|

सोलुखुम्बु : सिद्धिचरण राजमार्गको साल्मे–सिस्नेरी खण्डमा खस्ने गरेको पहिरो नियन्त्रण गर्न दिगो व्यवस्थापन उपाय अपनाइने भएको छ।

जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एकमात्र सडकमा पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ। सोलुदूधकुण्ड नगरपालिका–११, तिङ्लामा पर्ने पहलमान भिर र सिस्नेरी पहिरोका कारण हिउँद-बर्खा जहिल्यै सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।

सडक निर्माण गरेको करिब १० वर्ष पुरा भएको छ। शुरूवाती देखि नै उक्त क्षेत्रमा पहिरो खस्ने गरेपनि दिगो व्यवस्थापनमा ध्यान नपुगेको स्थानीयले गुनासो गर्दै आएका छन्।

माथिबाट ठूलो पहिरो खस्दा सोही ठाउँमा पटक-पटक सवारी दुर्घटनामा पर्नुका साथै यात्रुसमेत घाइते भएका छन्। सदरमुकाम जोड्ने उक्त सडकको अवस्थामा सुधार नआउँदा यहाँका नागरिकले आक्रोशित छन्‌। विभिन्न सञ्चारमाध्यमले जिल्लाका जनप्रतिनिधि देखि सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने विषयमा केन्द्रित सामग्री प्रकाशन र प्रसारण गर्दै आएका छन्‌।

यस वर्ष जिओ टेक्निकल विधिबाट स्लोप स्टेपलाइजेशन गरिने भएको हो। प्रकृया अघि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगाका प्रमुख अरुणकुमार कर्णले बताए।

उनका अनुसार पहिरोको दिगो व्यवस्थापनका लागि फायल अघि बढिसकेको छ। केही महिनाअघि २ जना प्राविधिक सहितको टोली स्थलगत निरीक्षणमा समेत आएर फर्किएको उनको भनाई छ।

विगत वर्षहरूमा बर्खा लागेसँगै जिल्लामा सञ्चालित हाइड्रोपावर र सोलुदूधकुण्ड नगरपालिकाको स्काभेटर तयारी अवस्थामा राखेर सडक नियमित सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरी इन्चार्ज कृष्ण कटुवालको भनाई छ। यस वर्ष पनि सोलु हाइड्रोपावर र नगरपालिकाको स्काभेटर तयारी अवस्थामा राखिएको उनको भनाई छ।

यस्तै, यो मौसममा सोही क्षेत्रमा एक जना ट्राफिक प्रहरी समेत नियमित ड्यूटीमा खट्ने गरेका छन्। यात्राको क्रममा नागरिकको ज्यान जोखिममा रहने भएकाले पहिरोको दिगो व्यवस्थापनका लागि पहल गरेको सोलुखुम्बुका निवर्तमान संघीय सांसद हेमकुमार राई (शुरवीर) ले बताए।

पहिरोको दिगो व्यवस्थापनका लागि जिल्लाका सांसद राई देखि आफूले समेत पटक-पटक सडक विभागमा आग्रह गरेको सडक डिभिजन प्रमुख कर्णले बताए। कोरोनाका कारण बैशाख पहिलो साताबाट काम शुरू हुनुपर्ने भएपनि केहि समय पछि धकेलिएको उनको भनाई छ।

अहिले डीपीआर निर्माणको प्रकृया अघि बढेकाले पहिरोको व्यवस्थापन हुनेमा ढुक्क रहन उनले आग्रह समेत गरेका छन्‌। अर्को वर्षसम्म पहिरोको दिगो व्यवस्थापन कार्य सकिने भन्दै अब जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने उनले बताएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.