चार दिन बित्यो सुनुवाइ भएन सिडियोको पत्र

|

धनगढी : भारतले निर्माण गरिरहेको दार्चुला–लिपुलेक सडक खण्डका कारण नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको छ। भारतीय पक्षका कारण ५ दिनदेखि नेपाली भूमिमा रहेको बाटो अवरुद्ध भएको हो।

सडकखण्ड निर्माणका क्रममा भारतले विस्फोटक पदार्थ विस्फोट गर्दा नेपाली भूभागमा क्षति भएको छ। नेपाली भू–भागको बाटोसमेत भत्किएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढस्थित धारचुलाका जिल्ला अधिकारी आनन्द स्वरूपलाई नेपालको भू–भागमा भइरहेको क्षति रोक्न र अवरुद्ध बाटो सञ्चालन गर्न आग्रहसहित पत्र पठाएको जानकारी दिए।

‘भारतीय गतिविधिका कारण नदीको बहाव नेपालतर्फ धकेलिनुका साथै बाटोमै नदी पसेकाले बाटो अवरुद्ध भएको छ,’ प्रमुख जिल्ला अधिकारी जोशीले थाहाखबरसँग भने, ‘बन्द भएको बाटो खुलाउन र यस्ता गतिविधि रोक्न पत्रमा आग्रह गरेका छौँ।’

नदीमा खसेको चट्टानलाई पन्छाउन र बहावलाई प्राकृतिक धारमा फर्काउन पनि आग्रह गरेको उनले बताए। उनले त्यसको जानकारी गृह मन्त्रालयलाई गराइएको र कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरिएको प्रजिअ (सिडियो) जोशीले जानकारी दिए।

स्थानीय प्रशासनका अनुसार दार्चुलाको व्यास गाउँपालिका–२ को कल्जु क्षेत्रमा भारतले सडक निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकु क्षेत्रमा बाटो अवरुद्ध भएको थियो। प्रहरी चौकी दुम्लीङबाट करिब दुई मिटर उत्तरी क्षेत्रमा पर्ने तम्बाकु क्षेत्र नजिकै नेपालतिरको बाटो पूरै अवरुद्ध भएको छ।

नेपालको बाटो भत्कियो, आवतजावत बन्द  

भारतको सडक निर्माणका क्रममा आएको पहिरो नेपालतिर पुगेको हो। स्थानीय र प्रदेश सरकारको लगानीमा निर्माण गरिएको घोडेटो बाटो पूर्णरूपमा भत्किएको छ। घोरेटो बाटो भत्किँदा नेपालतिरको आवतजावत पूर्णरूपमा बन्द भएको स्थानीयले बताएका छन्। भारतले धार्चुला लिपुलेक मानसरोवर सडक दुई लेनको बनाउनका लागि हाल गर्वाधार क्षेत्रमा चट्टान काटिरहेको छ।

पत्रको सुनुवाइ भएन

भारतीय पक्षबाट भइरहेको सडक विस्तारले नेपाली भूमिमा रहेको सडक अवरुद्ध पारेको बारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीले भारतीय समकक्षीलाई पत्र लेखे पनि पत्र काटेको चार दिनसम्म पनि भारतीय पक्षले कुनै प्रतिक्रिया दिएको छैन।

जिल्ला अधिकारी पिथौरागढमा पठाइएको पत्रमा सडक विस्तार गर्दा नेपाली भूमिमा रहेका बाटो अवरुद्ध भएको हुँदा बाटो खोल्न आग्रह गरिएको छ। तर, उताबाट पत्रको प्रतिउत्तर पनि आएको छैन।

‘बुधबार हामीले हामीले भारतीय पक्षलाई पत्र लेखेर पहिरो हटाउन आग्रह गरेका थियौँ प्रजिअ जोशीले भने, ‘अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। सडक अवरुद्ध नै छ।’ यस विषयमा गृह मन्त्रालयलाई पनि जानकारी गराएको तर उताबाट पनि कुनै प्रतिक्रिया नआएको उनले बताए।

विगत लामो समयदेखि प्रयोगमा आइरहेको सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरीले त्यसको वैकल्पिक बाटो खोलेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.