'जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्'

|

गोरखा : गण्डकी प्रदेशमा एमालेको सरकार ढलेर कांग्रेस सत्तामा आएको छ। बहुमत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार बचाउन सकेनन्। कांग्रेसले विपक्षीसहित बहुमत जुटाएपछि गण्डकीमा कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन भएको छ। 

यसैबीच निवर्तमान मुख्यमन्त्री पोखरेलले सत्तामा रहँदा र आफूले गरेको कामकारबाहीसहित आज बक्तव्य जारी गरेका छन्।  

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको बिदाइ वक्तव्य।

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि सम्पन्न निर्वाचनमा गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दलका रूपमा नेकपा एमाले स्थापित भयो।

संवैधानिक व्यवस्था अनुसार गण्डकी प्रदेशका जनताको फैसलाबमोजिम नै नेकपा एमाले संसदीय दलको नेताको रूपमा गण्डकी प्रदेशसभामा सबभन्दा ठूलो राजनीतिक दलको नेताको हैसियतमा २०७४ फागुन ४ मा र २०७८ वैशाख २९ मा गरी दुई पटक सरकार गठन गरी कामकाज गर्ने अवसर प्राप्त भयो।

यो ऐतिहासिक समय र अवसरका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्नुहुने प्रदेशसभाका नेकपा एमालेलगायत अन्य राजनीतिक दलका माननीय सदस्यलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

गण्डकी प्रदेशका जनताका भावना, आकांक्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई देशभरका प्रदेशहरूमा अब्बल प्रदेश, उत्कृष्ट प्रदेश सरकार र प्रभावकारी  प्रदेशसभा बनाउन  सफलता प्राप्त भयो। सीमित साधन स्रोत र बजेटका आधारमा हामीले प्राप्त गरेका उपलब्धिहरू लोभ लाग्दा छन्।

संघीयताका कोशेढुंगा बनेका छन्। प्रदेश सरकार गठन गरी हामीले कार्य प्रारम्भ गर्दा शून्य अवस्थाबाट प्रारम्भ गरेका थियौँ। अहिले  प्रदेश गौरवका आयोजना अन्तर्गत कोरला त्रिवेणी सडक, शालिग्राम कोरिडोर, प्रदेश प्रशासनिक भवन, प्रदेशसभा भवन, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन निर्माणका कार्य प्रारम्भ गरिएको छ।

त्यस्तै एक निर्वाचन क्षेत्र एक सडक र स्थानीय तहको केन्द्र जोड्ने सडक, उज्यालो गण्डकी प्रदेश, एक घर एक धारा खानेपानी योजना, प्रदेश शिक्षण अस्पताल निर्माण, गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानका पूर्वाधार निर्माण, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गको स्तरोन्नति, प्रादेशिक औद्योगिक क्षेत्रको स्थापना जस्ता समृद्धिका कार्यक्रमहरू सुरुवात भएका छन्। आगामी दिनमा यी कामहरू छिटै पूरा गर्ने विश्वास लिन चाहन्छु।

यतिबेला नेपालको राजनीतिमा मडारिएको आग्रह, कुण्ठाजन्य आक्रोश र बदलाभावले नेकपा एमालेको गण्डकी प्रदेश सरकारलाई विस्थापित गरिएको छ। नेपालको लोकतन्त्रको इतिहासमा किन बारम्बार बहुमत प्राप्त सरकारहरूलाई अपदस्थ गर्ने षड्यन्त्रमा स्वयं दलहरू र तिनको नेतृत्व पंक्ति संलग्न रहन्छ? के हामी यो दुर्दशा सहन अभिशप्त छौं ? नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व केवल विद्रोह गर्नका लागि मात्र  हो कि यो निर्माण र विकासको अगुवा पनि हो भन्ने प्रश्नले बारम्बार मलाई झस्काउँछ। हामीले सबै अवरोध पन्छाएर समाजको विकास र रूपान्तरणको नेतृत्व लिनै पर्दछ।

टुटाउन खोजिएका जनताका सपना पूरा गर्नै पर्दछ। हामी सत्य र तथ्यबीच हाम्रा आन्दोलनका उपलब्धि, हाम्रा कार्यकालका प्रतिफल लेखाजोखामात्र गरिरहेका छैनौँ। हाम्रा सबलता र दुर्बलताका पनि समीक्षा गरिरहेका छौं। जनताका दैन्दिनका सवालहरूका समयोचित र यथोचित जवाफहरू पनि हाम्रा कर्म र कार्यबाट दिइरहेका छौँ।

गौरवपूर्ण इतिहासको गीत गाएर सुन्दर भविष्यमा डढेलो सल्काउने कार्य हामी कोही र कसैबाट पनि हुनुहुन्न भन्ने कुरामा म दृढ संकल्पित छु। हामीले सत्तामा हुँदा र नहुँदा, पद पाउँदा र नपाउँदा बोलिने भाषा र गरिने व्यवहार निरपेक्ष हुनुपर्दछ। जनताप्रति गरिने विश्वासघात कुनै पनि तर्कमा साबित हुन सक्दैन।

जनताको निर्णयलाई चुनौती दिन सकिँदैन। गण्डकी प्रदेशका जनता र तिनका सपना पूरा गर्ने कार्यमा अविचलित रूपमा लागिरहने प्रतिज्ञा पनि गर्दछु। जनता महान छन्। राजनीति गतिशील हुन्छ। यो गतिशीलता समाज र प्रकृतिको द्वन्द्वबाट प्राप्त शुरु हुन्छ। समाज र यसका परिवर्तनका गति मनोगत आग्रहबाट चालित हुन्न यो त विज्ञानको नियम अनुसार नै चल्दछ।

