिकहरू माथि अझ बढी दुर्व्यवहारका घटनाहरू भइरहेको गुनासो छ।
संक्रमित ज्येष्ठ नागरिकहरू उपचारको क्रममा अस्पताल जाँदा, उनीहरूको भर्ना एवं उपचार सिलसिलामा कुरुवा नहुने लगायतका समस्या रहेका छन्। होम आइसोलेसनमा रहेका संक्रमित ज्येष्ठ नागरिकको उपचार र हेरचाहमा रहेका पनि परिवारका सदस्यहरूले खास वास्ता नगरेको पाइएको छ।
यसैगरी, आवश्यक औषधि, अक्सिजनलगायत अन्य आवश्यक सामग्रीहरू खरिद गर्न जाने क्रममा पनि दुर्व्यवहारजन्य क्रियाकलाप भइरहेको छ भन्ने सूचनाहरू प्राप्त भएका छन। यसर्थ, यी सबै क्षेत्रहरूमा सहज रूपले सेवा उपलब्ध गराउने व्यवस्था मिलाउन सम्बद्ध निकायहरू चनाखो हुनुपर्छ।
विश्वव्यापी रूपमै कोभिड संक्रमितहरुले अस्पतालमा शैय्या नपाउने र अक्सिजनको आपूर्तिको कमी भइरहेको छ। यसैगरी आवश्यक औषधिको र चिकित्सकहरुको पनि अभाव खट्किएको छ। त्यसमा पनि आइसियुमा शैय्या नपाइने र भेन्टिलेटर खाली नहुने समस्या टड्कारो भएको छ।
यस समयमा अन्य उमेर समूहका मानिसले प्राथमिकतामा भेन्टिलेटर र आइसियु बेड पाउदा ज्येष्ठ नागरिकले अकालमा ज्यान गुमाएको भनी विश्वव्यापी आलोचना भएको छ। यदि यो कुरा सत्य हो भने यो भन्दा ज्येष्ठ नागरिकप्रति अर्को ठूलो दुर्व्यवहार के होला? यी कुरामा हामी सबैले समयमै मनन गर्न जरुरी छ।
वृद्धाश्रममा समस्या
राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले गरेको अध्ययनअनुसार हाल नेपालभरी ११५ वटा वृद्धाश्रम सञ्चालनमा रहेका छन्। यीमध्ये अधिकांश बृद्धाश्रमहरु मुठी दान एवं विभिन्न दान दातव्य सहयोगबाट सञ्चालित भइरहेका छन्।
कैयौं वृद्धाश्रम मन्दिरको अगलवगलमा छन् र ती भक्तजनहरूको सहयोगमा सञ्चालित छ। हाल मुलुकव्यापी रुपमा निषेधाज्ञाका कारण मुठी दान गर्ने वा भक्तहरुले सहयोग गर्ने लगायतको प्रक्रिया अवरुद्ध हुँदा केही वृद्धाश्रममा ज्येष्ठ नागरिकलाई बिहान बेलुकी खुवाउन पनि मुस्किल परेको कुरा सुनिन आएको छ।
यसर्थ, वृद्धाश्रममा आश्रय लिई बसेका ज्येष्ठ नागरिकहरू भोक–भोकै हुने अबस्था आउन नदिन विशेषगरी सम्बन्धित पालिकाले चांसो दिनु पर्छ। साथै, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र संघीय सरकारको महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सबै वृद्धाश्रममा वार्षिक बजेटको व्यवस्था गरी ती ज्येष्ठ नागरिकले कसैको पनि दुर्व्यवहार सहनु, भोग्नु नपर्ने स्थिति श्रृजना गर्न ढिला गर्नु हुँदैन।
किन कारबाही हुँदैन?
विश्वमा ज्येष्ठ नागरिकहरूको संख्यामा आएको उच्च वृद्धि दरसँगै उनीहरू माथि विभिन्न प्रकारका दुर्व्यवहारहरूमा पनि द्रुतगतिमा वृद्धि भइरहेको छ। तर, दुर्व्यवहार गर्नेहरु कारबाहीको दायरामा आउन सकिरहेका छैनन।
कारण खोतल्दा, घर परिवारबाट हुने दुर्व्यवहारमा पीडित पक्षले आफ्नो र आफ्नै परिवारको समाजमा बेइज्जत हुने डरका कारणले त्यस्तो घटना बाहिर ल्याउन मान्दैनन्। छिमेकीले ज्येष्ठ नागरिक उपर दुर्व्यवहार भएको देखे पनि अर्काको घरायसी समस्या भनेर पन्छिने गर्दछन्।
साथै, विभिन्न सार्वजनिक सेवाप्रदायक निकायबाट हुने अधिकांश दुर्व्यवहारलाई पनि आफ्नै इज्जत र प्रतिष्ठाका कारणले ज्येष्ठ नागरिकहरु चुप लागेर सहने गर्दछन्।
सार्वजनिक यातायातमा दुर्व्यवहार भए पनि भविष्यका दिनमा पनि सोहि रुटको सार्वजनिक यातायातको प्रयोग गर्नु पर्ने कारणले ज्येष्ठ नागरिकहरु उजूरी गर्न हिचकिचाउँछन्।
ज्येष्ठ नागरिकका लागि थुप्रै संघसंस्था खुले पनि तिनले उनीहरु माथि भैरहेको दुर्व्यवहारको अध्ययन गरेका छैनन्। यसबाट नेपालमा ज्येष्ठ नागरिकमाथि कुन हदसम्मको दुर्व्यवहार भइरहेको छ भनी यकिन गर्न सकिने स्थिति छैन।
नेपाल प्रहरीले विशेष सेल गठन गरी ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार निर्मूल गर्नुपर्छ। यसका लागि हेल्पडेक्स, हेल्पलाइन, उजुरी गर्ने मोबाइल एप निर्माण वा ज्येष्ठ नागरिकले उपयोग गर्न मिल्ने एलार्म लगायतको प्रबन्ध गरी ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार नहुने सुनिश्चितता कायम गर्न आजको दिन सार्थक बनोस्।
बाँस्कोटा थाहाखबरका नियमित लेखक हुन् ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।