|

जनकपुरधाम : प्रदेश २ सरकारको आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। बिहीबार प्रदेश प्रमुख राजेश झा अहिराजले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

सभामुख सरोजकुमार यादवले नीति तथा कार्यक्रम पारितको प्रस्तावका विपक्षमा कोही नबोलेपछि प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको घोषण गरे।

नीति कार्यक्रम पारित हुनुअघि मुख्यमन्त्री लालबाबु राउतले नीति कार्यक्रमलाई आधारमा बजेट ल्याउने बताए।

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणको अभियानमा पछि नपर्ने बताए। भने, ‘कोरोना महामारीको तेश्रो र चौथो लहरको कुरा पनि आएको हुँदा सुरु देखि नै सरकार तयारीमा लाग्ने छ। साथै जसरी बालबालिकालाई असर हुने भन्ने कुरा आएको छ, त्यसको लागि प्रभावित हुने बालबालिकाका लागि छुट्टै अस्पताल तयार गर्नेछौं।’

उनले जनकपुरको मणिपालस्थित कोभिड अस्पतालमै बालबालिकाहरुका लागि छुट्टै व्यवस्था गर्ने विषयमा अध्ययन भइरहेको जनाए।

प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०/१० गरी ६ सय ४० परिवारलाई महेन्द्र नारायण निधि आवास योजनाअन्तर्गत घर बनाउने योजना बजेटमा समावेश गराउने राउतले बताए।

नीति तथा कार्यक्रममाथिको छलफल क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले सांसदहरुबाट आएका महत्वपूर्ण सुझाव बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए।

प्रदेश सरकारले दलित विकास समिति गठन, दलित ऐन ल्याएको र दलित छुवाछूत अभियान लाएर छुवाछूत समस्या अन्त गर्न प्रतिबद्ध रहेको बताए। मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रममा सबैले अपनत्व महसुस गरेकोमा सांसदहरुलाई धन्यवाद ज्ञापन गरे।

प्रदेश सभामा शनिबार र आइतबार नीति तथा कार्यक्रमको छलफलमा प्रदेश सांसदहरूले नीति तथा कार्यक्रम उत्कृष्ट भए पनि त्यसअनुसार बजेट आउने र कार्यन्वयनमा आशंका व्यक्त गरेका थिए। 

 


तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.