राजनीतिलाई दल र तीनका नेताका कुण्ठा, आग्रह, प्रति आग्रहका कारण पद प्राप्तिको साधन बनाइयो। जसका कारण जनताका दैन्दिनका समस्या समाधान भन्दा सत्ता र शक्तिलाई, आफ्ना र आफ्नो बाहेक पर नसोच्ने मनोरोग राजनीतिमा भित्र्याइयो। राजनीतिलाई सत्ताको खुड्किलो मात्रै बनाउनु हुन्न र सोही अनुसारको व्यवहार गर्नु हुँदैन भन्नेमा म सचेत छु र रहनेछु।

लोकतन्त्र विधिको व्यवस्था हो। पारदर्शिता लोकतन्त्रको आत्मा हो। लोकतन्त्रमा सबै कारोबारहरू सफा रहनु अनिवार्य हुन्छ। तर कोरोना महामारीका बेलामा पनि सत्ता राजनीतिको दाउपेचमा अल्झिनु न्यायसंगत हुँदैनथ्यो। केन्द्रीय राजनीतिको शिकार प्रदेश सरकारहरूमा गरिनु जायज हुन सक्दैन्थ्यो। पक्कै पनि भविष्यले यो प्रवृत्तिलाई दण्डित गर्नेछ। म शक्ति पृथकीकरणमा विश्वास गर्दछु।

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको गतिशीलताले नै लोकतन्त्रको भविष्य निर्धारण गर्दछ। यसको सबलीकरणमा नेतृत्वको इमानदारिता प्रमुख शर्त हो। तर किन हाम्रो देशमा सरकार र पार्टीको नेतृत्व गरेकाहरू राष्ट्रियता र लोकतन्त्रमा दृढता पूर्वक उभिन सक्दैनन् र बारम्बार सत्तामा हुँदा र नहुँदा बोली र व्यवहारले बदली रहन्छन् ? आफैंले निर्वाचनमा जनताका सामु गरेका प्रतिबद्धता विपरीत गठबन्धनमा रमाउँछन् ?

मेरो नेतृत्वको सरकार गठन गर्दा नेकपा माओवादी केन्द्र सहयात्री दल थियो। समयक्रममा एउटै दलमा सामेल भएका पनि हौं तर राजनीतिक घटनाक्रम र सर्वोच्चको फैसलापछि दुवै दल छुट्टाछुट्टै भएको तथ्य साँचो हो। तर के एउटा दल भएपछि दलको नीति र नेतृत्वको रक्षा गर्नु पर्दैन ?

आफ्नै नेतृत्वका बिरुद्धमा सडकदेखि सदनसम्म गरिएका अराजनीतिक गतिविधिलाई लोकतन्त्र भनेर छुट दिन सकिन्छ र रु लोकतन्त्र भनेको अराजकता होइन। यो भीडतन्त्र पनि होइन। एउटा विधिमा, नीतिमा, नेतृत्वमा चल्नुपर्ने पार्टीलाई बटुवा बास बस्ने पाटी बनाउन सकिन्छ ? नेता त नीति, विचार, नेतृत्व र विधिले मात्र बनाउने गर्दछ।

लोकतन्त्रमा सत्तामा रहनु र सत्ता बहिर हुनु सामान्य नै हो। यतिबेला नेकपा एमाले प्रतिपक्षी भएको छ। हामी नयाँ सरकारका राम्रा कामका लागि सहयोग र गलत कामका लागि विरोधको नीति अख्तियार गर्ने छौं। गण्डकी प्रदेशसभामा रचनात्मक प्रतिपक्षीका रूपमा भूमिका निर्वाह गर्ने छौँ।

राजनीतिको लामो यात्रामा सहयात्रीहरू फेरिने कुरा नेकपा एमालेका निमित्त अनौठो होइन। अहिले देखापरेको अराजनीतिक गठजोड बदला भावमा प्रकट भएको हो समय क्रममा पटाक्षेप हुनेछ। जन अभिमतविरुद्ध बञ्चरो प्रहार गर्ने प्रवृत्ति लोकतन्त्र, संघीयता र गणतन्त्रका लागि हानि पुर्‍याउने प्रवृत्ति हो। हामीलाई थाहा छ बञ्चरोले बिर्सन त सक्ला सयौं चोट पाएको रुखलाई जीवनभर आफ्नो चोटको याद हुने नै छ।

सयौँ चोट सहेर पनि जनताका बीचमा रहनेछौँ। जनताका बैरीलाई जनताले चिनेका छन् र उनैले दण्डित गर्नेछन्। लोकतन्त्रमा सबै खराबीहरूको उपचार जनताबाट हुनेछ।  नेतृत्व र पार्टीको पहिचान पनि सङकटमा नै हुनेछ। चुनौतिका पहाड र अवसरका मैदानलाई राम्रैसँग नेकपा एमालेले चिनेको छ भन्ने विश्वाश पनि व्यक्त गर्दछु।

हामीलाई गण्डकी प्रदेशमा सरकार सञ्चालनका क्रममा सहयोग पुराउने सत्ता साझेदार र प्रतिपक्षी सबै राजनीतिक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, पत्रकार, नागरिक समाज, समर्थक शुभचिन्तक सबैलाई सहयोगका निम्ति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.