|

कञ्चनपुर : तीन दिनअघि भीमदत्त नगरपालिका–७ खन्ने खोलामा निर्माण गरिएको झण्डै २०० मिटर तटबन्धसगै बाँध बाढीले बगाएपछि चुरे फेदीका बस्ती जोखिममा परेका छन्। एक घण्टाको पानी पर्दा नै खन्ने खोलामा आएको बाढीले तटबन्धसँगै बाँध भत्काएको हो। 

चुरे क्षेत्रको बस्ती जोगाउन विगतमा तीन किलोमिटर तटबन्धसँगै बाँध निर्माण गरिएको थियो। तर, बाढीले बाँध भत्काएपछि खोला पुरानै रुपमा फर्किने चिन्ता रहेको धर्मा भण्डारीले बताउँछिन्।

विगतमा समेत खोलमा तटबन्ध र बाँध निर्माण नगरिँदा उब्जाउ खेत बालुवाले पुरिँदै जान थालेपछि त्यस क्षेत्रका बासिन्दा बस्ती छाडेर पलायन हुन थालेका थिए। अहिले पनि ढुंगा, बालुवा र ग्रेगरले भरिएर खोला तटबन्धभन्दा अग्लो भएपछि खोला सहजै बस्ती छिर्ने अवस्था रहेको छ।

घरपालुवा जनावरको चरन क्षेत्रका प्रयोग हुनु, काठपातको तस्करी बढनु, नदीजन्य पदार्थको उत्खनन् जथाभावी रुपमा हुन थालेपछि केही वर्ष यता चुरे क्षेत्रमा बाढीको प्रकोप बढ्न थालेको छ।

सुदूरपश्चिम विश्वविद्यालयका प्रध्यापक भुपेन्द्र विष्ट भन्छन, ‘चुरे पहाड संवेदनशील क्षेत्र भएकाले त्यहाँको भौगोलिक अवस्थाको अध्ययन अवलोकन नगरी प्राकृतिक वस्तुहरुको उत्खनन् र संकलन गर्ने कार्य रोक्नु पर्छ। वैज्ञानिक विधिबाट मात्रै नदीजन्य पदार्थको निकासी गर्नु पर्छ।’ खोलाको मुहान थुन्ने हिशाबले बन्ने भौतिक संरचना निर्माणले समेत विपद्को समस्या निम्त्याउँदै आएको उनको भनाइ रहेको छ। 

खन्ने खोलाको दीर्घकालीन व्यवस्थापन नगरे हल्दुखाल, तिलकपुरदेखि महेन्द्रगरसम्म बस्तीमा बाढीले प्रभाव पार्ने भीमदत्त नगरपालिका ७ का वडा अध्यक्ष शंकरबहादुर कुँवर बताउँछन्। खोला नियन्त्रणका लागि पहल गर्नु आवश्यक रहेको बताउँदै उनले त्यस कामका लागि वडाको बजेटले नधान्ने प्रष्टीकरण दिए। नगरपालिका, प्रदेश र संघीय सरकारको ध्यान यसतर्फ जानु आवश्यक रहेको उनले बताए। 

‘तत्कालका लागि रोकथामको प्रयास भैरहेको छ’ उनले भने, ‘स्थायी तटबन्ध निर्माणका लागि महाकाली सिचाई तेश्रो चरणका कार्यालय प्रमुखले खोलाको अनुगमन पश्चात रु ५० लाखको बजेट छुटयाई यसै महिनाबाटै ठेक्का प्रकृयाबाट काम अगाडी बढाउने अश्वासन पाएका छौं ।’ 

खन्ने खोला नियन्त्रण नगरिए महाकाली तेस्रो चरणको नहरका संरचनामा समेत प्रभाव पार्ने जानकारहरु बताउँछन्। महाकाली सिंचाई तेस्रो चरणका कार्यालय प्रमुख रणबहादुर बमले चुरे पहाडका खोला नदीमा आउने बाढीका कारण नहर संरचना समेत जोखिममा परेको बताए। तत्कालै तटबन्ध निर्माणका लागि कार्य अगाडि बढाइने उनले बताए। 

चुरे क्षेत्र भएर बग्ने नदी तथा खोलाहरु तराईको जलाधारको प्रमुख आधारका रुपमा रहेका छन्। विगत केही वर्षदेखि चुरे क्षेत्रमा बढ्दो मानवीय चापले नदीको बाढीले मानवीयसँगै धनको क्षति गर्दै आएको छ। चुरे भएर बग्ने खन्याखोला, कामीकाँटे खोला, रौटेला खोला, मुसेपानी खोला, सुनवरा नदी, झरना खोला, दोदा नदी, स्याली नदी, पथरैया नदी र बल्मा लगायतका नदीले बर्सेनि तराईमा भूक्षय, डुबानमा पार्दै आएको छ। चुरे नजिकका बस्तीमा बालुवा ढुंगाले जग्गा पुरेर बगरमा परिणत गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.